coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपालगन्ज नाकाको आइसिपी निर्माण अन्योल

नेपालगन्ज नाकामा ओझेलमा परेको आइसिपी निर्माण स्थल। तस्बिर: अर्जुन/नागरिक

नेपालगन्ज - भारतले बिराटनगर नाकामा निर्माण गरिदिएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) गत माघ पहिलो साता तामझामका साथ उद्घाटन गरियो। नेपाल र भारतका प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत उक्त आइसिपी उद्घाटन गरेका थिए। बल्लतल्ल निर्माण सम्पन्न भएको आइसिपी पूर्वी नाका सञ्चालनमा आइरहँदा पश्चिम क्षेत्रको प्रमुख मानिने नेपालगन्ज नाकाको आइसिपी निर्माण भने ओझेलमा परेको छ। उक्त नाकामा अझैसम्म पनि निर्माण गर्ने सुरसार छैन। आइसिपी निर्माण कार्य सुरु नहुँदा अन्योल छाएको छ।

भारतको सहयोगमा आइसिपी निर्माण गर्न नेपाल सरकारले जग्गा अधिग्रहण गरेको नौ वर्ष पुगिसकेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं १६ जयसपुरमा ९०.८० विघा अर्थात् ६१.५ हेक्टर जग्गा नेपाल सरकारले अधिग्रहण गरेको थियो। तर, भारतले समयमै निर्माण गर्न प्राथमिकता नदिँदा २०६७ देखि उक्त जग्गा प्रयोगविहीन बनेको छ।  अधिग्रहण गरिएको जग्गामध्ये ६६.४४ बिघा अर्थात् ४५ हेक्टर भन्सार नाका र करिब २४.३६ बिघा अर्थात १६.५ हेक्टर पहुँच मार्गका लागि छुट्याइएको छ।

पूर्वी नाकामा रहेको आइसिपी सञ्चालनमा आइरहँदा नेपालगन्ज नाकाको आइसिपी निर्माण भने ओझेलमा परेको छ। उक्त नाकामा अझैसम्म पनि निर्माण गर्ने सुरसार छैन।

नेपाल सरकारका तर्फबाट आइसिपी निर्माणमा सहजीकरण गर्ने जिम्मा सहरी विकास तथा भवन निर्माण विभागले पाएको छ। सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जका प्रमुख गणेश कर्माचार्यले भारत सरकारको लगानीमा आइसिपी बन्न लागेको र यसको सम्पुर्ण जिम्मा भारतकै भएको बताए। ‘भारत सरकारकै लगानीमा आइसिपी बन्ने हो, हामीले त जग्गा अधिग्रहण गरेर राखेकै छौं,’ उनले भने, ‘आइसिपी निर्माण कार्यमा सुपरभिजन गर्न भारतले परामर्शदाता छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ भन्ने सुनिन्छ, यो वर्ष निर्माण सुरु हुन नसकेपनि अर्को वर्ष होला भन्ने विश्वास गरेका छौं।’ आइसिपी निर्माणका विषयमा केन्द्रीय स्तरमा पटक–पटक बैठक तथा छलफल हुने गरेको प्रमुख कर्माचार्यले सुनाए।

आइसिपी समयमा निर्माण नहुँदा नेपालगन्ज नाका अस्तब्यस्त बन्ने गरेको छ। भन्सार जाँचपास गराउने ट्रक, ट्यांकर तथा कन्टेनर मुख्य सडकमै रोक्नुपरेको छ। मालसामान बोकेर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ दैनिक सयौं ट्रक, ट्यांकर तथा कन्टेनर आवत–जागत गर्छन्। समयमा आइसिपी निर्माण नहुँदा सडकमै भन्सार जाँचपास गर्नुपरेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले सुनाए। ‘आइसिपी निर्माण हुन्थ्यो भने हामीलाई गाडी जाँचपास गर्न एकदमै सहज हुन्थ्यो, अहिलेसम्म मालबाहक गाडी बाटोमै रोक्नुपरेको छ,’ निरौलाले भने।

आइसिपी निर्माण भएपछि व्यापारीले सबै सुविधा एकै ठाउँमा प्राप्त गर्नेछन्। आइसिपी बनेपछि जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन, खाद्य प्रविधि तथा गुण नियन्त्रणलगायत कार्यालय रहनेछन्। आइसिपी बनेपछि व्यापारीलाई राहत र कर्मचारीलाई सहज हुने निरौलाको विश्वास छ। आइसिपी निर्माण स्थलमा विभागले सुरक्षा ब्यारेक भवन निर्माण गरेको छ।

पटक–पटक पुनर्निर्माण गरिए पनि यसअघि सुरक्षाकर्मी नबस्दा भवनका ढोका, झ्याललगायत सामान चोरी हुने गरेको थियो। पुनः मर्मतपछि उक्त भवनमा अहिले सशस्त्र प्रहरी बल नेपालको बिओपी बसेको छ। यहाँका उद्योगी व्यवसायीले पनि नेपालगन्ज भ्रमणमा आउने भारतीय राजदूतलाई आइसिपी निर्माणबारे ध्यानाकर्षण गराउँदै आएका छन्। आइसिपी सञ्चालनमा आउनेबित्तिकै सामान निकासी र पैठारी गर्न सहज हुने उनीहरुको विश्वास छ। नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी समयमा आइसिपी नबन्दा उद्योगी, व्यवसायीले अनेक झन्झट बेहोर्नु परेको बताउँछन्। ‘आइसिपी समयमै बन्नुपर्छ भनेर उद्योग वाणिज्य संघले पहिलेदेखि पहल गर्दै आएको छ,’ उनले भने, ‘नेपालगन्ज नाकामा चाडोभन्दा चाडो आइसिपी बनाउन भारत सरकारले ध्यान दिनुपर्छ।’

प्रकाशित: १५ फाल्गुन २०७६ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App