coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

२२ औं बुढा सुब्बा टुबोर्ग गोल्डकप, मनाङ उपाधिनजिक

धरान - भारतको युनाइटेड कर्साङ एफसीलाई २–० ले हराउँदै तीन पटकको विजेता नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२औं बुढा सुब्बा टुबोर्ग गोल्डकपको फाइनल पुगेको छ। धरान १६ स्थित रंगशालामा बुधबार भएको पहिलो सेमीफाइनलमा विमल राना र दयानन्द सिंहले गोल गर्दै मनाङलाई फाइनल पु¥याए। विमलले खेलको १९औं मिनेटमा मनाङको लागि खाता खोलेका थिए। कप्तान कमल श्रेष्ठको कर्नर प्रहारमा उनले हेडमार्फत गोल गरेका थिए। दोस्रो गोल भने दोस्रो हाफको इन्जुरी समयमा दयानन्दले गरेका थिए। रञ्जन विष्टको पासमा उनले दर्शनीय गोल गर्दै मनाङको जित सुनिश्चित गरे।

मनाङ छैटौं पटक बुढा सुब्बाको फाइनल पुगेको हो। यसअघि बुढा सुब्बामा पाँच पटक फाइनल खेलेको मनाङले तीन पटक उपाधि जितेको थियो भने दुई पटक उपविजेतामा चित्त बुझाएको थियो। मनाङले बुढा सुब्बाको छैटौं, १३औंं र १८औं संस्करणको उपाधि जितेको थियो। यस्तै, १४औं र १७औं संस्करणमा उपविजेतामा सीमित भएको थियो।

खेलमा मनाङले थुप्रै गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन। खेलको २७आैं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा विमल रानाको हेड प्रयास सफल भएन भने पहिलो हाफको इन्जुरी समयमा पनि विमल पेनाल्टी एरियामा गोल गर्न चुके। खेलको ६०औं मिनेटमा दयानन्दको क्रसमा अञ्जन विष्ट गोल गर्न चुक्दा ६४औं मिनेटमा आदित्य चौधरीको प्रहार पनि अकासियो। ८९औं मिनेटमा निशान लिम्बु वान भर्सेस वानमा चुके।

दार्जिलिङको सशक्त टोली युनाइटेड कर्साङले पनि गोल गर्ने अवसर खेर फालेको थियो। खेलको ३०औं मिनेटमा सिद्धान्त क्षत्रीको कर्नरमा कर्साङका कसैले पनि हेड गर्न भ्याएनन् भने ४१औं मिनेटमा आशिष देवानको कडा प्रहारलाई मनाङका सुरज विकले असफल बनाइदिए। इन्जुरी समयमा सुशान्तको प्रहार पनि पोस्टनजिकबाट बाहिरियो। दोस्रो हाफमा निक्कै आक्रामक रूपमा प्रस्तुत भएको कर्साङका गणेश लिम्बुले ५३औं मिनेटमा गरेको कडा प्रहारलाई मनाङका गोलकिपर अशोक बरालले पन्च गरेर बचाए।

खेलको म्यान अफ दी म्याच कर्साङका आशिष देवान घोषित हुँदै उनले नगद १५ हजार हात पारे। यस्तै, बेस्ट गोलको पुरस्कार मनाङका दयानन्द सिंहले ५ हजार हात पारे। मनाङका प्रशिक्षक फुजा टोपेले खेलाडीहरुले एक दिन मात्र आराम पाएकोले खेल निक्कै खतरापूर्ण भएको प्रतिक्रिया दिए। ‘एक दिन मात्र आराम पाएकाले आजको खेल निक्कै चुनौतीपूर्ण थियो। तर पनि धेरै राम्रो खेल्यौं, र जित्यौं,’ उनले भने।

कर्साङका प्रशिक्षक उर्गेन लामाले हार भए पनि खेलाडीहरुले राम्रो खेलेको बताए। ‘राइजिङ खेलाडी लिएर आएको थियौं, नेपालकै सशक्त टिमसँग हा¥यौ तर पनि सन्तुष्ट नै छौं,’उनले भने। युनाइटेड कर्साङले यो सिजनमा कर्साङ कपसँगै २ वटा उपाधि जितेको उनले बताए। प्रतियोगितामा बिहीबार सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र नेपाल पुलिसबीच खेल हुनेछ।

प्रकाशित: १५ फाल्गुन २०७६ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App