coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

एमक्युबमा ‘२० सेड्स अफ न्युड’

काठमाडौं - न्युड शरीरको पछिल्लो भागको कल्पना गर्दै कलाकार कपिलमणि दीक्षितले कालो र सेतो रंगमार्फत ठूलो क्यानभासमा आफ्नो कल्पनालाई उतारेका छन्। बिहीबारदेखि ललितपुरको चाकुपाटस्थित एमक्युब ग्यालरीमा ‘न्युड’ शीर्षकको कलामा उनले भगवान शिवको स्वरूपलाई कलात्मक शैलीमा प्रस्तुत गरिरहँदा दर्शक आश्चर्य मानिरहेका थिए।

करिब दुई दशकदेखि न्युड आर्टमा सक्रिय भएर चित्रहरू कोरिरहेका कलाकार दीक्षित न्युड आर्ट भन्नासाथ महिलाको नग्न शरीरको कल्पना गर्ने प्रवृत्तिलाई तोड्न सो कला तयार गरेको बताउँछन्। ‘मानिसले सबैभन्दा धेरै आफ्नो शरीरलाई माया गर्छन्। सुन्दरताका आधारमा महिला र पुरुषका चित्रहरू कोर्न खासै फरक नभएपनि यसलाई महिला र अश्लीलतासँग जोड्नचाँहि गलत हो,’ उनले भने, ‘कारण नग्नता र अश्लीलता फरक कुरा हुन्। न्युड आर्टमा मानवीय संवेदना, स्वभाव र भावनाले प्राथमिकता राख्दछ।’

अर्का कलाकार सुन्दर लामाले ‘कोकोनट ब्यान्डेज’ शीर्षकको प्रतिस्थापन कलामार्फत नग्नता र अश्लीलतामाथिको फरकपनलाई प्रस्तुत गरिएको छ। उनको न्युड महिलाको विभिन्न कलालाई जोडेर कविता, चित्र र प्रतिस्थापनमार्फत देखाइएको छ। ‘मानिसमा हुने लागले उसलाई समाजबाट टाढिन प्रेरित गरिरहेको छ। न्युड भन्नासाथ लाजको प्रतीकको रूपमा लिइएको परम्परातग मान्यता तोड्ने अपेक्षा गरेका छौं,’ उनले भने।

एमक्युब ग्यालरीमा आयोजना भइरहेको ‘२० सेड्स अफ न्युड’ शीर्षकको प्रदर्शनीमा उनीहरूसहित दुई दर्जन कलाकारहरू कला राखिएका छन्। प्रदर्शनीमा चित्रकला, फोटोग्राफी, मूर्तिकला, प्रतिस्थापन र भिडियोमार्फत न्युड आर्टका विभिन्न आयामहरूलाई प्रस्तुत गरिएको छ। महिलाको नग्न शरीरलाई बिम्बका रूपमा कलाकारहरूले आ–आफ्नो कला तयार गरेका छन्।

पौभा चित्रकलामा सक्रिय मुक्तिसिंह थापाले ‘सुन्दर संसार’ शीर्षकमा न्युड आर्ट तयार गरेका छन्। न्युड आर्टलाई अश्लील भन्ने मान्यता हटाएर यसप्रति सकारात्मक हुन प्रेरित गर्न उनले परम्परागत पौभामार्फत न्युड आर्ट तयार गरेको बताए। कलाकार मनिषलाल श्रेष्ठले विभिन्न पाँच वटा न्युड कलामार्फत दर्शकलाई प्रोत्साहित गरिरहेका छन्। ‘हामी नांगो भएर जन्मिन्छौं। समाजको मान्यता पछ्याउने क्रममा नांगो शरीरलाई कपडाको आवरणले छोप्छौं,’ उनी भन्छन्, ‘नग्नताको आफ्नै सौन्दर्यता हुन्छ। जुन सकारात्मक ढंगबाट नियाल्न सक्नु पर्छ।’

अन्तर्राष्ट्रिय स्तरमा न्युड आर्टमा नेपाल पछि रहेपनि न्युड मूर्तिकलामा भने मठमन्दिर र टुँडालहरूमा अंकित सयौं वर्ष पुरानो कलाले देखाउँछ। पूर्वीय सभ्यतामा महत्व राख्ने न्युड आर्ट, पश्चिमा सभ्यतामा भने परम्पराका रूपमा विकास भएको थियो। न्युड आर्टलाई महिला र पुरुषको सुन्दरता र मानवीय गुणलाई व्यक्त गर्ने कला भनेर परिभाषित गरिन्छ। न्युड आर्टमा महिलाको शरीरलाई सधैं सुन्दरता र ग्ल्यामरका रूपमा लिइन्छ। फोटोग्राफर उमा बिष्टले तीन वटा फरक फोटोग्राफमार्फत नेपाली समाजमा व्याप्त रहेको पितृसत्तामा महिलाका शरीरको पीडालाई पुरुषको शरीरमार्फत प्रस्तुत गरेकी छन्। ‘नेपाली समाजले नारीलाई हेर्ने नजरलाई फोटोग्राफमार्फत प्रस्तुत गरेकी छु।

हाम्रो समाजले महिलालाई विभिन्न बन्धन र मान्यताले बाधेर राखिरहेको छ,’ उनले भनिन्। कलाकार रोशन मिश्रले महिला र पुरुषबीच हुने लैंगिक विभेदलाई पहेंलो र गुलाबी रंगको भित्री वस्त्रले संज्ञा गरेर बक्समा राखेर प्रस्तुत गरेका छन्।

प्रदर्शनी कलाकार संगीता थापा, रोशन ब्रजचार्य, एन्जिला मानन्धर, आशा डंगोल, आदित्य अर्याल, लय मैनाली विजय महर्जन, भाइराजा महर्जन, मुकेश श्रेष्ठ र जुपिटर प्रधान लगायतको कलाहरू राखिएका छन्। प्रदर्शनी आगामी फागुन १९ सम्म चल्नेछ।

प्रकाशित: १५ फाल्गुन २०७६ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App