coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पुष्पलालचोक–विराटचोक सडक, ६ महिनामै ४० प्रतिशत काम

निर्माणाधीन पुष्पलालचोक–विराटचोक सडक। सडक छेउका रूख नहटाउ“दा निर्माणमा अवरोध भइरहेको छ। तस्बिर : विनोद/नागरिक

विराटनगर - मोरङको पुष्पलालचोक–विराटचोक सडक विस्तार तीव्र पारिएको छ। प्रदेश १ सरकारले गौरवको आयोजनाका रूपमा उक्त सडकलाई राखेको छ। सडक निर्माण थालिएको ६ महिना नबित्दै ४० प्रतिशत काम सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय मोरङले जनाएको छ। पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठका अनुसार हालसम्म सडक निर्माणको भौतिक प्रगति ४० प्रतिशत र आर्थिक प्रगति ३० प्रतिशत रहेको छ। तीन खण्डमा निर्माण थालिएको सडकको पहिलो र दोस्रो खण्डमा धमाधम काम भइरहेको छ। यस्तै तेस्रो खण्डको काम पनि सुरु हुने क्रममा रहेको श्रेष्ठले बताए। ‘तेस्रो खण्डमा चारवटा पुल र करिब तीन किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेकाले चा“डै काम सुरु हुन्छ,’ उनले भने।

सडक निर्माणका लागि जटिल देखिएको सडक आसपासका रूख काट्ने, विद्युत्का पोल सार्ने र खानेपानीको पाइपलाइन सार्ने काम पनि चा“डै थाल्न प्रक्रिया अघि बढिसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। श्रेष्ठका अनुसार विद्युत् पोल सार्न ठेक्का लागिसकेको छ। रूख कटानका लागि पनि टेन्डर खुलेको थियो। तर कसैले पनि टेन्डर नहालेका कारण पुनः सूचना निकालिएको छ।

खानेपानी पाइपलाइनका लागि काम अघि बढाउने तयारी भइरहेको छ। ‘ठेक्का प्रक्रियाबाट खानेपानी पाइपलाइनको काम गर्न समय लाग्ने भएकाले उपभोक्ता समितिबाटै काम अघि बढाउने तयारी गरिएको छ,’ पूर्वाधार विकास प्रमुख श्रेष्ठले भने। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको चालु आर्थिक वर्षभित्रै माटो पुर्ने, साइड नाला निर्माण गर्ने र ग्राभेल गर्ने काम सम्पन्न हुने उनको भनाइ छ। आगामि आर्थिक वर्षमा पनि सबबेस र कालोपत्रेको काम गरिने उनले जानकारी दिए। लक्ष्यअनुरूप दुई वर्षभित्रै काम सम्पन्न हुनेमा स्थानीयले भने आशंका गरेका छन्। विशेष गरी विराटनगर र बूढीगंगाको सिमानास्थित सिंघिया खोलाको पुल निर्माणको काम अझै सुरु नभएकाले समयमै काम सम्पन्न हुनेमा स्थानीयले आशंका गरेका हुन्।

विराटनगर–१ का श्याम घिमिरेले खोलाको पुल निर्माण एक वर्षमै सकिएला भन्ने आफूहरूलाई विश्वास नभएको बताए। ‘सिंघिया खोलामा निर्माणाधीन पुलहरू वर्षौंदेखि अलपत्र छन्,’ उनले भने, ‘प्रदेश सरकारको आयोजना भन्नेबित्तिकै एकै वर्षमा पुल बन्ला भनेर विश्वास गर्न सक्ने अवस्था छैन।’ विराटनगरको पुष्पलालचोकदेखि सुन्दरहरैंचाको विराटचोकसम्मको सडकको लम्बाइ २२ किलोमिटर छ। यो सडक निर्माण सम्पन्न गर्न करिब दुई अर्ब लागत लाग्ने अनुमान गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

पुष्पलालचोक–विराटचोक सडकको शिलान्यास गत भदौ २३ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले त्यस सडकलाई प्रदेशकै नमुना बनाउने बताएका थिए। गुणस्तरमा सम्झौता नहुने बताउँदै उनले लापरबाही गरे त्यसको परिणाम हेक्का राख्न ठेकेदार कम्पनीलाई सचेत पनि गराएका थिए। सो सडक निर्माणको काम श्रेष्ठ निर्माण कम्पनी र एपेक्स रमण निर्माण सेवाले गरिरहेका छन्। निर्माण कम्पनीले २०७८ असार मसान्तभित्र निर्माण पूरा गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ।

दुई लेनको सडकलाई केन्द्रबाट ३५–३५ फिट चौडाइमा विस्तार गरिएको छ। यो सडकले विराटनगर, बूढीगंगा, ग्रामथान र सुन्दरहरैंचालाई जोड्नेछ। विराटनगर–इटहरी सडकमा हुने सवारी जाम कम गर्न वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोगमा आउनेछ। विराटनगरबाट पूर्वतर्फ जाने यात्रुहरूका लागि यो सडक वैकल्पिक र छोटो मार्गका रूपमा रहेको छ।

प्रकाशित: १५ फाल्गुन २०७६ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App