८ वैशाख २०८१ शनिबार
समाज

‘जातकै कारण डेरा छोड्न बाध्य’

काठमाडौं - कैलालीकी छात्रा दीपा नेपालीले काठमाडाैं आउनुअघि जे सोचेकी थिइन् भोगाइ त्यसको उल्टो भइरहेको छ। सहरका मान्छे शिक्षित र सभ्य होलान्, जातीय छुवाछुत नहोला यस्तै सपना बोकेर गत मंसिरमा काठमाडौं आएकी थिइन उनी।

उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएकी दीपा जातकै कारण दुव्र्यवहार खेप्न बाध्य छिन्। घरबेटीले दलित भएकै कारण सूचना टाँसेर कोठा (डेरा) छाड्न बाध्य पारेको उनी बताउँछिन्। आफ्नो पीडा खेप्न नसकेपछि दीपा मंगलबार मानवअधिकार खोज्दै काठमाडौंमा भएको एक कार्यक्रममा पुगीन्। दलित नागरिक समाजले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र दलित अधिकारकर्मीलाई आफ्नो पीडाको घटनाक्रम बारे सुनाइन्।

कार्यक्रममा सहभागीहरूलाई दीपाले पीडा सुनाउँदै भनिन्। ‘मेरा दुईभाई एक वर्षअघि उच्च शिक्षाका लागि यहाँ (काठमाडौं) आएका थिए। एउटै ठाउँमा बसरे पढ्दा खर्च कम हुने र पढाइ पनि राम्रो हुनेभन्दै अविभावकले मलाई पनि पठाए। म अहिले कानुन विषयमा स्नातक र अंग्रेजी विषयमा स्नकोत्तर अध्ययन गर्दै छु। आठ महिनासम्म काठमाडौंको नेपालटारमा बसे। त्यसपछि कान्छो भाइ अयो उसको कलेज पायक पर्नेगरी कोठा सार्नुपर्ने भयो। जहाँ गएपनि आफ्नो नामथर प्रष्ट भन्दै आएकी थिए। दलित भएकै कारण मैले कोठा कतै पाएन। निरन्तर तीन महिनाको प्रयासपछि मंसिर १३ गते तारकेश्वर नगरपालिकामा निजामती कर्मचारी श्रीकृष्णा विंडारीको घरमा पुगे। त्यहाँ घरबेटीसँग जातको कुरै नभएर कोठाको सम्झौता भयो। तीन महिनापछि कोठा पाएपछि निकै खुसी भएका थियौं।

मंसिर १३ गते साँझ घरबेटी विंडारीकी छोरी परिचय गर्न पुगीन त्यसबेला मैले वास्तविक नामथर बताए। त्यसको भोलीपल्ट अर्थात् मंसिर १४ गते विहान घरबेटीले बोलाएर तिमीहरू दलित रहेछौं कोठा छाड्नु पर्याे भने। उनले आफूलाई मात्र नभइ यहाँ डेरा गरेर बस्ने अरुलाई पनि समस्या परेकाले कोठा सार्नु भनेपछि मैले बुला हजुरले पनि यस्तो कुरा भन्न मिल्छ र भन्दै मैले प्रश्न गरे तर कुनै जवाफ आएन।

पटक पटक घरबेटीले कोठा छोड्न दवाव दिएपछि भाई र मैले अहिलेको अवस्थामा पनि जातिय छुवाछुत गर्ने भन्दै कानुनी व्यवस्थाको बारेमा बताएका थियौं। त्यसपछि घरबेटीले अर्काे कोठा व्यवस्थापन गराइदिएकाले आफ्नो घर छाड्न दवाद दिइन्। भर्खरै व्यवस्थापन गरेको कोठा सार्नका लागि सजिलो पनि थिएन। आफूहरू विद्यार्थी भएकाले तत्काल कोठा नसार्ने जानकारी दिए।’

घरबेटीका कारण आफू पीडामा परेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीलाई जानकारी गराइकीछिन्। आयोगका कर्मचारीले घरबेटी विंडारीलाई फोन गरेर सम्पर्क गरेका थिए। विंडारीले गल्ती स्वीकार गर्दै बस्न दिन बताएका थिए। घरबेटीले भित्री रूपमा जात स्वीकार गर्न सकेका थिएनन्। आयोगबाट फोन गएपछि विंडारी परिवारले विभेदको रूप बदलेका थिए। आफ्नो कोठामा पानी नआएपछि पानी लगाइदिन आग्रह गर्न गएका दीपाका जेठाभाई राजलाई हातपात र बलात्कार गर्न आएको आरोपमा बालाजु प्रहरीमा पु-याइएको उनको गुनासो छ। प्रहरीमा छलफल भएपछि कुनै गल्ती नभएको भन्दै घर फर्काइदिएको थियो।

जातकै आधारमा दीपा र दाजुभाईलाई कोठाबाट हटाउन विंडारी परिवारले अनेकौं प्रयास गर्दै आएको उनको गुनासो छ। घरबेटीले उनीहरूलाई ३५ दिनभित्र कोठा छाड्न सूचना टाँसेर जानकारी दिएका छन्। उक्त सूचनामा घरमा पानीको अभाव भएको र घर मर्मत गर्नुपर्ने कारण देखाएर उक्त घरमा बस्ने सबैलाई एकैसाथ सम्बोधन गरिएको छ। घरबेटीको अपमान र दवावले त्यो घरमा बस्ने मन छैन तर अन्यत्र पनि कोठा पाउन सहज नभएको दीपा बताउँछिन्। दीपाले कान्छाभाई ड्रिम नेपालीको कलेज नेपालटारमै भएकोले अन्य ठाउँमा जाने अवस्था नभएको बताइन्।

आफूले घर मर्मत गर्नुपर्ने र पानीको अभाव भएका कारण दीपालाई मात्र नभई सबैलाई कोठा छाड्न सूचना प्रकाशन गरिएको घरबेटी विंडारी बताए। आफूले कुनै पनि जातीय छुवाछुत गरेको उनको दाबी छ।

प्रकाशित: १५ फाल्गुन २०७६ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App