coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘हरेक व्यक्ति रोजगारसँग जोडिनु आवश्यक’

फाइल तस्बिर/नागरिक

नुवाकोट – वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको शिक्षा पढाउने नभई सिकाउनेमा आधारित हुनुपर्ने बताएका छन्। त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयको ६९औँ वार्षिक उत्सव तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्यालय तथा क्याम्पसको शिक्षा परीक्षामा मात्र केन्द्रित हुने तर प्रतिफल शून्य हुने गरेको गुनासो गरेका छन्। अधिकांश विषयवस्तु किन पढाइयो भन्ने शिक्षकलाई थाहा नहुने र किन पढेँ भन्ने विषयमा विद्यार्थी जानकार नहुने भन्दै उनले पढेका विषयवस्तु सिक्नेगरी र पढेका विषय बारबार प्रयोगमा आउनेगरि पढ्नु आवश्यक रहेको बताए।

‘अबको शिक्षा बढी प्राविधिक धारमा हुनुपर्छ भनेर आवाज उठाइरहेका छौं। सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षालाई प्राथमिकता दिने हो भने प्रत्येक विद्यार्थीले राष्ट्र निर्माणमा योगदान पु¥याउन सक्छन्। विद्यालयबाट निस्केका विद्यार्थीहरू शैक्षिक प्रमाणपत्र लिएर कार्यालमा धाउने होइन जागिरको लागि, जागिरदाता यति कामदार चाहियो भनेर विद्यालयमा सम्पर्क गर्नसक्ने खालको वातावरण सिर्जना हुनु आवशयक छ,’ मुख्यमन्त्री पौडेलले भने, ‘समृद्ध नेपाल सुखी नेपाली नारा लिएर अघि बढिरहेका छौं। यो नारालाई सार्थकता दिन हरेक व्यक्ति रोजगारसँग जोडिनु आवश्यक छ। ज्ञान र शिक्षा सिपमूलक हुनुपर्छ। आयआर्जनमा केन्द्रित हुनुपर्छ। अनि मात्र नेपाली सुसम्पन्न र समृद्ध हुन सक्छ।’

आफू समानुपातिक नारा लिएर अघि बढिरहेको भन्दै उनले प्रदेशका १३ वटै जिल्लाको विकासको लागि यो र त्यो नभन्ने बताएका छन्। कुन जिल्लामा के आवश्यक छ त्यसको पहिचान गरेर बजेट विनियोजन गरिरहेको उनको भनाइ छ।
कार्यक्रममा संघीय सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले शिक्षानै विकासको आधार रहेको भन्दै संस्कृति, सभ्यता, ज्ञान र चेतनाको प्रवद्र्धन र सम्वद्र्धन गर्ने थलोको रुपमा विद्यालयलाई लिन आग्रह गरे।

केन्द्रीय आयोजना कार्यन्वयन एकाइ(शिक्षा) मार्फत गरिबी निवारणको लागि जापानी कोषको सहयोग र एशिएन विकास बैंकको प्रशासनिक सहयोगमा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको सुविधासम्पन्न भवन निर्माण गरिएको थियो। १० करोड ७ लाख रुपैयाँमा १२ कोठे विद्यालय भवन, ६ कोठे प्रयोगशाला भवन, महिला छात्रवास, चमेनागृह, शौचालयलगायतको भौतिक संरचना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताए।

प्रकाशित: १५ फाल्गुन २०७६ ०१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App