६ वैशाख २०८१ बिहीबार
अन्य

बजेट सक्न भ्याइनभ्याई

दैलेख- असार मसान्त सकिनै लाग्दा ग्रामीण भेगका उपभोक्तालाई बजेट सक्न भ्याइनभ्याई छ। मसान्तमा विकास निर्माणका काम सकेर फच्छ्र्यौट नगरे बजेट फ्रिज जाने भन्दै उपभोक्तलाई बजेट सक्न चटारो परेको हो।
धेरै उपभोक्ता समितिले डोजर लगाएर छिटोछिटो सडक खनिरहेका छन् । गाँउमा जता ग¥यो त्यतै उपभोक्तालाई काम भ्याइनभ्याई छ । बजेट सक्न ठेकेदारदेखि उपभोक्ता समितिसम्म भ्याइनभ्याई छ । बजेट सक्नकै लागि असारमा गुणस्तरहीन काम हुनसक्ने भन्दै दैलेख जिविसले अनुगमन समिति बनाएर गाउँ गाउँ पठाएको छ ।
चुप्रा–मेहेलतोली, चुप्रा–सिमाडा–मेहेलतोली सडक मर्मत योजनाको काम पनि बजेट सक्न भ्याइनभ्याई छ। सडक मर्मतका नाममा उपभोक्ता समितिले ढुंगा मात्रै पन्छाएका छन् । १५ लाखमा स्थानीय यातायात क्षेत्रगत पूर्वाधार कार्यक्रममार्फत् उक्त सडक मर्मत गरिएको हो । म्याद सकिनै लाग्दा पनि उक्त काम गुणस्तरीय नभएको अनुगमन समिति सदस्य उमेश रावतले बताए । ‘एक÷दुई  ठाउँमा ढुंगा मात्र छन्,’ अनुगमन समितिका सदस्य रावतले भने, ‘१५ लाखको काम सकिएको योजना हेर्न जाँदा एक लाखको पनि देखिएन ।’ उनले बजेट सक्नकै लागि हतारोमा काम गरिएको बताए । सडक योजना अनुसार काम नभएको प्राविधिकहरूले बताएका छन् । त्यस्तै राकमदेखि रोल जोड्ने सात लाखको सडकको काम पनि गुणस्तरिय हुन सकेको छैन । उपभोक्ता समितिले बजेट सक्न हतारोमा ठाडै उकालो बाटो खनेको स्थानीयले आरोप लगाएका छन् । ‘सडक ठाडो हुँदा डोजरै चढ्न नसक्ने उकालो सडक खनिएको छ,’ एक स्थानीयले भने, ‘मान्छे हिँड्नै कठिन बाटोमा गाडी कसरी जाला ।’
जिल्लाभर असार लागेसँगै एक सय ४७ योजनाका काम धमाधम भइरहेका छन् । ती योजना ५० हजारदेखि २२ लाखसम्मका रहेको जिविसका योजना अधिकृत पदम सापकोटाले बताए । ती मध्ये सडकमा धेरै योजना रहेका छन् ।  खानेपानी, सिँचाइ, विद्युत विस्तार आदि योजना रहको जनाइएको छ । बजेट सक्नकै लागि असार लागेसँगै ती योजना सम्झौता भएको एक स्थानीयले बताए ।
निर्वाचन क्षेत्र पूर्वाधारमै रकम दुरुपयोग
जिविसबाट सञ्चालित  योजना मध्ये संसद निर्वाचन क्षेत्र, पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनामा उपभोक्ता समितिले गुणस्तरहीन काम गरेको भेटिएको छ । सिंहासैन–आठबीसे क्याम्पस जोड्ने सडक पनि गुणस्तरहीन भएको बताइएको छ । अनुगमन समिति जाँदा सडक बगरमा परिणत थियो । सडकको नमुनानै नदेखेर अनुगमन समिति फर्किनु परेको समिति एक सदस्यले बताए । उक्त सडकका लागि सात लाख रकम विनियोजन गरिएको थियो । त्यस्तै ज्वाला उच्च मावि क्याम्पस पूर्वाधारका लागि संसद निर्वाचन विकास क्षेत्र पूर्वाधार कार्यक्रमबाट १५ लाख र जनश्रमदान तीन लाख ७५ हजार गरी १८ लाख ७५ हजार रकम कामै नगरी खर्चिन लागिएको छ । नेताहरूकै आडमा उक्त रकम कामै नगरी खर्चिन लागेको हो। उनीहरूले पाँच लाखको काम मात्रै गरेका छन् । बाँकी रकम क्याम्पस निर्माणका लागि खर्च गर्ने दाउमा रहेको स्रोतले बतायो । घुमाउरो तरिकाबाट बचेको पैसा क्याम्पस निर्माणका लागि जम्मा गर्ने समिति अध्यक्ष नन्दबहादुर खड्काले बताए । ‘फिल्ड निर्माणबाट बचेको रकम खातामा राखेर भवन बनाउने सोचमा छाँै,’  अध्यक्ष खड्काले भने, ‘फिल्ड निर्माणमा कम पैसा खर्च गरेका छौँ ।’
फिल्ड अनुगमनमा पुगेका जिल्ला प्राविधिक कार्यालयका प्राविधिक दशरत महतराले उनीहरूले निर्माण गरेको विद्यालय फिल्ड पाँच लाख जति खर्च भएको स्टमेट निकालेका छन् । कुनै पनि योजनाको रकम काम अनुसारै भुक्तानी गरिने स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए । ‘एउटै योजनामा धेरै पटक अनुगमन गरिएपछि मात्रै भुक्तानी हुनेछ,’ उनले भने, ‘सबै योजना एक–एक  गरी नापेर मात्रै फाइल उठ्ने छ ।’
सवा दुई करोड अख्तियारी
मध्य असारमा स्थानीय विकास मन्त्रालयबाट पाँच सडक निर्माणका लागि दुई करोड ३० लाखको अख्तियारी आएको छ । जिविस दैलेखले आइतबार जिल्ला प्राविधिकलाई सम्भाब्यता अध्ययनका लागि फिल्डमा खटायो । ढिला अख्तियारी आएकाले सर्वदलीय बैठक राखेर सम्भाव्यता अध्ययन  गर्न निर्णय भएकाले फिल्डमा प्राविधिक पठाएको जिविसका योजना अधिकृत सापकोटाले बताए । उनका अनुसार असार १५ मै बजेट आएकाले काम गराउन चुनौती छ।

 

प्रकाशित: २० असार २०७३ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App