ओखलढुंगा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका क्षेत्रमा भुस्याहा कुकुरको विगविगी बढ्न थालेको छ। कुकुरका कारण किसानले पालेका पशुचौपायामा क्षति पुगेकाे छ। मंगलबार सिद्धिचरण नगरपालिका–१२ मा भुस्याहा कुकुरले किसानको सात वटा बाख्रा मारेका छन्।
सिद्धिचरण नगरपालिका–१२ सितलपुरकी चन्द्रकला श्रेष्ठको गोठमा पालेको तिन वटा ब्याउन लागेका माउ बाख्रा र एउटा खशी कुकुरले मारेको हो। कुकुरले गोठमै आएर बाख्रा मारेको चन्द्रकला श्रेष्ठले बताईन्।
यस्तै, केहि दिनअघि मात्रै सितलपुरकै शंकर राजभण्डारीको गोठमा बाधिराखेको दुई वटा खशी कुकुरले आक्रमण गरी मारेको थियो। सिद्धिचरण नगरपालिका–११ गैरी गाउँका कृष्णबहादुर खत्रीको पनि खशी र बाख्रा भुस्याहा कुकुले मारेको जनाएका छन्। भुस्याहा कुकुरले पशुचौपाया मार्न थालेपछि किसानले सिद्धिचरण नगरपालिकालाई भुस्याहा कुकुर नियन्त्रणका लागि माग गरेका छन्।
बुधबार दर्जनौ पीडित किसानहरुले नगरपालिकामा पुगेर मेयर मोहनकुमार श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउदै कुकुर नियन्त्रणका लागि माग गरेका हुन्। ध्यानाकर्षण पत्र मार्फत पीडित किसानहरुले भुस्याहा कुकुरको नियन्त्रण गर्न र क्षतिपूर्तिको व्यवस्था गर्न समेत मेयर श्रेष्ठ समक्ष माग गरेका छन्।
कुकरको नियन्त्रणका लागि आवश्यक पहल थालिने मेयर श्रेष्ठले किसानहरुलाई आश्वासन दिएका छन्। सार्वजनिक सूचना प्रभाह गरी नियन्त्रणका लागि कार्यक्रम अगाडी बढाईने श्रेष्ठको भनाई छ। यसअघि पनि भुस्याहा कुकुर नियन्त्रणका लागि नगरपालिकाले निर्णय गरेको थियो। गत साल पनि कुकुरको आक्रमणबाट दर्जनौ किसानका पशुचौपया मरेका थिए।
प्रकाशित: १४ फाल्गुन २०७६ १३:५३ बुधबार