७ वैशाख २०८१ शुक्रबार
अर्थ

बर्खे आलु लगाउनमा व्यस्त डडेल्धुराका किसान

बर्खे आलुको बिउ लगाउदै अमरगढी–१ तडिबाटाका किसान ।

डडेल्धुरा- डडेल्धुराका किसान बर्खे आलु लगाउनमा व्यस्त देखिन्छन्। बर्खे आलु लगाउने समय अलि ढिला भए पनि अहिले किसानहरु आलु लगाउनमै व्यवस्त छन्। बर्खा याममा आलुको उत्पादन राम्रो हुने भएकाले किसानहरु आलु लगाउनै व्यस्त भएका हुन्।

प्रायः माघ महिनामै लगाईने बर्खे आलु हिउँदको बर्षा र चिसोले अलि समय ढल्केको छ। मंसिर अन्तिममा भएको हिमपातपछि चार पटकसम्म भएको हिमपात र समयसमयमा परेको पानीले खेत हिलाम्य र अलि बढि नै चिसो भएकाले आलु लगाउने उत्तम समय केही ढल्केको छ।

हिउँदमा चिसोले खारो जम्दा त्यति राम्रो आलुको उत्पादन नहुने गरेको अमरगढी नगरपालिका–१ तडिवटाका किसान शिवराज रावलले बताए। मूल्य त बढी पाउँछ। उनले भने, चिसोले बर्खा भन्दा कम उत्पादन हुने भएकाले यो समयमा आलु लगाउने किसानको संख्या बढी छ। बर्खायाममा अन्य तरकारी खेतीमा असिना पानीले नोक्सानी गर्ने, किरा लाग्ने, कुहिने भएकाले पनि अधिकांश किसानले आलु खेती गर्ने गरेको उनले बताए।

आलुले बजार राम्रो पाउन थालेपछि पछिल्ला वर्षहरुमा आलु खेती गर्ने किसानको संख्या समेत बढ्दै गएको छ।

परम्परागत रुपमा आलु लगाउदै आएका किसान पछिल्ला वर्षहरुमा व्यवसायीक बन्दै गएका छन्।
यस वर्ष हिउँदे आलु खेती व्यवसायीक रुपमा एक सय ५० हेक्टर क्षेत्रफलमा गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण आलु सुपरजोन परियोजनाका कृषि विकास अधिकृत खेमराज जोशीले बताए। बर्खे आलु खेती गर्ने किसानहरुको संखया बढेकाले करिब दुई सय हेक्टर क्षेत्रफलमा लगाईने उनको भनाई छ।

हिउँदे आलु मात्रै यहाँका किसानले आलु सुपरजोन, नगरपालिका÷गाउँपालिका र किसानको साझेदारी गरि बिउमा दिइएको अनुदान पाएका किसानले एक हजार कुन्टल आलुको बिउ लगाएका थिए। आलु सुपरजोनले चक्लाबन्दिमा दिने अनुदानमा किसानले ६५ हेक्टर क्षेत्रफलमा आलु लगाइएको उनको भनाई छ। भने कतिपय किसानहरुले आफै बिउ राखेर वा बजारबाट खरिद गरि आलुखेती समेत गर्दै आएका छन्।
 

 

 

प्रकाशित: १४ फाल्गुन २०७६ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App