८ वैशाख २०८१ शनिबार
अन्य

भिआइपीको दबाब मुख्य कारण

काठमाडौं – गत वर्ष फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारण त्यसमा सवार भिआइपीको दबाब रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ। एयर डाइनेस्टीको कल साइन ९एन अल्फा माइक इन्डिया (एएमआई) हेलिकप्टर संलग्न उक्त दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलगायत सातजनाको ज्यान गएको थियो।

उक्त दुर्घटनाबारे छानबिन गर्न गठितसमितिले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनमा दुर्घटनाको प्रमुख कारण पाइलटमाथि भिआइपी यात्रुबाट परेको दबाबलाई देखाइएको छ। पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा गठित समितिले पाइलट प्रभाकर केसीलाई मुख्य दोषी औंल्याउँदै हेलिकप्टरमा सवार व्यक्तिको दबाब अनुसार उडाउँदा दुर्घटना भएको निष्कर्ष निकालेकोहो।

काठमाडौं–तेह्रथुम र तेह्रथुम–काठमाडौंको उडान अनुमति पाएको हेलिकप्टरमा सवार विशिष्ट व्यक्तिले त्योभन्दा फरक ठाउँमा उडान भर्न लगाउँदा दुर्घटना निम्तिएको प्रतिवेदनमा उल्लेख छ। उक्त उडानमा तत्कालीन पर्यटनमन्त्री अधिकारी र हेलिकप्टर कम्पनीका सञ्चालक आङछिरिङ शेर्पासहित उच्चपदस्थ अधिकारी सवार थिए। उनीहरुकै निर्देशन अनुसार पाथिभरा लगिएका कारण पाइलटलाई दोषी देखाइएको हो।

पाइलटले काठमाडौंबाट उड्दा ताप्लेजुङ पुगेर फर्कने बताएपनि ताप्लेजुङबाट पाथिभरा उडानको लागि त्रिभुवन विमानस्थलस्थित टावरसँग अन्तिम समयमा रेडियोमार्फत अनुमति मागेको प्रतिवेदनमा छ। साथै, पाइलटले उक्त क्षेत्रमा पहिलोपटक उडान भरेकाले त्यहाँको भौगोलिक अवस्थाबारे जानकार नरहेको विषयलाई समेत दुर्घटनाको कारण मानिएको छ। भारी हिमपात, प्रतिकूल मौसम, उच्च हावाको वेग, न्यून भिजिबिलिटी, क्षमताभन्दा बढी तौललाई पनि दुर्घटनाको कारणको रुपमा देखाइएको छ। हेलिकप्टरमा सवार विशिष्ट व्यक्तिको निर्देशनटार्न नसक्नुलाई पाइलटको कमजोरी भनिएको छ।

अन्तिम समयमा आएर मौसमको प्रतिकूलता र इन्धन आदिको मूल्यांकनै नगरी पाइलटले उडान भरेकाले दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ।

भी टू ट्र्याक रेकर्डका अनुसार हेलिकप्टरले स्टार्ट भएको एक मिनेट २८ सेकेन्डमै (क्विक टेकअफ) उडान भरेका कारण पाइलटलाई उडान भर्न हतार भएजस्तो देखिएको प्रतिवेदनमा उल्लेख छ।पाथिभरामा हेलिकप्टरले झण्डै ४५ मिनेट बिताउँदा हिमपात भइरहेको र उडानका बेला पाइलटले सिसानै सफा नगरी वाइपरको भरमा मात्रै उडान भर्दा बाहिरको दृश्य नदेखिएको जनाइएको छ।

प्रतिवेदनले हेलिकप्टरको अगाडि सिटमा दुईजना यात्रु राख्नुलाई पनि दुर्घटनाको कारण देखाएको छ। उडानको समयमा तौलको मापन नगर्नुको अर्को त्रुटि थियो।उच्च हिमाली भेग र पहाडमा उड्ने हेलिकप्टरमा अगाडि दुईजना राख्दा जोखिम भएको जनाउँदै विष्यमा यस्ता विषयमा पुनर्विचार गर्न समेत सिफारिस गरिएको छ।

प्रतिवदेनले हेलिकप्टरको निर्धारित समयमा मर्मत सम्भार भइरहेको जनाउँदै कुनै प्राविधिक समस्याका कारण दुर्घटना नभएको प्रस्ट पारेको छ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र हेलिकप्टरका पाइलट प्रभाकर केसीको दुर्घटनास्थलमै मृत्यु भएको थियो। उक्त दुर्घटनामा हेलिकप्टरको पुच्छरबाहेक सबै जलेको थियो। तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको पर्यटन मन्त्रीसहितको टोली ताप्लेजुङमा दुर्घटनामा परेको थियो।

छानबिन समितिले दुर्घटनासम्बन्धी तथ्य संकलन, सम्बन्धित प्राविधिक एवं व्यवस्थापन पक्षका पदाधिकारीहरुसँगको छलफल, अन्तर्वार्ता, दुर्घटनास्थलको अध्ययन, मौसमी अवस्थाको विश्लेषण, वायुयान र चालकको रेकर्ड जाँच, चालकको पारिवारिक एवं सामाजिक तथा मानवीय अवस्थाको मनोवैज्ञानिक अध्ययन, उडान कागजात, म्यानुअल समेतको विस्तृत अध्ययन र विश्लेषणका आधारमा अन्तिम प्रतिवेदन तयार गरेको जनाएको छ।

प्रकाशित: १४ फाल्गुन २०७६ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App