४ वैशाख २०८१ मंगलबार
अर्थ

सुकुटे महोत्सवमा ३० प्रतिशत छुट

सुनकोसी नदीमा -याफ्टिङ गर्दै पर्यटक। तस्बिर: ध्रुव/नागरिक

सिन्धुपाल्चोक – उत्तेजक पानीका भंगालासहित कलकल बग्ने सुनकोसी नदीमा साहसिक खेल -याफ्टिङको आनन्द लिन चाहानुहुन्छ ? यदि, चाहनुहुन्छ भने सहुलियत शुल्कमा -याफ्टिङ बोट खियाउँदै सुनकोसीको चिसो पानीमा हुर्केका असला माछाको परिकार चाख्दै र स्थानीय अर्गानिक खानेकुराको स्वाद लिने अवसर जुटेको छ।

प्रथम सुकुटे महोसत्सवको अवसरमा आयोजकले आन्तरिक तथा बाह्य पर्यटकलाई यो मौका उपलब्ध गराउन लागेका हुन्। आगामी शनिबारदेखि मंगलबार (फागुन १७–२०) सम्म चार दिनसम्म चल्ने महोत्सवमा -याफ्टिङ, खाना, बाससहित होटल, रेस्टुराँको सम्पूर्ण सेवामा ३० प्रतिशत छुट दिन लागिएको महोत्सव प्रचार–प्रसार समितिका संयोजक राजेन्द्र शर्माले बताए।

पर्यटकीय क्षेत्र सुकुटेमा याफ्टिङ खेलसमेत खेलाउने १० रिसोर्टको रहेको जानकारी दिँदै उनले भने, ‘यी सबै रिसोर्टले महोत्सव अवधिभर तोकिएको छुट दिने प्रवन्ध मिलाइएको छ।’ दुई हजार पाँच सयदेखि तीन हजार पाहुनालाई दैनिक आवासीय सुविधा दिन सक्ने क्षमताका यी रिसोर्टले आफ्ना सम्पूर्ण सेवामा छुट दिने शर्माले जानकारी दिए। रिसोर्टका सञ्चालक आवद्ध सिन्धु पर्यटन व्यवसायी संघको अगुवाइमा नेपाल भ्रमण वर्ष–२०२० लाई सघाउन महोत्सव आयोजना गरिएको हो।

सुकुटे महोत्सव अन्यत्र देखिँदै आएको महोसत्वभन्दा फरक हुने आयोजकको दाबी छ। भ्रमण वर्षको सन्देश विश्वभर फैलाउने गरी महोत्सवको तयारी भइरहेको आयोजक मूल समारोह समितिका संयोजक चन्द्र सापकोटाले बताए। ‘साहसिक खेल याफ्टिङका कारण चर्चित सुकुटेमा वार्षिक हजारौं पर्यटक आउँछन्। ती पर्यटकलाई जिल्लाभरका पर्यटकीय स्थलसम्म पु¥याउने वातावरण बनाउन महोत्सव गर्न लागिएको हो,’ उनले भने।

आयोजकका अनुसार पहिलो दिन नेकपाका कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले महोत्सवको उद्घाटन गर्ने छन् । सुकुटेलाई माया गर्ने नेतृत्व भएकाले उनलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको आयोजकका भनाइ छ। राजनीतिक तनावबीच शान्त वातावरण खोज्दै दाहाल सुकुटे बस्न आइरहन्छन्। दोस्रो दिनको नेतृत्व बागमती प्रदेशका वन, बातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले गर्दा तेस्रो दिनको अगुवाइ बागमती प्रदेशका सामाजिक विकासमन्त्री विकास दुलालले गर्ने आयोजकले जानकारी दिए। अन्तिम दिन सुकुटे पर्यटन वर्ष घोषणापत्र जारी गर्दै महोत्सवको समापन प्रतिनिधिसभाका समामुख अग्निप्रसाद सापकोटाले गर्ने छन्।

ख्याती प्राप्त कलाकारबाट गीत, संगीतका साथै स्थानीय कला, संस्कृति र सांस्कृतिक झाँकी प्रदर्शन गरिने महोत्सवमा सरोकारवाला निकायबीच नदी संरक्षण र पर्यटन, आन्तरिक र बाह्य पर्यटन तथा पर्यटन र स्थानीय संस्कृतिको विषयमा छलफल चलाइने संयोजक सापकोटाले जानकारी दिए। उनका अनुसार सम्वद्ध विज्ञले यस विषयमा कार्यपत्र पेस गर्ने छन्। छलफलका निष्कर्षलाई समेटेर घोषणापत्र जारी गरिने उनले जनाए।

अल्पसंख्यक तथा सीमान्तकृत स्थानीय माझी समुदायको परम्परागत नाच ‘माझीको पितरा’लाई महोत्सवकै प्रमुख आकर्षक बनाउने आयोजकको तयारी छ। उनीहरुका अनुसार महोत्सवको पूर्वसन्ध्यामा शुक्रबार बृहत सहभागितामा सुनकोसी नदी सरसफाइ गर्ने कार्यक्रम राखिएको छ। सुनकोसी बगरमा चल्ने महोत्सवमा स्थानीय सामग्रीका ३० स्टल राख्ने व्यवस्था मिलाइएको छ। महोत्सवकै अवसर पारेर गत वर्ष कदमवासको लामाचौरमा सफल परीक्षण गरिएको प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु गरिने प्रचार संयोजक शर्माले बताए।

महोत्सवको उद्घाटनमा आउने सबै अतिथिलाई सुनकोसीमा निःशुल्क ¥याफ्टिङ गराउने कार्यक्रम आयोजकले बनाएका छन्। त्यस्तै जिल्लाका १२ गाउँपालिका, गैरसरकारी संस्था महासंघ, पत्रकार र कलाकारका १५ टोलीबीच सुनकोसी नदीको बालुवामा मैत्रीपूर्ण भलिबल खेलाइने शर्माले जानकारी दिए। उनका अनुसार महोत्सवमा ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रकाशित: १४ फाल्गुन २०७६ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App