coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

१८ महिनामा धरहराको प्रगति ३३ प्रतिशत

काठमाडौं – निर्माण थालेको १८ महिना बित्दा ऐतिहासिक धरहराको भौतिक प्रगति एक तिहाइ(३३ प्रतिशत) छ। ठेकेदार कम्पनीको ढिलासुस्तीकै कारणले धरहरा निर्माणले अपेक्षित गति लिन नसकेको हो। सन् २०२० अक्टोबरभित्र निर्माण सम्पन्नगर्ने लक्ष्यसाथधरहरानिर्माण सुरु भएको थियो। यसमा हालसम्म ९२ करोड रुपैयाँ खर्च भइसकेको  बताइएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले हालसम्म धरहराको पुनर्निर्माण ३३ प्रतिशत सम्पन्न भएको बताए। ‘सम्झौता अनुसार धरहरा पुनर्निर्माणले जति गति लिनु पथ्र्याे सो अनुसार भइरहेको छैन,’उनले भने,‘ठेकेदार कम्पनीको ढिलासुस्तीकै कारणले कार्यतालिका अनुसार निर्माण हुन नसकेको हो।’ धरहरा पुनर्निर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले तीन अर्ब आठ करोड रुपैयाँमा पाएको हो।

सम्पदाविज्ञ मानन्धरले तोकिएको समयभित्रै धरहरा निर्माण सम्पन्न गराउन ठेकेदार कम्पनीलाई घच्घच्याइरहेको बताए। उनले भने, ‘६महिना बाँकी भएकाले तोकिएको समयभित्रै निर्माण सन्पन्न हुनेमा आशावादी छौं।’

धरहराको आठ तल्ला ढलान सकेर नवौं तल्लाको तयारी भइरहेको पनिउनले जानकारी दिए। ‘गतशनिबार धरहराको आठ तल्लाको ढलान सकियो,’ उनले भने,‘प्रत्येक महिनादुई तल्लाको दरले निर्माण भइरहेको छ।’ धरहरा बाहिरबाट ११ तल्लाको देखिएपनि भित्री भागमा २२ तल्लाको हुनेछ। २०७२ सालको भूकम्पले धरहरा भत्काएपछि सरकारले नयाँशिराबाट यसको निर्माण थालेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष १२ पुसमा धरहराको शिलान्यास गरेका थिए।

पुरानो धरहरादेखि करिब १० मिटर पूर्वतर्फ नयाँ निर्माण गरिँदैछ। गजुरसहित नयाँ धरहराको उचाइ ७९.९ मिटर हुनेछ। ‘बाहिरबाट हेर्दा नयाँ धरहराले पनि पुरानोकै झल्को दिनेछ,’सम्पदाविज्ञ मानन्धरले भने, ‘तर अहिले निर्माणाधीन धरहरा पहिलाको भन्दा मोटाइ धेरै र बलियो समेत हुनेछ।’ प्राधिकरणले भूकम्पले क्षतिग्रस्त भएर बचेको धरहराको ठुटोलाई भूकम्प स्मारकको रुपमा सिसाको फ्रेममा राख्ने जनाएको छ।

प्राधिकरणका अनुसार अबबन्ने धरहरा करिब ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ। धरहराको तल्लो भागमा तीन तल्लाको पार्किङ हुनेछ। त्यहाँतीन सय ४७ वटा चारपांग्रे पार्क गर्न सकिनेछ। धरहरा परिसरमा आकर्षक  बगैंचा, संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना राखिनेछ।

प्राधिकरणले गोश्वारा हुलाककार्यालयको भवन हटाएर अहिले पार्कलगायत संरचना बनाउने काम गरिरहेको छ। भीमसेनथापाले सन् १८३२ मा पहिलो पटक ११ तल्ले धरहरा निर्माण गरेका थिए। १९९० सालको भूकम्पले ११ तल्ले धरहरा क्षतिग्रस्त भएपछि नौ तल्लामा सीमित गरेर पुनर्निर्माण गरिएको थियो। प्रधानमन्त्री केपीशर्मा ओलीले यसअघि मै बनाउँछु मेरो धरहरा अभियानमा एक महिनाको तलब दिएका थिए।

प्रकाशित: १४ फाल्गुन २०७६ ०४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App