coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लिभरपुलद्वारा कीर्तिमान बराबरी

लन्डन  (एएफपी) – लिभरपुलले इङ्लिस प्रिमियर लिगमा लगातार १८ खेलमा विजयको कीर्तिमान बराबरी गर्ने क्रममा सोमबार वेस्ट ह्यामलाई ३–२ ले पराजित गरेको छ।

योर्गान क्लोपको टोली लिभरपुलले प्रिमियर लिगमा कीर्तिमान बराबरीमा गर्ने क्रममा पछि परेको स्थितिबाट वेस्ट ह्याममाथि जित निकाल्दै अंकतालिकामा शीर्षता बढाएको छ।  गत अक्टोबर २० मा म्यानचेस्टर युनाइटेडसँग बराबरी गरेपछि लिभरपुलले पहिलो पटक अंक गुमाउने संकेत देखिएको थियो। यद्यपि, साडियो मानेको गोलबाट लिभरपुलले स्पष्ट तीन अंक प्राप्त ग-यो। एन्फिल्डमा जर्जियो विज्नाल्डमको गोलबाट लिभरपुलले अग्रता बनाएको थियो।

यद्यपि, इसा डिओपले गोल गर्दै वेस्ट ह्यामलाई बराबरीको स्थितिमा फर्काए। पाब्लो फोर्नल्सले निकै संघर्ष गरिरहेको वेस्ट ह्यामलाई अग्रता दिलाए पनि गोलकिपर लुकास फाबियन्स्कीको गल्तीको फाइदा उठाउँदै मोहम्मद सालाहले लिभरपुललाई बराबरीमा फर्काए। यस गोलसँगै सालाहले सिजनको १९औं गोल गरेका थिए। खेल सकिन ९ मिनेट बाँकी छँदा मानेले गोल गर्दै लिभरपुललाई उत्कृष्ट पुनरागमन गराए। त्यो सफलतासँगै लिभरपुलले अंकतालिकामा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग २२ अंकको अग्रता बनाएको छ।

साथै लिभरपुलले सन् २०१७ को सिजनमा म्यानचेस्टर सिटीले बनाएको लगातार १८ जितको कीर्तिमानसमेत बराबर ग-यो। सन् २०१७ को अगस्टदेखि डिसेम्बरसम्ममा सिटीले प्रिमियर लिगमा लगातार १८ जितको कीर्तिमान बनाएको थियो। ‘यो कीर्तिमान बराबरी या भंग गर्नेछौं भन्ने मैले कहिल्यै पनि कल्पना गरेको थिइनँ। हामीले यो सफलता प्राप्त गर्छौं भन्नेप्रति कहिल्यै पनि विश्साव थिएन,’ क्लोपले भने, ‘यो सबै सफलताको पछाडि संयुक्त प्रयास नै हो। अझै यो लयलाई जारी राख्नेछौं।’

लिभरपुलले एन्फिल्डमा लगातार २१ जितको आफ्नै रेकर्ड पनि बराबरी गरेको छ। सन् १९७२ मा जनवरीदेखि डिसेम्बरसम्म बिल स्यान्कली नेतृत्वमा लिभरपुलले उक्त रेकर्ड बनाएको थियो। लिभरपुलले प्रिमियर लिगमा ११ खेल बाँकी छँदा अब चार खेल  जितेमा सन् १९९० पछि पहिलो पटक घरेलु उपाधि पनि प्राप्त गर्नेछ। हालसम्म ४४ खेलसम्म अपराजित लिभरपुल आर्सनलले बनाएको अर्को कीर्तिमान नजिकसमेत पुगेको छ।

इङ्लिस फुटबलमा आर्सनलले ४९ खेलसम्म अपराजित कीर्तिमान बनाएको छ। यस सिजन लिभरपुलले सबै प्रतियोगितामा गरेर चार खेलमा मात्र हार बेहोरेको छ। जसमा च्याम्पियन्स लिगअन्तर्गत १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडसँग बेहोरेको १–० को हार पनि समावेश छ।

जर्जिन्हो विज्नाल्डमले खेलको नवौं मिनेटमा एन्फिल्ड क्लब लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि पाहुना टोली वेस्ट ह्यामका डिओपले गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा पाब्लो फोर्नाल्सको गोलसँगै वेस्ट ह्याम खेलमा अगाडि बढ्यो। ६८औं मिनेटमा सालाहले खेल बराबरीमा ल्याए। बराबरीतर्फ उन्मुख खेलको ८१औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण तीन अंक दिलाए। लिभरपुलले लिगमा २२ अंकको अग्रता कायम ग¥यो। डेबिड मोयस नेतृत्वको वेस्ट ह्याम २४ अंकसहित रेलिगेसन जोनमै रह्यो।

लिभरपुलले प्रिमियर लिगमा ११ खेल बाँकी छँदा अब चार खेल  जितेमा सन् १९९० पछि पहिलो पटक घरेलु उपाधि पनि प्राप्त गर्नेछ।

प्रकाशित: १४ फाल्गुन २०७६ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App