काठमाडौं – राजधानीको मित्रपार्कस्थित पञ्चामृत ब्यान्ड बाजा केन्द्रमा सारंगीवादक मनीष गन्धर्व केही विद्यार्थीलाई सारंगी रेट्न सिकाउँदै छन्। चावहिलका किरण न्यौपाने उनको निर्देशनअनुसार बिस्तारै सांरगी रेट्न सिकेझैं देखिन्छन्। ‘औला दुख्यो भनेचाँहि रोकिन पाइन्छ है,’ भनेर सारंगीवादक गन्धर्वले भन्न नपाउँदै सारंगी सिक्दै गरेका प्रशिक्षार्थी रोकिन्छन्।
प्रशिक्षार्थी किरण न्यौपानेझैं करिव एक दर्जन विद्यार्थीहरू सारंगी बजाउन सिक्दैछन्। हरेक बिहान पञ्चामृत ब्यान्ड बाजा केन्द्रमा बज्ने सारंगीको धुनले मित्रपार्क गुन्जियमान हुने गरेको छ। ‘नेपाली परम्परागत बाजा सारंगी बजाउन सिक्न आउने युवाहरूको घुइँचो बढ्दै गएको छ। संगीतमा रुचि खासै नराख्ने युवायुवती यहाँ सांरगीसम्बन्धी प्रशिक्षण लिइरहेका छन्,’ सांरगीवादक गन्धर्व भन्छन्, ‘यसले नियमित हातको औलाहरूलाई सक्रिय गर्ने हुँदा सुरुवाती दिनमा उनीहरुले गाह्रो भएझैं महसुस गर्नु स्वभाविक हो।’ हालसम्म उनले झन्डै तीन दर्जन प्रशिक्षार्थीलाई सारंगी बजाउन सिकाइसकेका छन्। सारंगी बजाएर धेरैले गुजारा गरिरहेको अवस्थामा यसप्रति युवाहरूका रुचि हुनुलाई उनले सकारात्मक रूपमा लिएका छन्।
प्रशिक्षार्थी किरण न्यौपाने सारंगी बजाउन रुचि राख्ने भएकाले प्रशिक्षण लिइरहेका छन्। ‘नेपाली परम्परागत वाद्यवादन विस्थापित भइरहेको अवस्थामा मलाईचाँहि सारंगी बजाउने सीप सिक्न मन थियो, ’ उनले भने, ‘साथीहरूको सुझावअनुसार यहाँ सारंगी रेट्न सिक्दैछु। नियमित अभ्यास नहुँदा सारंगी रेट्न थालेको केही छिनमै औलाहरू थाक्ने रहेछ।’
अर्की प्रशिक्षार्थाी सुजिता बज्राचार्य विगत दुई वर्षदेखि सारंगीवादक रेग्मीसँग सारंगी बजाउने सीप सिकिरहेकी छन्। उनले स्वदेश र विदेशमा आयोजना हुने गरेको कार्यक्रमहरूमा सहभागी भएर सारंगी बजाउने गर्छिन्। ‘सारंगी बजाउने सीप सिक्दै गर्दा यसमार्फत विभिन्न धुनहरू तयार गरिरहेको हुन्छ। यसले रोजगार समेत दिएको छ,’ उनले भनिन्।
प्रकाशित: १४ फाल्गुन २०७६ ०२:४७ बुधबार