८ वैशाख २०८१ शनिबार
राजनीति

प्रहरीले थाल्यो सर्लाही इन्काउन्टरबारे सोधपुछ

काठमाडौं – नेत्रविक्रम चन्द ’विप्लव’ का तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको इन्काउण्टरबारे प्रहरी प्रधान कार्यालयले गोप्य सोधपुछ तथा अनुसन्धान थालेको छ। इन्काउन्टरमा संलग्न तीनैजना प्रहरीलाई केन्द्रमा तानेर सात दिनयता अनुसन्धान थालेको हो।

‘फेक इन्काउन्टर’ भनेर प्रहरीले टार्दै आए पनि मानवअधिकार आयोग र प्रत्यक्षदर्शीले नियतवस नै भएको बताउँदै आएका थिए। मानवअधिकार आयोगले एकतर्फी गोली चलाएर इन्काउन्टरको बहानामा हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। आयोगले प्रतिवेदनसहित गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई इन्काउन्टरमा सम्लग्न प्रहरीमाथि कारबाही गर्न भन्दै यसअघि पत्राचार पनि गरेको थियो। चौतर्फी दबाब र प्रहरी चर्को विवादमा फस्ने डर देखिएपछि हत्या गरेको आरोप लागेका तीन प्रहरी अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानेर आवश्यक सोधपुछ गरेको बताइएको छ। स्रोतका अनुसार पौडेल हत्यामा संलग्न रहेका प्रहरी निरीक्षक कृष्णदेव(केडी) साह र हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई मुख्यालय तानिएको छ। घटनाको सम्बन्धमा उनीहरूमाथि भित्री अनुसन्धान थालेको बताइएको छ।

‘सर्वेन्द्र खनालको कार्यकाल सकिएलगत्तै तीनजनालाई मुख्यालयमा तानिएको छ, नयाँ आइजीपीले यस सम्बन्धमा गम्भिरता देखाउनु भएको छ,’ एक स्रोतले भन्यो,’ तर कारबाही सुरु भएको छैन, तीनैजनालाई ड्युटीमा खटाइएको छ।’ मुख्यालयले इन्काउन्टरलगत्तै पनि उनीहरूमाथि सोधपुछ गरेको थियो। तर कारबाही भने अघि बढाएको थिएन। चौतर्फी विरोध हुन थालेपछि तीनैजनालाई हेडक्वाटर तानेर अनुसन्धान थालिएको हो। खनालको पालामा तीनैजना घुमुवा प्रहरीको रूपमा परिचालन गरिएको थियो। तत्कालीन आइजीपी खनालको निर्देशनमा उनीहरूले ९ राउन्ड गोली हानी पौडेलको हत्या गरेका थिए। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले भने यस सम्बन्धमा जानकारी नभएको बताए।

प्रकाशित: १४ फाल्गुन २०७६ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App