coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वसन्ता करिडोरमा रोकियो हुलाकी सडक

हुलाकी सडकअन्तर्गत पर्ने वसन्ता जैविक क्षेत्र। जहाँ रुख कटानीको आदेश नपाउँदा सडक निर्माण कार्य तीन वर्षदेखि अलपत्र छ। तस्बिर: पुष्पराज/नागरिक

कैलाली – बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि धमाधम काम भइरहँदा धनगढी–भजनी सडकखण्डको दुई किलोमिटर क्षेत्रमा भने तीन वर्षदेखि रोकिएको छ। वसन्ता जैविक मार्ग भएको भन्दै जिल्ला वन कार्यालयले रुख काटेर सडक बनाउने अनुमति नदिँदा सडक निर्माण कार्य अवरुद्ध हुँदै आएको हो।

हुलाकी सडकअन्तर्गत धनगढी–भजनी सडकखण्डको ६१ दशमलव दुई किलोमिटर सडक निर्माण कार्य २०६८ जेठबाट सुरु भएको थियो। अढाई वर्षमा सम्पन्न गर्नेगरी सुरु भएको सडक निर्माण कार्य सरकारी नीति–नियम बाझिएका कारण अहिलेसम्म सम्पन्न हुन सकेको छैन। हुलाकी सडकअन्तर्गत नौ किलोमिटरमा वनक्षेत्र रहे पनि सात किलोमिटर क्षेत्रमा रहेका रुख काटेर सडक निर्माण गरिएको थियँकी दुई किलोमिटर क्षेत्रमा रहेका रुख हटाउन वन कार्यालय, वन विभाग र वन मन्त्रालयले सहमति नदिँदा सडक निर्माण कार्य तीन वर्षदेखि रोकिएको हुलाकी सडक कार्यालयका इञ्जिनियर पदमबहादुर मडैले बताए। उनका अनुसार हुलाकी सडकको नौ किलोमिटर खण्ड वनक्षेत्रमा परेको थियो। वनक्षेत्रको सात किलोमिटर खण्डमा रहेका रुखहरू हटाएर सडक निर्माण गरिए पनि बाँकी दुई किलोमिटर क्षेत्र जैविक मार्ग भन्दै वन विभागबाट रुख काट्ने अनुमति नमिलेका कारण सडक निर्माण रोकिएको हो। ‘हामीले पटक–पटक वसन्ता जैविक मार्गको दुई किलोमिटर क्षेत्रमा रहेका रुखहरू हटाउने अनुमतिका लागि वन विभागमा पत्राचार गरेका थियौं,’ उनले भने, ‘विभागले नै वसन्ता जैविक मार्ग भएकाले त्यहाँको रुख हटाउन नमिल्ने भन्दै आएको छ।’

वनक्षेत्रको सात किलोमिटर खण्डमा रहेका रुखहरू हटाएर सडक निर्माण गरिए पनि बाँकी दुई किलोमिटर क्षेत्र जैविक मार्ग भन्दै वन विभागबाट रुख काट्ने अनुमति नमिलेका कारण सडक निर्माण रोकिएको छ।

वसन्ता क्षेत्रको रुख काटेर सडक निर्माण गर्ने सहमति नहुँदा हुलाकी सडक निर्माण समयमा सम्पन्न हुन नसकेको उल्लेख गर्दै इन्जिनियर पौडेलले भने, ‘वसन्ता क्षेत्रको दुई किलोमिटरमा रहेका रुखकै कारण सडक निर्माण कार्य अल्झिएको छ।’ यसपालि पनि हुलाकी सडक कार्यालयले वन डिभिजन हुँदै वन मन्त्रालयबाट वन विभागमा वसन्ता जैविक मार्गको रुख हटाउन सहमति दिन भन्दै फाइल पेस गरेको बताउँदै उनले भने, ‘अब भने काम हुने झिनो आशा जागेको छ।’

हुलाकी सडक निर्माणस्थलमा दुई किलोमिटर क्षेत्र वसन्ता जैविक मार्गको रहेकाले वनको नीति–नियमका कारण केही अल्झन भएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए। उनले भने, ‘जैविक मार्गकै कारण रुख कटानका लागि लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले यतिका वर्षसम्म सडक निर्माण रोकिएको हो, अब भने चाँडै हुनसक्छ।’

धनगढीस्थित डिभिजन वन कार्यालयले पहिलो चरणमा वसन्ता जैविक मार्गमा पर्ने रुखको विवरण अध्ययन गर्न अनुमति पाएको छ। वसन्ता जैविक मार्गमा पर्ने रुखको विवरण संकलन गर्न संघीय वन मन्त्रालयले डिभिजन वन कार्यालय धनगढीलाई अनुमति–पत्र पठाएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख कँडेलले बताए। उनले भने, ‘हामीलाई जैविक मार्गमा रहेका रुखहरुको विवरण संकलन गर्न अनुमति आएको छ, हामी पत्रानुसारको रुखको विवरण संकलन गरेर वन मन्त्रालयलाई पठाउँछौं।’

हुलाकी सडक कार्यालय धनगढीका अनुसार अवरुद्ध वसन्ता जैविक मार्गमा एक सय २१ वटा रुख कटानका लागि अनुमति लिनुपर्ने देखिएको छ। वसन्ता जैविक मार्ग रहेकाले सो क्षेत्रमा वन्यजन्तुलाई ओहोरदोहोर गर्न आकासे पुल तथा भूमिगत मार्ग निर्माण गर्नुपर्ने देखिएको बताउँदै उनले भने, ‘जैविक मार्गमा वन्यजन्तुको ओहोरदोहोरका लागि नै दुई किलोमिटर क्षेत्रको रुख कटानीमा समस्या देखिएको हो।’

प्रकाशित: १४ फाल्गुन २०७६ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App