८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले जबाफ दिनुपर्छ: प्रतिपक्ष

काठमाडौं – प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले संस्थागत रुपमा भ्रष्टाचारलाई बढावा दिएको भन्दै प्रतिपक्षी दलका सांसदले तीव्र आलोचना गरे भने सत्तापक्षका सांसदले बचाउ गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने प्रधानमन्त्रीको दाबीलाई पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो संवाद प्रकरणले गलत साबित गरेको बताए। सत्तापक्षीय नेकपाका सांसदले भने अडियो प्रकरणमा बाँस्कोटाको बचाउ गर्दै उनले राजीनामा दिएर नैतिकता देखाएको विषय जोडेर इतिहास हेर्न प्रतिपक्षी सांसदलाई आग्रह गरे। सुरक्षण मुद्रण मेसिन खरिद प्रक्रियामा कमिसनको मोलमोलाइ गरेको अडियो संवाद सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन्।

कांग्रेस सांसद मीनेन्द्र रिजालले बाँस्कोटाको अडियो संवाद प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जबाफ दिनुपर्ने माग गरे। कांग्रेसले प्रधानमन्त्रीकै जबाफ सुन्नका लागि अवरुद्ध गरेको सदन खुलाएको बताउँदै उनले भने, ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीले उहाँका विश्वासपात्र भनिएका सञ्चारमन्त्री बाँस्कोटाले कमिसनका लागि गरेको अडियो संवादबारे सदनमा जबाफ दिनुपर्छ। मन्त्रीले घुस माग्नुभन्दा लाजको विषय अरु के हुनसक्छ ?’ आफ्नो गुटकालाई छुट दिने र अरुलाई कारबाही गर्ने नीति प्रधानमन्त्रीले लिएको आरोप पनि रिजालले लगाए। न्यारोबडी, वाइडबडी जहाज खरिद प्रकरणबारे छानबिन नगरिएको विषयप्रति पनि उनले आक्रोश पोखे। ‘स्याटेलाइट लाइसेन्स वितरण, अप्टिकल फाइबर विस्तार, फोरजी वितरणलगायत विषयमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय भ्रष्टाचारको अखडा बनेको दाबी गर्दै उनले भने, ‘त्यसैले होला तुलोमा जोख्दा सञ्चारमन्त्री एकातिर र अरु अर्कातिर गर्दा बराबर हुन्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको।’

रिजालले चार–पाँचवटा हेलिकोप्टर लिएर जन्मघरमा जन्मदिन मनाउन जाँदा प्रधानमन्त्री ओलीले राजामहाराजाको शैली अपनाएको आरोप लगाउँदै रिजालले भने, ‘प्रधानमन्त्रीज्यू तपाईंको कम्युनिस्ट कहाँ छ ? हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी। आज थरीथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी।’

‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीले उहाँका विश्वासपात्र भनिएका सञ्चारमन्त्री बाँस्कोटाले कमिसनका लागि गरेको अडियो संवादबारे सदनमा जबाफ दिनुपर्छ। मन्त्रीले घुस माग्नुभन्दा लाजको विषय अरु के हुनसक्छ ?

रिजालको आरोपको खण्डन गर्दै सत्तापक्षका सांसद भीम रावलले भ्रष्टाचारविरुद्ध पार्टी कटिबद्ध रहेको बताए। उनले भने, ‘भ्रष्टाचारको आरोप लागेपछि पद त्याग्ने कुरा स्थापित भएको छ, बरु यसभन्दा अघि बनेका सरकारहरूले त्यो नैतिकताको महसुस गरेका थिए कि थिएनन्। भ्रष्टाचारजन्य क्रियाकलापमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाउनुपर्छ भन्न हाम्रो मान्यता छ।’

कांग्रेसका सांसद गगन थापाले भने, ‘पूर्व सञ्चारमन्त्री बाँस्कोटाको अडियो संवाद प्रकरणबारे प्रधानमन्त्रीले एक महिनाअघि सुन्नुभएको थियो रे ! यसबारे सत्य के हो आँखामा आँखा जुधाएर संसद्मा जानकारी दिनुहोस्। प्रधानमन्त्रीले यस अवस्थामा तालतलैया हेरेर बस्ने होइन, संसद्मा जबाफ दिन आउनुहोस्, निम्छरो शब्द होइन्, सही प्रश्न सोधिन्छ।’ बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्री ओलीको शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको स्पष्ट भएको बताए। उनले भने, ‘प्रधानमन्त्रीज्यू नेपाल कम्युनिस्ट पार्टी र सिंगो नेपालको स्वास्थ्य लाभ गर्न गइदिनुहोस्।’ एक व्यक्तिलाई प्रधानमन्त्री बनाउन सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउन लागेको विषयमा पनि उनले आपत्ति जनाए।

समाजवादी पार्टीकी सरिता गिरीले मुलुकमा विधिको शासन नभएको भन्दै प्रतिपक्षीले भ्रष्टाचारको विषयमा कुरा उठाउँदा सरकारले प्रतिक्रियावादी ठानेको बताइन्। बाँस्कोटाको अडियो संवाद प्रकरणपछि अख्तियारले सञ्चारमन्त्रीको घरमा छापा मारेको भन्दै उनले भनिन् ‘अख्तियारले कागजात छापा मा-यो कि नष्ट ग-यो ?’ उक्त अडियो संवादबारे प्रधानमन्त्रीले सदनमा जबाफ दिनुपर्ने र संसदीय छानबिन समिति पनि गठन गर्नुपर्ने माग उनले गरिन्। उनले नेकपाको समाजवाद कमिसनबिना टिक्न नसक्ने बताइन्।

राजपाका सांसद प्रमोद साहले प्रधानमन्त्रीको विश्वासपात्र गोकुल बाँस्कोटाले मन्त्रीको हैसियतमा घुस मागेको विषयमा पान पसल, चिया पसल, चोक– चोकमा चर्चा भएको बताए। बाँस्कोटाको अडियो संवादले प्रधानमन्त्री पनि शंकाको घेरामा परेको चर्चा गर्दै उनले भने, ‘सदनमा तपाईं (प्रधानमन्त्री) माथि उठेका प्रश्नको जबाफ माग गर्न चाहन्छु। तपाईंको जबाफपछि मात्रै सदन विश्वस्त हुन्छ।’ उनले संविधान संशोधन एउटा व्यक्तिका लागि गर्न नहुने बताए। नेकपा सांसद पार्वती विशुन्केले व्यक्तिले भ्रष्टाचार गरेको कुरालाई लिएर पार्टीले ग-यो भनेर प्रचार गर्न नमिल्ने बताइन्। उनले २०४८ सालदेखि अहिलेसम्म भएका भ्रष्टाचारको छानबिन गर्न माग गरिन्।

प्रधानमन्त्रीज्यू, स्वास्थ्यलाभ गर्न गइदिनुहोस्: गगनकुमार थापा
सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीच घुस लेनदेनको वार्तालापको अडियो फागुन ९ गते सार्वजनिक भयो। यो अडियो प्रधानमन्त्रीज्यूले एक महिनाअघि सुन्नुभएको अनुमान होइन दाबी नै सञ्चारमाध्यममा आयो। यसबारे संसद्मा आएर, उभिएर, आँखामा आँखा जुधाएर नागरिक र हाम्रा प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग छ कि छैन ? प्रधानमन्त्रीज्यूसँग हिम्मत छ कि छैन मलाई थाहा छैन। सभामुख महोदय, संसद्सँग यो हिम्मत हुनुपर्छ। संसद्ले यो सामाथ्र्य राख्नैपर्छ। सम्माननीय प्रधानमन्त्रीज्यू डाँडाकाँडा, तालतलैया हरेर बस्ने होइन सदनमा आउनुपर्छ। यहाँ उभिनुपर्छ। हाम्रा प्रश्नको सामना गर्नुपर्छ। यहाँबाट उहाँलाई निम्छरो होइन सही प्रश्न सोधिन्छ। सम्माननीय सभामुख महोदय, प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न आग्रह गर्न चाहन्छु। प्रधानमन्त्रीज्यूले के भन्नुहुन्छ मलाइ थाहा छैन, उहाँका आसेपासेले थाहा थिएन भनेका छन्। प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा बाँस्कोटाबाहेक अरु कसैले नभ्याउने। अनि प्रधानमन्त्रीकै भनाइमा काभ्रेले अहिलेसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली पनि उहाँ नै हुनुहुन्छ। उनै प्रतिभाशालीको अडियो संवादलगायत विषयमा प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याउनुपर्ने ? पत्याउने हो भने हाम्रो प्रश्न रहन्छ– सबैकुरा तपाईंलाई थाहा छैन भने प्रधानमन्त्रीजी तपाईलाई के थाहा छ ? यो सेक्युरिटी प्रिन्टिङ प्रेसको मात्रै कुरा होइन फोरजी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापनालगायतमा ठेक्काबारे सबै कुरा थाहा भए पनि अहिले परिस्थिति नियन्त्रण बाहिर गएपछि बाँस्कोटा बलिको बोको भएको भनेर नागरिकले सोधिरहेका छन्।

प्रधानमन्त्रीज्यू, तपाईंले पटकपटक भ्रष्टाचारीको अनुहार हेर्दिनँ भनेर दोहो-याउनु भयो। तर नागरिकहरु तपाईंलाइ प्रश्न गर्दैछन्– बालुवाटारमा ऐना छ कि छैन भनेर। प्रधानमन्त्रीज्यू, तपाईंको पार्टीका कार्यकर्ता ठूलो स्वरले बोल्न सक्दैनन्। तर यही संसद्को लबीमा भेट्दा मसिनो स्वरले हामीलाई कानेखुसी गरेर भन्छन्– हाम्रो प्रधानमन्त्री पहिले पहिले माक्र्ससवादी जस्तो देखिनुहुन्थ्यो, बीचमा समाजवादी जस्तो देखिन थाल्नुभयो, आजभोलि यताबाट हेरे पनि उताबाट हेरे पनि यतीवादी मात्रै देखिनुहुन्छ। प्रधानमन्त्रीज्यू, यो कुरा तपाईंलाई थाहा छ ?’

प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा छ। एमसिसी प्रकरण सन्दर्भमा तपाईंको पार्टीभित्रका खाटी राष्ट्रवादीले तपाईंलाई जसरी तह लगाइदिएका छन्। अहिले जति जालझेल गरेर होइन, होइन भने पनि तपाईंको पार्टीको बैठकमा एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरालाई लिएर संविधान संशोधन प्रस्ताव तयार गर्ने कार्यदल बनाउने कुरामा तपाईं कमजोर देखिनु भयो। त्यो देखेपछि तपाईंलाई बाहिर के भन्छन् थाहा छ। देखिँदा सुरो, यथार्थमा विचरो भन्दैछन्। प्रधानमन्त्रीज्यू तपाईंलाइ थाहा छ।

सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंको जन्मदिन बारेमा चर्चा गर्न चाहन्न। यो नितान्त व्यक्तिगत कुरा हो। मेरो तपाईंलाई पनि शुभकामना छ। तर नागरिक के भन्दैछन्। तपाईंलाई थाहा छ ? सम्माननीय प्रधानमन्त्रीको उत्सवका साथ मनाइएको जन्मदिनले २०६० र २०६१ सालका राजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ। पूर्वराजा यसैगरी हिँडिबक्सन्थ्यो, सबै अभिनन्दन गराउन लगाइबक्सन्थ्यो, विद्यार्थीलाई बोलाइबक्सन्थ्यो, सबैले जयजयकार गर्थे। अनि आफ्नो छेउका भारदारलाई सोधिबक्सन्थ्यो, एकदुईजना मानिस यताउता विरोध गरिरहेका छन् नि। अनि भारदारले भन्थे– महाराज सब ठिक छ। एक–दुईजना केही मानिसले मात्र महाराजको विरोध गरेका छन्। प्रधानमन्त्रीज्यू, त्यो जन्मोत्सव मनाउँदै गर्दा तपाईंको वरिपरि जे जस्तो भीडभाड देखियो, तँछाडमछाड देखियो। यो देख्दा प्रधानमन्त्रीको वरिपरि रहेकाले पूर्वराजा ज्ञानेन्द्रको भारदारको न्यास्रो पनि हामीलाई मेटाइदिएका छन्। प्रधानमन्त्रीज्यू, तपाईंलाई के थाहा छ, के थाहा छैन, थाहा पाउनु पनि छैन तर मलाई यति मात्र कुरा थाहा छ– तपाईंले यी सबै कुरा थाहा पाउनुभएको छ तर थाहा नपाएको जस्तो गर्नुभएको छ भने त्यो पाप हो। तपाईंलाई केही पनि कुरा थाहा नभएको भए त्यो अक्षमता हो। संख्या तपाईंसँग होला प्रधानमन्त्रीजी तर यी दुवै अवस्थामा शासन गर्ने वैधानिकता, योग्यता तपाईंले गुमाउनुभएको छ। नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यका लागि, सिंगो देश नेपालको स्वास्थ्यका लागि तपाईं स्वास्थ्यलाभ गर्न गइदिनुहोस्।

प्रकाशित: १४ फाल्गुन २०७६ ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App