coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सातै प्रदेशको भाषा–साहित्य अनुसन्धान गरिँदै

इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको नेपाली विभागले आयोजना गरेका अन्तरक्रियामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीलगायतका सहभागी । तस्बिर: भीम/नागरिक

इलाम- नेपाली भाषा र वर्णविन्यासबारे विगतमा देखिएको विवाद समाधान भइसकेको नेपाल प्रज्ञा प्रतिष्ठानले दाबी गरेको छ। बृहत नेपाली शब्दकोषको दशौं संस्करणमा सबैको सहमति रहेकाले लामो समयदेखिको विवाद अन्त्य भएको प्रतिष्ठानको भनाइ छ।     

नेपाली बृहत शब्दकोषको दशौं संस्करणअनुसार वर्णविन्यास प्रयोग गर्न सबैको सहमति रहेको प्रतिष्ठान सदस्य प्रा.डा.हेमनाथ पौडेलले बताए। सदरमुकाममा मंगलबार आयोजित कार्यक्रममा उनले भने, ‘वर्षविन्यासबारे मतान्तर थियो, दशौं संस्करणको शब्दकोषमा सबैको सहमति भएसँगै विवाद अन्त्य भएको छ।’ उनले करिब ३ महिनाभित्र शब्दकोषको मोबाइल एप्लिकेसन पनि आउने बताए। अंग्रेजी शब्दमा जस्तै नेपाली शब्दको पनि कम्प्युटरमा हिज्जे जाँच गर्ने प्रणाली विकास गरिँदैछ। नेपाली शब्दको किबोर्ड प्रयोगमा आउन थालेको उनले जनाए।

प्रतिष्ठानले सातै प्रदेशमा भाषा र साहित्यको बृहत अनुसन्धान परियोजना सञ्चालन गर्न लागेको छ। ‘प्रतिष्ठानले सबै प्रदेशको भाषा, साहित्यको प्रोफाइल तयार गर्न लागेको छ,’ उनले भने, ‘नेपाली साहित्यको विधागत इतिहासबारे पनि अध्ययन हुनेछ।’

सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको नेपाली विभागले आयोजना गरेको ‘वर्तमान समयमा नेपाली साहित्यको विकास र प्रवृत्ति’ विषयक अन्तरक्रियामा प्रतिष्ठानका कुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीले राजनीतिले व्यवस्था र साहित्यले संस्कृति बदल्नुपर्ने बताए। संस्कृति नबदलिएसम्म राजनीतिक परिवर्तनको अर्थ नरहने उनको भनाइ थियो।

‘इतिहासले स्रष्टालाई अहिले के जिम्मेवारी दिएको छ भन्ने विषय ज्यादै महत्वपूर्ण छ,’ उनले भने, ‘राजनीतिक परिवर्तनको यात्रालाई साहित्यकारले सही दिशामा नलगेसम्म सांस्कृतिक परिवर्तन हुँदैन।’ कुलपति उप्रेतीले साहित्यको इतिहास नै समाज रुपान्तरणसँग जोडिएकाले राजनीतिक अवस्थाले साहित्य सिर्जनामा प्रत्यक्ष प्रभाव पार्ने बताए। उनले सुगौली सन्धिअघिको वीरधाराकाल सन्धिपछि भक्तिधारा, प्रेम र धार्मिक विश्वासतिर लागेको बताए।

कुलपति उप्रेतीले देशको तागत, सामथ्र्य र सम्भावना चिनेर त्यसैअनुसार साहित्यकारले समाजलाई डोर्‍याउनुपर्ने सुझाए। ‘अहिले राजनीतिक परिवर्तन फराकिलो भएको छ तर सांस्कृतिक परिर्वतन आउन सकेको छैन,’ उनले भने, ‘सांस्कृतिक परिवर्तनको बाटो छोटो हुँदैन। तर, साहित्यकारले बारम्बार खबरदारी र मार्गदर्शन गरिरहनुपर्छ।’ अहिले जसले जे वर्णन गरेपनि देश चाहिँ अग्रगमनकै यात्रामा रहेको बताए। ‘सरकार परिवर्तन हुँदैमा व्यवस्था परिवर्तन हुँदैन,’ उनले भने, ‘जुन सरकार आएपनि हामीले सबैको हित हुनेखालको सांस्कृतिक परिवर्तनमा सघाउनुपर्छ। देश अहिले निरस होइन, आसलाग्दो बाटोमै छ।’

प्रतिष्ठान सदस्य देवी नेपालले उमेर र विचारले साहित्य सिर्जनामा फरकपन ल्याउने बताए। ‘एउटै वस्तुको बारेमा कविता लेख्नुपर्‍यो भने बालक, युवा, प्रौढ र ज्येष्ठ नागरिकको सिर्जना फरक–फरक नै हुन्छ,’ उनले भने, ‘व्यक्तिको राजनीतिक विचारसमेत साहित्यमा झल्किन्छ।’ त्यस अवसरमा कविहरू विमल वैद्य, सोम निरौला र इन्द्रनारायण सुवेदीले आ–आफ्ना कविता सुनाए।



    

प्रकाशित: १३ फाल्गुन २०७६ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App