८ वैशाख २०८१ शनिबार
समाज

अढाई वर्षको योजना डेढ वर्षमै सक्ने लक्ष्य

त्रियुगा बसपार्कमा निर्माणाधीन टर्मिनल भवन । तस्बिरः महेश्वर

उदयपुर- देशका बिभिन्न ठाउँका ठूला विकास निर्माणका योजनाहरु म्याद नाघेर अलपत्र परेको अवस्थामा उदयपुर सदरमुकाममा निर्माणाधीन प्रदेशस्तरीय नमूना बसपार्कको काम सम्झौता अवधिअगावै सक्ने लक्ष्यका साथ अघि बढिरहेको छ। त्रियुगा नगरपालिका ३ र १२ बीचको साविक त्रियुगा बसपार्कमै निर्माणाधीन स्तरोन्नतिसहितको बसपार्क सम्झौता म्यादअगावै सक्नेगरी काम भइरहेको छ।

अत्याधुनिक बसपार्क अढाई वर्षभित्र बनाइसक्ने गरी गत असार ३१ गते सम्झौता भए बमोजिम टर्मिनल भवन गत कात्तिक अन्तिमदेखि सुरु भएको हो। ३० कोठे अढाईतलाको भवन चालु आर्थिक वर्षभित्रै सक्नेगरी काम भइरहेको निर्माणको रेखदेखको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीले जनाएको छ। सघन कार्यालय प्रमुख (डिई) रमेश थिङले बसपार्कको मध्यभागमा चाहिने अढाईतल्ले आधुनिक टर्मिनल भवन सुरु भएको ३ महिनाम फाउण्डेसन (डिपिसी) सकेर पहिलो तल्लाको ढलान गर्ने तयारी भईरहेको बताए।

उनका अनुसार निर्माण कम्पनी रमण÷आईएसएमडी जेवीले बसपार्क बनाउने जिम्मा पाएर असार अन्तिम साता सम्झौता गरेकोमा दसैं तिहारले गर्दा कात्तिक अन्तिमदेखि मात्र काम थालेको थियो। तर, अहिलेको कामको रप्mतार हेर्दा म्यादभन्दा आधा समयअगावै भवन सक्ने लक्षण देखिएको छ। जेवीका परियोजना प्रबन्धक (पिएम) प्रमोद यादवले थालेको १ वर्षदिनभित्रै भवन सक्ने लक्ष्यका साथ काम गरिरहेको बताए।

‘आउँदो ०७८ पुुसभित्र बसपार्कको सबै काम सकेर हस्तान्तरण गनुपर्ने सम्झौता छ’ प्रबन्धक यादवले भने ‘तर, हामी म्यादभन्दा कम्तीमा ६ महिनाअघि नै सकेर बुझाउने उद्देश्यसका साथ तीव्र गतिमा काम गरिरहेका छौं।’ ३ महिनाको अवधिमा भवनको झण्डै २० प्रतिशत काम भईसकेको उनको भनाई छ। मुख्य काम भनेको फाउण्डेसन र पिल्लर उठाउने काम छिटो सकिएकाले पहिलो तल्लाको ढलान फागुनभित्रै गरिसक्नेगरी तयारी भईरहेको उनले बताए। टर्र्मिनल भवनको काम वर्षदिनभित्रै सक्ने र अन्य संरचना पनि सँगसँगै बनाउने योजना निर्माण कम्पनीको छ।

जेवीले लागत इस्टीमेटभन्दा ३४ प्रतिशत कम मूल्यमा ठेक्का लिएकाले पनि काम छिटो गर्नुपर्ने चटारो परेको जनाएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १९ करोड २५ लाख लागतको बसपार्क जेवीले ३४ प्रतिशत कम मूल्यमा भ्याट बाहेक १२ करोड ४९ लाखमा बनाउने गरी सम्झौता गरेको छ।

शिलान्यासको ३ महिनामै झण्डै २० प्रतिशत काम हुनुले यो योजना अपेक्षाभन्दा छिटो सकिने निश्चित रहेको डिई थिङ बताउँछन्। यसरी छिटो काम भएमा ठेकेदार र सरकार दुवैलाई फाईदा हुने डिई थिङको बुझाई छ।

सघन कार्यालयका इन्जिनियर ब्रम्हदेव चौधरीले बसपार्कमा गाडी पर्खन व्यवस्थित र फुलबारीयुक्त यात्रु प्रतिक्षालय (वेटिङ सेड) बनाउने इस्टीमेट रहेको बताए। उनका अनुसार बिग्रेका गाडी मर्मत गर्न आधुनिक उपकरणयुक्त ग्यारेज (सर्भिस सेन्टर) बसपार्कभित्रै निर्माण गरिनेछ। यात्रुको सुविधालाई लक्षित गरी खाजा घर (क्यान्टिन) र उपभोग्य सामान बेच्न ‘सपिङ कवल’हरु पनि बसपार्कमा निर्माण गर्ने इस्टटीमेट रहेको इन्जिनियर चौधरीले बताए।

सघनकै साईट इन्जिनियर राजेश चौधरीका अनुसार बसपार्कमा महिला–पुरुष तथा अपाङ्गता भएकाहरुका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय पनि बनाइनेछ। आपराधिक घटना हुन नदिन, पाकेटमार र गुण्डागर्दी हुनबाट यात्रुलाई बचाउन बसपार्कमा क्लोज सर्किट (सिसी) क्यामेरा जडान गर्ने इस्टीमेट पनि रहेको इन्जिनियर चौधरीले बताए। त्रियुगा नदी उकासको जमिनमा निर्माणाधीन बसपार्कको दक्षिणतर्फ बगिरहेको त्रियुगा नदीबाट बचाउन ५ सय मिटरभन्दा लामो पक्की तटबन्ध पनि बाँधिने छ भने बाँध उकासमा आकर्षक फूलबारी बनाउने योनजा छ।

 

प्रकाशित: १३ फाल्गुन २०७६ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App