८ वैशाख २०८१ शनिबार
समाज

विद्यार्थीले बनाए रोबोट र जेनेरेटर

विद्यालयको वार्षिकउत्सवमा आफूहरुले बनाएको विज्ञान सामग्री प्रर्दशनी गर्दै विद्यार्थी । तस्बिर : गोविन्द/नागरिक

दैलेख– गुरासँ गाउँपालिका–३ पातिकाल्लास्थित सरस्वती माध्यमिक विद्यालयको २९ औं वार्षिक उत्सवमा विद्यार्थीहरुले कलात्मक विज्ञान सामग्रीहरु देखाएर सबैलाई चकित पारेका छन्। उनीहरुले रोबोट, कार, जेनेरेटर, डोजरलगायतका सामाग्रीहरु बनाएर देखाएका थिए। ब्याट्री जोडेर उनीहरुले कार पनि गुडाए।

त्यस्तै उनीहरुले सुईबाट सलाईनको पाईप जोडेर डोजर चलाएर देखाए। त्यतिमात्रै नभएर उनीहरुले पंखा घुमाएर त्यसबाट उत्पन्न घर्षणले बत्ति बालेर सबैलाई प्रयोगात्मक रुपमा देखाएका थिए। अझ उनीहरुले कार्यक्रममा आएका अतिथिहरुलाई रोबोटबाटै  स्वागत भाषण गराएर कार्यक्रम सुरुवात गरे। रोबोटले हात र मुख स्वागत भाषणअनुसार चलाएर सबैलाई चकित बनायो। रेकर्ड गरिएको भाषण रोबोटले गरेको ईसाराअनुसार सुनाउँथ्यो। कार्यक्रममा सहभागी प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद रविन्द्रराज शर्मा रोबोटबाट स्वागत भाषण सुन्दा दंग परे। विद्यार्थीहरुले आफ्नो विज्ञान कला मार्फत त्यस्ता सामग्रीहरु प्रर्दशनीमा राखेका थिए।

यमन भट्टराई र एलिस भट्टराईले ति सामग्रीहरु बनाएका थिए। २०४८ सालमा स्थापना भएको सरस्वती माध्यमिक विद्यालयले पहिलो पटक वार्षिकोत्सव भब्य रुपमा मनाएको हो। २९ औं स्थापना दिवसको अवसरमा विद्यालयलाई सिंगारिएको थियो। कार्यक्रमलाई सफल बनाउन शिक्षकहरुले विभिन्न विभागको जिम्मा लिएका थिए। उत्सवमा विद्यार्थीहरुले विभिन्न थरिका नाचहरु प्रस्तुत गरेका थिए।

दुई हप्ताअघिदेखि विद्यालयको उत्सवका लागि तयारी गरिएको जनाइएको छ। पहिलो पटक वार्षिकोत्सव मनाउन लागेको विद्यालयका प्रधानाध्यापक प्रेमलाल पुरीले बताए। वार्षिकोत्सव विद्यालयले पूर्व प्रधानाध्यपकहरु, विद्यार्थीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु तथा विद्यालय स्थापनाका लागि प्रत्यक्ष संलग्न शिक्षाप्रेमीहरुलाई सम्मान गरेको थियो।

 

प्रकाशित: १३ फाल्गुन २०७६ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App