coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शेखर कोइरालाको प्रश्न : संसद बैठक चल्न दिने निर्णय किन भयो ?

दाङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले गोकुल बास्कोटा प्रकरणमा नेपाली कांग्रेसले गरेको संसद अवरोध फुकुवा गर्ने निर्णयको बिरोध गरेका छन्।

कांग्रेसले सोमवार संसद अवरोध नगर्ने निर्णय गरेको थियो। मंगलवार नेपाली कांग्रेस दाङले गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले संसद अवरोध गर्ने निर्णयबाट किन नेतृत्व पछि हटेको भन्दै प्रश्न गरे। ‘जतिबेला संसद अवरोध गर्नु पर्ने हो, त्यतिबेला संसद अवरोध नगर्ने भनेर पार्टीले निर्णय गर्छ,’ उनले भने ‘सेक्यूरिटि प्रिन्टिङ प्रेस खरिद प्रकरणको बिरोधमा संसद अवरोध नगर्ने निर्णय किन आयो ? मलाई अचम्म लागिराछ।’ पार्टी उपसभापति विजय कुमार गच्छेदारमाथि लगाईएको मुद्धाका बिषयमा गरिएको संसद अवरोध र फूकुवाको निर्णयका बारेमा पनि उनले असन्तुष्टि जनाए।

‘गच्छेदारमाथि लगाईएको मुद्धाका बिषयमा तीन दिन सम्म संसदको बैठक कांग्रेसले अवरोध गर्यो,’ उनले भने ‘तर तीन दिन पछि एकाएक संसद अवरोध नगर्ने भनेर निर्णय आयो, कित अवरोध गर्दै नगर्नु , गरेपछि एकाएक किन अर्को निर्णय गर्ने?’ कांग्रेसको यहि कमजोर निर्णयका कारण जनता कांग्रेस प्रतिको विश्वासबाट बिमुख बन्दै गएको कोइरालाको भनाई छ।

आँफू केन्द्रीय सदस्य भएपनि जहिल्यै आँफू अल्पमतमा पर्ने गरेको उनको भनाई थियो। ‘तपाईहरुले भन्नु होला तपाई पनि केन्द्रीय सदस्य , यसमा तपाईको पनि जिम्मेवारी हो,’उनले कार्यकर्ताहरुलाई भने ‘पार्टी केन्द्रीय समितिमा जहिल्यै बहुमत र अल्पमतको आधारमा निर्णइ हुन्छन्, म जहिल्यै अलपमतमा पर्छु।’ कोईरालाले नेपाली कांग्रेस कमजोर नभई नेतृत्वको मानसिकता कमजोर भएको बताए। ‘कांग्रेसलाई जव जव अप्ठेरो पथ्र्यो, विपी, गिरीजा लगाएतका पुराना नेताहरु गाउँ जानुहुन्थ्यो,’उनले भने ‘तर अहिले जब कांग्रेसलाई अप्ठेरो पर्छ, कांग्रेस केन्द्रमा सिमित रहन्छ, यसले गर्दा कांग्रेस कमजोर भएको हैन, नेतृत्वको मानसिकता कमजोर भएको हो।’ उनले यसलाई पार्टी नेतृत्वको अकर्मण्यता समेत भने। ‘नेतृत्वको अकर्मण्यताले सबै कांग्रेसीहरुलाई कमजोर महशुस गराएको छ,’उनले कार्यकर्ताहरुलाई भने ‘तपाईहरुले कुनै नेतताहरुसंग आँखा जुधार बोल्न सक्नुहुन्न,कांग्रेस जस्तो पार्टीभित्र यस्तो किन भयो ?’  नेतृत्वले विधानलाई समेत उलंघन गरेको भन्दै तीनजना नेताको भागवण्डाकै आधारमा पार्टीलाई अघि बढाउन खोजेको आरोप लगाए।

यसैगरि नेतृ सुजाता कोईरालाले कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाउनका लागि आँफूहरु जिल्ला दौडाहमा रहेको बताईन्। उनले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई गुट उपगुटमा नरहि सिंगो कांग्रेसलाई मजवुत बनाउन लागि पर्न सुझाव दिईन्। यसैगरि अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेस भित्र तीनथरी विचार हाबी भएका कारण कांग्रेस कमजोर बनेको बताए। सत्तामा गईहाल्ने वा बसिरहने मानसिकता प्रमुख रुपमा हाबी भएको उनको भनाई थियो। यसैगरि विधान जे सुकै भएपनि भागवण्डा मिलेपछि सबथोक हुन्छ भन्ने अर्को मानसिकता कायम रहेको र गुटवन्दी बनाएर आँफू हावी हुन अर्को गलत मानसिकताका कारण कांग्रेस कमजोर बनेको टिप्पणी गरे।

 

प्रकाशित: १३ फाल्गुन २०७६ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App