१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शेर्पा समुदायमा ग्याल्बो ल्होसारको रौनक

काठमाडौं – शेर्पा समुदायले २१४७ औँ ग्याल्बो ल्होसार विभिन्न कार्यक्रम गरेका छन्। शेर्पा समुदायकोे संस्था हिमालयन सांस्कृतिक केन्द्रले ‘ल्होसार गुथुक साँझ’ कार्यक्रम गर्दै ल्होसार मनाएको हो। ल्होसारका अवसरमा सोमबार ह्यात चौर चुच्चेपाटीमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले हप्तादिनसम्म यो पर्व मनाउने बताए।

विभिन्न कार्यक्रम तथा भेट्घाट गरेर ल्होसार पर्व मनाइने उनको भनाइ थियो। ग्याल्बो ल्होसार एक दिन मात्रै भएपनि शेर्पा समुदायमा पूजापाठ महिनादिनसम्म चल्ने बताए। ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन समेत छ। शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन्।

शेर्पा समुदायले बुद्ध धर्ममा विश्वास राख्ने हुनाले पहिलो दिन ‘ल्होसार’ यसमा बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्। दोस्रो दिन ‘परिवार ल्होसार’ यसमा पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ। तेस्रो दिन ‘धर्मपाल ल्होसार’ यसदिन बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपालको पूजा गर्छन्।

शेर्पा समुदायले ग्याल्पो ल्होसारलाई विशेष पर्वमा रूपमा मनाउँदै आएका छन्। ल्होसारका अवसरमा विभिन्न कलाकारद्वारा सांस्कृतिक प्रस्तुतिका साथै अन्य कार्यक्रम सञ्चालन गरिएको थियो। शेर्पा जातिका खानाका परिकार खाप्से, गुथुक, रिलदुक, फिल्गीलगायतका बनाएर पूजा गर्ने गरेको उनीहरू बताउँछन्।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हिमालका शेर्पाले विभिन्न हिमाल चढेर नेपालीको नाम विश्वमा चिनाउन सफल भएको बताएका थिए। शेर्पा समुदायको विशेष पर्वको अवसरमा रहेको ल्होसारले नेपालको संस्कृति विकासमा सहयोग गर्दै आएको उनको भनाइ थियो। यसलाई सबैले सम्मानसमेत गरेको उनले बताए।

आफ्नो धर्म संस्कृतिलाई बचाउन कार्यक्रम सफल भएको पूर्वप्रधानमन्त्री भट्टाईको दावी थियो। शेर्पा समुदायको ल्होसारको अवसरमा शुभकामना दिँदै उनले सबै जातजातिको चाडपर्वलाई सम्मान गर्नुपर्नेमा जोड दिए। शेर्पालगायत अन्य विभिन्न जातिको मौलिक संस्कृतिको संरक्षणमा राज्यले फरक किसिमले नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो।

यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाले आदिवासी जनजातिको भाषा, संस्कृतिको प्रवद्र्धनका लागि संघर्ष गर्दै आएको बताए। नेपालका सम्पूर्ण चाडपर्वलाई समान मान्यता दिनुपर्ने उनको भनाइ थियो। दशैं तिहारजस्तै ल्होसारमा पनि सार्वजनिक विदा दिनुपर्ने उनको माग थियो।

यसैबीच ग्याल्बो ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीबीच सहिष्णुता, समझदारी र भाइचाराको भावना अभिवृद्धि गर्न ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएकी छन्। ल्होसारका अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेतालगायत विभिन्न राजनीतिक दलका नेताहरूले पनि शुभकामना दिएका छन्।

प्रकाशित: १३ फाल्गुन २०७६ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App