coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्मचारी र वडाध्यक्ष नेतृत्वविरुद्ध

दाङ – तल्लो तहका कर्मचारीमाथि नेतृत्वले ज्यादती गरेको भन्दै लमही नगरपालिकामा विवाद चुलिएको छ। नगरपालिकाको यही कार्यशैलीका कारण नगरका वडा तथा नगरपालिकामातहतका सबै कर्मचारीहरू नगरपालिका नेतृत्वविरुद्ध उभिएका छन्। उनीहरूले नगरपालिका नेतृत्वको ज्यादतीविरुद्ध आन्दोलनसमेत थालेका छन्।

पछिल्लोपटक नगरपाालिकाले एक जना कर्मचारीलाई बर्खास्त र अन्य दुई जनालाई जबरजस्ती सरुवा गरेपछि नगरपालिकाभित्रको विवाद चुलिएको हो। नगरपालिकाले पुष्पराज अधिकारीलाई बर्खास्त ग भने रविन्द्र क्षेत्री, गौरवकुमार लामिछानेलाई सरुवा गर्ने निर्णय गरेको छ। बर्खास्त गरेको भनिएका कर्मचारी अधिकारीका अनुसार खासमा नगरपालिकाले सिपमुलक तालिमका लागि सञ्चालन गरेको टेन्डर प्रक्रियाका विषयमा उत्पन्न सामान्य समस्याका कारण विवाद चुलिएको हो। ‘अरू ठूलो विषय केही हैन, टेन्डर प्रक्रियामा आफूनिकटलाई नपारेको भनेर हामीमाथि नियतवश कारबाही गरिएको हो,’ अधिकारीले भने, ‘२० लाख रुपैयाँको उक्त कार्यक्रम आफू निकटका व्यक्तिलाई पार्ने योजना तुहिएको झोंकमा यो षडयन्त्र बुनिएको हो।’

आन्दोलनरत कर्मचारी तथा वडाध्यक्षहरूले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी यसको मुख्य योजनाकार रहेको दाबी गरेका छन्। उनले लामो समयदेखि नगरपालिकामा आफूलाई शक्तिकेन्द्रमा राखेर तल्लो तहका कर्मचारीमाथि अन्याय गर्दै आएको एक कर्मचारीले बताए। ‘म पहिले नगरपालिकाभित्रै कार्यरत थिएँ तर उहाँले मलाई राम्रो नमान्ने भएका कारण वडा कार्यालयमा सरुवा गर्नुभयो,’ ती कर्मचारीले भने, ‘आफूअनुकूल नभएका हरेक कर्मचारीका लागि उहाँ (प्रमुख प्रशासकीय अधिकृत) तानाशाह बनेर उभिनुहुन्छ।’ डाँगीकै योजनाअनुसार कयौं करार कर्मचारीले जागिर छोड्नुपरेको उल्लेख गर्दै ती कर्मचारीले थपे, ‘सँगै रहेर काम गर्न नसकिने अवस्था भएपछि कतिपय कर्मचारी साथीहरू जागिरै छोडेर बस्नुभएको छ।’

नगरपालिकामा अधिकृत डाँगी आएदेखि अहिलेसम्म १९ जना कर्मचारी जागिरबाट बर्खास्त तथा सरुवा आतंकमा परेको ती कर्मचारीले बताए। ‘आज एउटा शाखामा काम गरिरहेको कर्मचारी उहाँको स्वार्थकै कारण भोलि अर्को शाखामा पुग्छ,’ उनले भने, ‘उहाँले जसरी चाह्यो त्यसैगरी कर्मचारीहरू नाच्नुपर्ने अवस्था सिर्जना भएको छ।’

प्रमुख प्रशासकीय अधिकृत डाँगीका कारण कर्मचारीलाई तनाव सिर्जना भएको भन्दै आन्दोलित कर्मचारीले उनको सरुवा माग गरेका छन्। उनको तत्काल सरुवा हुनुपर्ने पक्षमा नगरपालिका तथा वडा कार्यालयमा कार्यरत कर्मचारीका साथै वडाध्यक्षहरू पनि छन्। उनको सरुवाका लागि राजनीतिक दबाब वडाध्यक्षहरूको टोली आइतबार काठमाडौं गएको छ। ‘हामीले ज्यादती रोक्नका लागि अल्टिमेटम दिएका छौं,’ एक कर्मचारीले भने, ‘यदि माग पूरा नभए अझ कडा रूपमा प्रस्तुत हुनेछौं।’

नेपाल निजामती कर्मचारी युनियन दाङले पनि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीको ज्यादतीका कारण कर्मचारीको जागिर खोसिने तथा अनावश्यक तनाव सिर्जना भएको ठहर गर्दै कर्मचारीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। ‘प्रमुख प्रशासकीय अधिकृत डाँगीले कर्मचारीहरूको हकहितविपरीत हुनेगरी कर्मचारीलाई जबरजस्ती सरुवा–पत्र थमाउने तथा जागिरबाट निष्कासन गर्ने जस्ता कदमप्रति ध्यानाकर्षण भएको छ,’ युनियनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कर्मचारीहरूलाई नियमविपरीत गरिएको कारबाही फिर्ता लिन आग्रह गर्दछौं।’ यसैगरी, नेपाली कांग्रेसले पनि नगरपालिकाबाट कर्मचारी निष्कासन गरेको घटनाप्रति विरोध जनाएको छ। कांग्रेस लमही नगर समितिले प्रमुख प्रशासकीय अधिकृतको ज्यादती बढेको भन्दै आफू कर्मचारी भएर अन्य कर्मचारीलाई सम्मान गर्न सुझाव दिएको छ। पाँच नम्बर प्रदेश स्तरीय साविक स्थानीय निकाय अस्थायी, करार तथा ज्यालादारी कर्मचारी हकहित प्रवद्र्धन समितिले पनि कर्मचारीहरूप्रति गरिएको व्यवहारको निन्दा गरेको छ।

यता, आफूमातहतका कर्मचारीमाथि ज्यादती गरेको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृत डाँगी यस विषयमा आफू केही नबोल्ने भन्दै पन्छिए। उनले यो विषय आफूसँग सम्बन्धित विषय नभएको भन्दै थपे, ‘यो कुरा मलाई हैन, मेयर’साबलाई सोध्नुस्। यो मसँग सम्बन्धित विषय होइन।’

मेयर कुलप्रसाद केसीले भने नगरपालिकाले कर्मचारीलाई गरेको कारबाही जायज भएको प्रतिक्रिया दिएका छन्। उनले पत्रकार सम्मेलन गर्दै कर्मचारीहरूले विधि मिचेर गरेका कामलाई सही मान्न नसकिने बताए। उनले कर्मचारीहरूमाथि गरिएको कारबाही फिर्ता नहुने अडानसमेत लिएका छन्।

प्रकाशित: १३ फाल्गुन २०७६ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App