७ वैशाख २०८१ शुक्रबार
समाज

‘चालकलाई दोष दिने प्रतिवेदन अमान्य’

पोखरा – नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडक दुर्घटनाको दोषी चालकलाई मात्रै देखाएर प्रतिनिधिसभाको विकास समितिले प्रतिवेदन बनाएको भन्दै आपत्ति जनाएको छ। संगठनको पोखरामा बसेको बैठकले हचुवाको भरमा ९० प्रतिशत सडक दुर्घटनाको कारण चालक रहेको भन्ने समितिको प्रतिवेदनप्रति आपत्ति जनाउँदै त्यो अमान्य हुने निर्णय गरेको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो।

आधारबिना नै सडक दुर्घटनाको मुख्य कारण चालक भनेर किटान गरिनुलाई यातायात मजदुरविरुद्धको षड्यन्त्रको संज्ञा दिँदै उक्त प्रतिवेदन अमान्य हुने निर्णय गरिएको संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वालाले बताए। ‘विकास समितिले केका आधारमा प्रतिवेदन बनाएको हो ?’ उनले भने, ‘चालकलाई मात्रै दोषी देखाउने रिसर्चको मेथड के हो ? कसरी प्रतिशत नै तोकेर चालकलाई मात्रै दोषी देखाइएको हो ? हामीलाई त्यसको जवाफ चाहिन्छ।’ समितिले विधि, प्रक्रिया र बिना अध्ययन हचुवाका भरमा चालकलाई दोषी देखाइएको आरोप लगाए।

अध्यक्ष ज्वालाले सडक दुर्घटनाका नाममा चालकलाई जेल पठाउने षड्यन्त्र भइरहेको भन्दै विकास समितिले प्रतिवेदन नसच्याए आन्दोलन गर्ने चेतावनी दिए। घटनाको विधि र प्रक्रियाबाट गरिएको अध्ययनबाट आएको निष्कर्षका आधारमा मात्रै प्रतिवेदन तयार गर्न समितिलाई आग्रह गरे। चालकको अवस्था, गाडीको अवस्था र भौगोलिक अवस्थाको छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ। उनले सडक दुर्घटनाको विषयमा छानबिनै नगरी पहुँच र सोर्सफोर्सका बलमा हालसम्म २१ जना चालकलाई कारागार चलान गरिएको भन्दै उनीहरूलाई तत्काल छाड्न मागसमेत गरे।

ज्वालाले सवारी आयात मृगको तालमा हुँदा सडक निर्माण कछुवाको गतिमा हुँदा सडक अस्तव्यस्त हुँदै गएको र यसैका कारण दुर्घटना बढ्दै गएको औंल्याए। उनका अनुसार गत वर्ष तीन लाख १८ हजार चार सय ७७ वटा गाडी उपत्यकामा भित्रिँदा ३ सय ९५ किलोमिटर मात्र सडक बनेकाले दुर्घटना बढिरहेको छ। संगठनले यातायात मजदुरहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्न पनि माग गरेको छ। संगठनले २० वर्ष पुराना गाडी विस्थापित गर्ने निर्णयको पनि विरोध गर्दै सो निर्णय सच्याउन माग गरेको छ। संगठनले वर्षका आधारमा नभई सवारीसाधनको अवस्था (कन्डिसन) का आधारमा सञ्चालन गर्न दिने÷नदिने निर्णय लिइनुपर्ने बताएको छ। पुराना गाडीलाई इलेक्ट्रिकमा परिणत गर्न दिनुपर्ने विकल्पसमेत अघि सारिएको छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघसँगको छलफल र सहकार्यमा आन्दोलन गर्ने बताएको छ। संगठनका अध्यक्ष ज्वालाले फागुनभित्र सरकारलाई ज्ञापनपत्र बुझाइने र आफ्ना मागप्रति बेवास्ता गरिए चैतबाट आन्दोलन गर्ने बताए। संगठनले फागुन अन्तिम साताबाट सडक सुरक्षा जागरण अभियान सञ्चालन गर्ने पनि जनाएको छ। सचेतनाको अभावमा दुर्घटना बढेकाले जागरण अभियान सञ्चालन गर्न लागिएको संगठनका महासचिव नवराज घिमिरेले बताए।

प्रकाशित: १३ फाल्गुन २०७६ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App