coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मकै किसान चिन्तित

बारा - मकैका घोगामा दाना नलागेपछि हिउँदे मकै बाली लगाएका हजारौं किसान आर्थिक मारमा परेका छन्। खेत जोताइ, सिँचाइ, बीउ र मल गरी प्रतिकट्ठा एक हजार एक सयदेखि एक हजार दुई सय रुपैयाँसम्म मकै बाली किसानले लगानी गर्दै आएका छन्। तर, बाली भित्र्याउने बेला मकैका घोगामा दाना नलागेपछि किसान चिन्तित बनेका छन्।

किसानले लगाएको श्रेष्ता, पायोनियर, बिराट, शक्ति ९८१, चाँद ९२२ र भी ३०९०  लगायत विभिन्न जातका मकैका घोगामा दाना नलागेको देखिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताए। अहिलेसम्म तीन सय बिघा क्षेत्रफलमा लगाइएको मकैमा दाना नलागेको गुनासो आएको यादवले बताए। यसबारे बुझ्ने कार्य सुरु गरिएको उनले बताए।

मकै बाली लगाइएको खेतमा गएर हेर्दा मकैको घोगामा दाना लाग्नुको सट्टा बोटको टुप्पामा मसिना घोगासँगै दाना लागेको देखिएको छ। दुई बिघा क्षेत्रफलमा पायोयिनर ३३९६ जातको मकै बाली लगाएका कलैया उपमहानगरपालिका–२४ का श्री भगवान यादवले मकैको घोगामा दाना नलागेपछि मकै बालीमा लगानी गरेको ६० हजार डुबेको  बताउँछन्।

मकैको घोगामा दाना लागेको भए लगानीबाहेक एक लाख ५० हजारभन्दा बढी आम्दानी हुने आशमा किसान भगवान थिए। तर बाली राम्रो नभएपछि सबै खर्च मात्रै भएको उनले बताए। महंगो बीउ, मल, सिँचाइ, जोताइ गरेर लगाएको बालीमा दाना नलाग्दा घर खर्च धान्न पनि मुस्किल भएको उनले बताए।

कलैया उपमहानगरपालिका, जिल्लाको जितपुरसिमरा, करैयामाई, कोल्हबीलगायत क्षेत्रका किसानले लगाएको सयौं बिघामा मकैको घोगामा दाना नलागेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ। मकैको घोगामा दाना नलागे पनि बोटको टुप्पामा मसिना घोगामा दाना लागेको पाइएको कृषि प्रसार अधिकृत राजवंशी चौरसियाले बताए।

किसानको गुनासोपछि कृषि ज्ञान केन्द्र बाराले  अनुगमनका लागि अधिकृत चौरसिया र कृषिविज्ञ गेनालाल प्रसाद मण्डललाई खटाएको थियो। अनुगमनपछि प्रतिवेदन तयार गर्ने काम सुरु गरिएको ज्ञान केन्द्र प्रमुख यादवले बताए। मकैको घोगामा दाना नलागेी मकैको टुप्पामा मसिना घोगामा दाना लागेको  देखाउँदै किसान श्रीभगवान यादव।

प्रकाशित: १३ फाल्गुन २०७६ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App