८ वैशाख २०८१ शनिबार
राजनीति

भड्किलाे जन्मदिन मनाएकोमा पार्टीकै विरोध

मकवानपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले मनाएको जन्मदिन पार्टीबारे बाग्मती प्रदेश सभा बैठकमा सांसदले विरोध गरेका छन्। सोमबार बसेको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी पार्टीका सांसदहरुले ओलीको जन्मदिन भड्किलो भएको आरोप लगाएका हुन्।

कांग्रेसकी सांसद विजुला बर्मा राणाले ओलीले जन्मदिनमा राष्ट्रिय अण्डताप्रति निर्मता प्रहार गरेको भन्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताइन्। ‘देशको प्रधानमन्त्रीलाई काण्ड मच्चाउने रहर हो कि, मानसिक समस्या हो ?,’ उनले भनिन्, ‘नक्सा नै बनाएर काट्नुपर्ने भए आफ्नै बनाएर काटेको भइहाल्थ्यो नि, नेपालको नक्सा किन काट्नुभयो ?’

देशको सार्वभौमता, अखण्डता, स्वतन्त्रतामाथि छुरी चलाएर प्रश्नचिह्न खडा गरेको दाबी गर्दै उनले प्रधानमन्त्री ओलीले गल्ती गरेको बताइन्। निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा भ्रष्टाचार प्रकरणमा समेत प्रधानमन्त्रीको नाम जोडिएको भन्दै उनले भनिन्, ‘ओलीले परिवर्तन गर्ने नाममा मौलिकता, धर्म, संस्कृति, परम्परालाई होली वाइन जस्ता काण्डमा मुछिरहेका छन्।’

‘हिजो कतिको टाउको गिँडेर राजाको विरोध गर्थे, आज सामन्तीकै शैलीमा राजा बन्ने कार्यको हामी घोर विरोध गर्छौ,’ उनले आक्रोश पोखिन्। कांग्रेसकै सांसद नरोत्तम बैद्यले समाजवादी प्रधानमन्त्री ओलीको जन्मदिन तडक–भडक भएको भन्दै असन्तुष्टि पोखे।

‘कांग्रेसका जननिर्वाचित प्रथम प्रधानमन्त्री विश्वेश्वरप्रसाद(बिपी) कोइरालाले छोरीको विवाहमा दाइजो नल्याउनू भनेका थिए,’ उनले भने, ‘तर समाजवादी र सर्वहाराको प्रधानमन्त्रीको जन्मदिन यस्तो तडक–भडक हुन्छ ?’

कांग्रेसकी अर्का सांसद जीवन डंगोलले प्रधानमन्त्री ओलीले भव्य रूपमा जन्मदिन मनाएर तमासा देखाएको बताइन्। ‘ओलीले तमासा देखाएर जनता सुत्न सकेका छैनन्,’ उनले भनिन्, ‘ओलीले के सन्देश दिन खोजेका हुन् ?’

विवेकशील नेपालीका सांसद रमेश पौड्यालले कम्युनिस्ट प्रधानमन्त्री ओलीले पुँजीवादीले जस्तै जन्मदिन मनाएको टिप्पणी गर्दै आफैंले जारी गरेको आचारसंहिता उलंघन गरेको बताए। ‘तेह्थुममा ४ वटा हेलिकप्टरमा ओली पुगे, यति होल्डिङको प्रायोजनमा नेपालको नक्सा भएको केक पुग्यो,’ उनले भने, ‘६ हजार जनालाई भोज खुवाएर सबै राजामहाराजालाई माथ दिनेगरी ओलीले जन्मदिन मनाए।’

‘केकको कालापानी र लिम्पियाधुरा टुक्रा त खोक्रो राष्ट्रवादी प्लेटमा राखेर प्रधानमन्त्रीभन्दा पहिले नै अरु कसैलाई दिइएको रहेछ,’ उनले भने, ‘जन्मदिवसलाई घरपरिवारमा मात्र सिमित राख्न आफैंले जारी गरेको आचार संहितालाई ध्यान दिदै उहाँले यति होल्डिङ्सलाई पनि समारोहमा सहभागी गराउनुभयो, र पुष्टि गर्नुभयो, पुँजीको नाता पारिवारिकभन्दा न्यानो र प्रगाढ हुन्छ भनेर।’

जन्मदिवसमा एउटा कमी खड्किएको भन्दै सांसद पौड्यालले प्रदेश नम्बर १ का मुख्यमन्त्रीलाई पनि व्यंग्य गरे। ‘मुख्यमन्त्रीले हेलिप्याडमै सोफा राखेर फोटो खिचाएनन्, काममा सिन्को नभाँचे पनि हनुमान चालिसा र गणेश स्लोक पाठ गरेरै कुर्सीको आयु लम्ब्याउन सकिने स्वर्णिम मौका मुख्यमन्त्रीले किन खेर फाले, लोकले बुझ्न सकेन।’

सत्तारूढ नेकपाकै सांसदहरू सीता अधिकारी र इन्द्रमाया गुरुङले महिलाविहीन मन्त्रिमण्डल बनाएकोमा असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीले नमुना काम गर्ने बताए पनि ३३ प्रतिशत महिला सहभागिता कार्यान्वयन नगरेकोमा सरकारको ध्यानाकर्षण गराइन्। बैठकमा केही प्रदेश सांसदले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको माग राख्दै आमरण अनशन बसेका चितवनको माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्णप्रसाद पौडेलको भरतपुर अस्पतालको आइसियुमा उपचार भइरहेकाले जिवन रक्षा र माग सम्बोधन गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराए।

कांग्रेसका सांसद बलराम पौडेल र मिलनबाबु श्रेष्ठ, राप्रपा संयुक्तकी रीना गुरुङलगायतले वडाध्यक्ष पौडेलले समृद्ध विकास र शान्ति सुरक्षाका लागि आन्दोलन गरे पनि बेवास्ता गरेको भन्दै संघीय र प्रदेश सरकारले चाँडै माग पूरा गर्नुपर्नेमा जोड दिए।

यसैबीच, प्रदेश सभा बैठकले प्रदेश युवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले पारित भएको छ। त्यस्तै प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभा बैठकले सर्वसहमतिले पारित गरेको छ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App