coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सेक्युरिटी प्रेस काण्डको निष्पक्ष छानबिन हुनुपर्छ: देउवा

फाइल तस्बिर

बुटवल – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी प्रकरण एक्लो व्यक्तिको संलग्नतामा सम्भव नभएको बताएका छन्। सोमबार लुम्बिनी पुगेका सभापति देउवाले निर्वमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने विषय नभएकाले यसमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताए।

उनले बाँस्कोटा काण्डमा अन्य उच्च व्यक्तिको पनि संलग्नता हुनसक्ने संकेत गर्दै कांग्रेसले पनि त्यसको खोजी गर्ने बताए। प्रधानमन्त्रीका अति विश्वासपात्रले एक्लै त्यत्रा काण्ड गरे भनेर पत्याउने आधार नभएको देउवाको भनाइ थियो। ‘त्यत्रात्यत्रा काण्ड एक्लै गरे भनेर पत्याउन सकिँदैन। त्यसमा को को छन् निष्पक्ष छानबिन हुनुपर्छ। सरकारले जवाफ दिनुपर्छ। कांग्रेस यत्तिकै चुप लागेर बस्दैन। हामीले छोड्दैनौं,’ देउवाले भने।

कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभामा बोल्दै देउवाले भ्रष्टाचार गर्दिन र अरुलाइ पनि गर्न दिन्न भन्ने ओली सरकारले भ्रष्टाचारका काण्डैकाण्ड गरेको आरोप लगाए। ‘भ्रष्टाचार के मा भयो र कति भयो भन्ने गनेर साध्य नै छैन। तीनै भ्रष्टाचार र भ्रष्टाचारी लुकाउन नीतिगत रूपमै सरकार लागिपरेको छ,’ देउवाले भने। नीतिगत निर्णयको नाममा सरकारले मनपरी ढंगले काम गरेको भन्दै देउवाले आफना गल्ती कमजोरी चोख्याउने र भ्रष्टाचारीलाई उम्काउने काम ओली सरकारले गरिरहेको आरोप लगाए।

कांग्रेसको काँधमा ठूलो जिम्मेबारी रहेको भन्दै देउवाले ती जिम्मेवारी पूरा गर्न सबैको साथ र सहयोग आवश्यक भएको पनि बताए। पहिलो नम्बरको पार्टी बनाउने जिम्मेवारी आफनो काँधमा रहेको उल्लेख गर्दै उनले कांग्रेसलाइ बलियो र एक नम्बरको पार्टी बनाएर मात्रै आफूले बिश्राम लिने पनि बताए। स्वर्गीय नेता उपाध्यय प्रति श्रद्धान्जली व्यक्त ग गर्दै देउवाले एकजना कर्मठ र सच्चा नेता गुमाएको र स्वर्गीय नेता उपाध्यायको योगदानको उच्च मूल्यांकन गर्ने बताए।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले दुईतिहाइको शक्ति प्रयोग गरेर सरकारले अनियमितता गरिरहेको बताए। कम्युनिस्ट सरकारले भ्रष्टाचारका काण्डैकाण्ड गरेर दिउँसै रात पारिदिएको उनले बताए। १४ खर्बको बजेटमा २ खर्ब सरकारका पूर्व प्रवक्ताले स्याटलाइट, फोरजीलगायतका प्रकरणमा खर्च गराइदिएको र ठूलाठूला भ्रष्टाचारका काण्डैकाण्ड गरेको उनको आरोप थियो। भ्रष्टाचार अनियमिततासँगै सरकारले मानवअधिकार, प्रेस स्वतन्त्रता, नागरिकको गोपनीयताको हक, मौलिक अधिकारलाइ कमजोर पारेको, सेना तथा सुरक्षा निकयलाई आफनो पार्टीको पेवा जस्तो बनाएको पनि बताए। ‘जनताका मौलिक अधिकार खोसेर, सरकारी कर्मचारी र जनतालाई अपहेलित गरेर सरकार बलियो हँुदैन। बरु यसले देशलाइ कमजोर बनाउँछ। लोकतन्त्र कमजोर धरापमा पर्छ,’ उनले भने।

नेता खाँणले प्रम ओलीले जन्मदिनमा नेपालको नक्सालाई केक बनाएर धारिलो छुरा प्रहार गरेको र कपाकप खाएको भन्दै चर्को आलोचना गरे। ‘त्यो दृष्यले हरेक नेपालीको मन रोएको छ। नेपालको नक्सारूपी केक बनाएर प्रधानमन्त्रीले नै कपाकप खाँदा नेपाली जनताको मनमा छुरी रोपिएको छ,’ उनले भने। कम्युनिस्ट प्रधानमन्त्रीले जन्मदिनमा हेलिकोप्टरबाट केक बोकेको, अनावश्यक रूपमा धेरैलाई सरसामान बाँडेको भन्दै त्यसरी गरिएको फजुल खर्चले देशमा समृद्धि नआउने बताए।

कार्यक्रममा कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापति भरत शाह, नेताहरू दीपकुमार उपाध्याय, अब्दुल रज्जाक, फकरुद्धिन खाँन, बलिउल्लाह मुसलमान, रामकृष्ण खाँण, रमजान अलिलगायतले बोल्दै जनताले खुन पसिना बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा सरकारकै मन्त्री संलग्न भएका भ्रष्टाचारका ठूला घटनाले जनतालाइ निरास बनाएको भन्दै निष्पक्ष छानबिन गरी दोषीलाइ कारबाही गर्नुपर्नेमा जोड दिएका थिए।

सरकारले प्रणाली नै भत्काउन लाग्यो: पौडेल
यसैबीच कांग्रेस वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले सरकारले मुलुकमा संस्थागत भ्रष्टाचार तीव्र बनाएको आरोप लगाएका छन्। संस्थागत भ्रष्टाचारबाट आर्जन भएको पैसामार्फत निर्वाचन कब्जा गर्दै मुलुकमा एकदलीय सर्वसत्तावादी शासन लागू गर्न उद्धत रहेको दाबी गरेका हुन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकारका मन्त्रीहरू आर्थिक अनियमिता र कमिसनको घटनामा एकपछि अर्को गर्दै मुछिइरहेको भन्दै सरकार मुलुकलाई कम्युनिस्टीकरण गर्नका लागि भ्रष्टाचारबाट अकुत सम्पत्ति कमाउने बाटोतर्फ अघि बढेको आरोप लगाए।

सरकारबाहिर रहेका दललाई पनि समेटेर आफ्नो दल अघि बढ्ने तयारी भइरहेको जनाउँदै वर्तमान सरकार काण्डैकाण्डमा फसेको आरोप लगाए। सेक्युरिटी प्रेस खरीदका लागि तत्काल सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेको मोलमोलाइ उनको व्यक्तिगत मात्र नभएको जिकिर गर्दै पौडेलले नेकपा नेतृत्वको संलग्नता पनि रहेको दाबी गरे। ‘एउटा सञ्चारमन्त्रीले मात्र त्यो मोलमोलाई गरेको छ त ?,’ पौडेलले प्रश्न गर्दै भने, ‘त्योभन्दा माथिको नेतृत्व पनि त्यसमा अवश्य पनि छ।’

जनादेशको दुरुपयोग गर्दै प्रधानमन्त्री ओली र नेकपाले अहिलेको सिस्टम माथि नै प्रहार गर्न लागि परेको आरोप लगाउँदै पौडेलले संविधान तोडमरोड गर्न लागी परेको टिप्पणी गरे। ‘लोकतान्त्रिक संविधानलाई बंग्याएर कानुन ल्याउने र सबैलाई नियन्त्रण गर्ने र देशलाई कम्युनिस्ट ढाँचामा ढाल्ने काम भइरहेको छ,’ पौडेलले भने। त्यसकै पछिल्लो उदाहरणका रूपमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई केन्द्रीत गरेर संविधान संशोधन गर्न खोजिएको भन्दै पौडेलले भने, ‘गौतमलाई हात लिन संसदीय व्यवस्था र जनताप्रति सत्तरदायी शासन पद्धतिविपरीत संविधान संशोधनको कुरा आइरहेको छ त्यो आपत्तिजनक छ।’ जनताबाट पाएको झण्डै दुईतिहाइ बहुमतको दुरुपयोग गरेर जनाउँदै उनले भने, ‘जनमतको दुरुपयोग गरेर यो सरकार संविधान तोडमरोड गर्न खोजिरहेको छ, यो अत्यन्तै निन्दनीय छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीलाई विभिन्न बहानामा कार्यकारी भूमिकामा सक्रिय गराउने र राष्ट्रिपति कार्यालयलाई विस्तार गर्न लागिएको पनि उनको दाबी छ। प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र सारेर राष्ट्रपति कार्यालय फराकिलो बनाउन खोजिएकोप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति प्रणालीबाट सर्वसत्तावाद हुँदै मुलुकमा नियन्त्रित शासनमा जानखोजेको उनले बताए।

प्रकाशित: १३ फाल्गुन २०७६ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App