coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पेनाल्टी सुटआउटबाट सुनौलो संगम बाहिर

सञ्जय थापा/दिलबहादुर छत्याल
धनगढी - कप्तान मोहन थापा पेनाल्टी सुटआउटमा गोल गर्न चुकेको दिन सुनौलो संगम क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ। धनगढी रंगशालामा सोमबार भएको प्रतियोगिताको अन्तिम प्रि–क्वार्टरफाइनलमा गोर्खा ब्बाइजसँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। सुनौलो संगम क्लबको यात्रालाई गोर्खा ब्वाइजले पेनाल्टी सुटआउटमा ५–३ ले समाप्त पार्दै अन्तिम ८ को यात्रा तय गरेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

पेनाल्टी प्रहारमा आएका गोर्खा ब्बाइजका हरि कठायत, अनिश तामाङ, रन्दिप पौडेल, निशान न्यौपाने र कप्तान उत्तम गुरुङले सदुपयोग गरे। सुनौलो संगमका रञ्जित थापा, अजित थापा र शंकर न्यौपानेले गोल गर्दा कप्तान मोहन थापाको प्रहार भने गोर्खा ब्बाइजका गोलकिपर मनोज गुरुङले बचाउ गरे। रोमाञ्चक जित निकालेको गोर्खा ब्वाइजले क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिगको टोली हिमालयन शेर्पाको सामना गर्नेछ।

यसअघि खेलको तेस्रोे मिनेटमै रोशन रानाको पासमा सुरज घलानले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिँदा गोर्खा ब्बाइजले अग्रताको अवसर गुमाएको थियो। १९औं मिनेटमा संगमका मोहनले गरेको प्रहार गोर्खा ब्बाइजका गोलकिपर मनोजले सहजै नियन्त्रणमा लिएका थिए।

५०औं मिनेटमा गोर्खा ब्बाइजले खेलमा अघि बढ्ने अर्को अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन। हरि कठायतको प्रहार सुनौलोका गोलकिपर किरण थापा बिट भइसकेको अवस्थामा पोस्टमा लागेर फर्किएकोे थियो। त्यसको ७ मिनेटपछि संगमका मोहनले गरेको प्रहार पनि बारमा लागेर फर्किएको थियो। ५९औं मिनेटमा हरिको हेड बाहिँरिदा गोर्खा ब्बाइज फेरि एक पटक अग्रता लिने अवसरबाट चुकेको थियो।

संगमका प्रशिक्षक विकास गुरुङले रातभर यात्रा गरेका कारण खेलाडी थकित भएकाले स्वाभाविक प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए। प्रतियोगितामा मंगलबारबाट क्वार्टरफाइनलका खेल सुरु हुनेछन्। पहिलो क्वार्टरफाइनलमा कञ्चनजंघा एफसी भारतले आयोजक सुदूरपश्चिम–११ को सामना गर्नेछ । यसअघि कञ्चनजंघाले बागमती एफसीलाई पेनाल्टी सुटआउटमा निराश पार्दै अघिल्लो चरण प्रवेश गरेको थियो। सुदूरपश्चिम–११ सोझै बाइ पाएर अन्तिम आठमा प्रवेश पाएको थियो।

त्यस्तै दोस्रो क्वार्टरफाइनल बुधबार नेपाल पुलिस र एपिएफबीच हुनेछ। तेस्रो क्वार्टरफाइनलमा थ्री स्टार क्लब र नवजागृति क्लब आमनेसामने हुँदा अन्तिम क्वार्टरफाइनलमा गोर्खा ब्बाइज र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App