७ वैशाख २०८१ शुक्रबार
समाज

तलब वृद्धिदर निर्धारण गर्न सर्वपक्षीय विज्ञ समिति

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान। तस्बिर: नागरिक

धरान – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनको तयारीमा रहेका कर्मचारी र चिकित्सकहरूसँग व्यवस्थापन पक्षको सहमति भएको छ। सम्पूर्ण (नर्सिङ, प्राविधिक तथा प्रशासनिक) कर्मचारी समन्वय समिति र चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजसँग पदाधिकारीहरूले आइतबार र सोमबार छुट्टा–छुट्टै छलफल गरी सहमति जुटाएका हुन्। यो सहमतिले नजिकिँदै गरेको दीक्षान्त समारोहमा आन्दोलनको बाछिटा पर्ला कि भन्ने डर पनि हटेको छ। प्रतिष्ठानका कार्यबाहक उपकुलपति प्राध्यापक डाक्टर गुरु खनालले आइतबार दिउँसो कर्मचारी समन्वय समितिसँग छलफल गरेका थिए भने शिक्षक कल्याण समाजसँग सोमबार छलफल गरेका थिए।

दुवैसँगको छलफलबाट तलब वृद्धि दर निर्धारण गर्न सर्वपक्षीय विज्ञ समिति गठन गर्ने सहमति भएको छ। कर्मचारी र चिकित्सक शिक्षकहरूले सरकारले हालै वृद्धि गरेअनुरूप २० प्रतिशत वृद्धि गरी तलब पाउनुपर्ने माग प्रमुख अजेन्डाका रूपमा राखेका थिए। ४३ औं सिनेट बैठकले पनि १८ देखि २० प्रतिशत तलब बढाएर खानसक्ने स्वीकृति दिएको थियो। ‘सिनेटले जति सक्छौ, त्यति बढाएर खाऊ भनेर स्वीकृति दिएको थियो। अब हामीले कति तलब बढाएर खुवाउन सकिन्छ, त्यो अध्ययन गर्ने भनेर विज्ञ समिति गठन गर्ने सहमति भएको छ,’ कार्यबाहक उपकुलपति डाक्टरखनालले भने, ‘मंगलबार पाँच सदस्यीय समिति बनाइनेछ।’

सिनेटले तलब बढाउने स्वीकृति दिए पनि सरकारबाट प्रतिष्ठानमा तलब वृद्धिको बजेट आउँदैन। प्रतिष्ठान आफैंले आम्दानीबाट तलब वृद्धि गर्नुपर्ने भएकाले कति बढाउन सकिन्छ भनेर अध्ययन गर्नुपरेको डाक्टर खनालको भनाइ छ। ‘नबढाउने भन्ने कुरा होइन तर कति बढाउन सक्ने क्षमता हामीसँग छ ? त्यो हेर्नुपर्छ,’ कार्यबाहक उपकुलपति डाक्टर खनालले भने, ‘त्यसका लागि फाइनान्स विज्ञसहित समिति बनाउँदै छौं।’

शिक्षक कल्याण समाजले सरकारले वृद्धि गरेको २० प्रतिशत तलब वृद्धि र रोकिएको नियमित बढुवा प्रक्रिया सुरुवात गर्नुपर्ने दुई सूत्रीय माग अघि सारेको थियो। कर्मचारीहरूले भने तलब वृद्धि, छनोट समिति गठन गरी स्थायी नियुक्ति, आन्तरिक बढुवा तथा फाइल बढुवा अघि बढाउनुपर्ने, ज्यालादारी तथा करारमा रहेका कर्मचारीलाई निश्चित अवधि पूरा गरेपछि स्थायी सेवालगायत प्रक्रिया अघि बढाउनुपर्ने र कर्मचारी कल्याण समाजको चुनाव चाँडो गराउनुपर्नेलगायत पाँच बुँदे माग अघि सारेका थिए।

ती मागहरूका बारेमा भएको छलफलबाट केही पदहरूमा हालै भएको तलबमान वृद्धिको निर्णय तत्काल स्थगित गर्ने पनि सहमति भएको छ। प्रतिष्ठानका इन्जिनियरद्वय राकेश दास र मदन साहको ग्रेड वृद्धि तथा तलबमान वृद्धि गरिएको थियो। उनीहरूको मात्र तलबमान वृद्धिप्रति कर्मचारी समन्वय समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। त्यस विषयमा पनि छलफलबाट तत्कालका लागि स्थगित गर्ने सहमति जुटेको छ। ‘कर्मचारीहरूबाट नै त्यस विषयमा पनि कुरा उठेकाले तत्काललाई निर्णय होल्डमा राखिएको छ,’ काबा उपकुलपति खनालले भने, ‘अन्य मागहरू दीक्षान्त समारोहपश्चात् प्रक्रिया अघि बढाउने सहमति भएको छ।’

कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईका अनुसार ४३औं सिनेट बैठकले निर्णय गरेअनुसार छनोट समितिलाई औपचारिक रूपमा गठन गरेर नियुक्ति, आन्तरिक बढुवा तथा फाइल बढुवाको विज्ञापन प्रकाशन गर्ने सहमति भएको छ। साथै ज्यालादारी, करार तथा कार्य–सम्पादन करारमा कार्यरत कर्मचारीहरूको विषयमा दीक्षान्त समारोहपश्चात् आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले बताए। ‘छलफलबाट हाम्रा मागहरूबारे सहमति भएको छ, व्यवस्थापनले मागहरू चाँडै पूरा गर्ने अपेक्षा छ,’ संयोजक राईले भने, ‘कार्यान्वयन हुनेछ भन्नेमा हामी आशावादी छौं।’

प्रकाशित: १३ फाल्गुन २०७६ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App