coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सेयर कारोबार समय बढाउन गृहकार्य

काठमाडौं-पछिल्ला महिनामा लगानीकर्ताको अकर्षण सेयर बजारमा बढेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबारको समय बढाउने विषयमा विचारविमर्श गर्न थालेको छ।
नेप्सेले आइतबार सूचना निकालेरै सेयर कारोबारको समय बढाउने विषयमा सम्बन्धित सबैसँग सुझाव पनि मागेको छ । हाल सेयर बजारमा प्रत्येक साता ५ दिन अर्थात आइतबारदेखि बिहीबारसम्म ३ घन्टा अर्थात मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार हुन्छ । तर, पछिल्लो समयमा बजारमा लगानीकर्ताको बढ्दो चाप र नेप्सेको कारोबार प्रणालीमा भइरहेको आधुनिक सुधार तथा प्राविधिक परिवर्तनपछि लगानीकर्ताले कारोबारको समयावधि बढाउनुपर्ने माग गरिरहेका छन् ।
नेप्सेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रविधिको विकाससँगै बजारको पहुँच विस्तारै हुँदै गएको र नयाँ लगानीकर्ताको प्रवेश जारी रहेकोले हालको कारोबार समय बढाउनुपर्ने माग लगानीकर्ताबाट भएको जनाएको छ । त्यसैले कारोबार समय बढाउँदा सकारात्मक र नकारात्मक प्रभावहरु के के हुन सक्छन्, यो विषयमा सुझाव आवश्यक छ भन्दै नेप्सेले विज्ञप्तिमा अहिलेको कारोबार अवधि सही छ या छैन, बढाउनुपर्ने आवश्यकता छ वा छैन वा कति समय बढाउँदा लगानीकर्ताको माग सम्बोधन हुन्छ लगायत विषयमा अध्ययन थालिएको जानकारी गराएको छ ।
नेप्सेले एक साताभित्र कारोबार अवधिबारे कुनै सुझाव वा सिफारिस पठाएर सहयोग गर्न आग्रह गरेको छ।
विगतमा औसतमा ३० करोडदेखि ४० करोडको मात्रै दैनिक कारोबार हुने सेयर बजारमा पछिल्ला दिनमा प्रत्येक १ अर्बभन्दा बढीको कारोबार भइरहेको छ । आइतबार सेयर बजार परिसूचक ४.०३ बिन्दुले घटे पनि १ सय ३७ कम्पनीका २० लाख ८३ हजार ३ सय कित्ता सेयर १ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भएको छ ।
पछिल्ला महिनामा सेयर बजारमा अभौतिकीकरण गरिएका सेयरको मात्र कारोबार हुनु, बजारमा सेयरको माग धेरै, आपूर्ति कम हुनु; बैंक तथा वित्तीय क्षेत्रको ब्याजभन्दा सेयरमा लगानीको प्रतिफल बढी हुनु, लगानीकर्ताको लागि हालको तरल राजनीतिक अवस्थामा लगानीका अन्य क्षेत्रहरु संकुचित हुनु र लगानी प्रतिफलको हिसाबमा सेयर बजारले धेरै दिनु जस्ता कारणले गर्दा सेयर बजार पुँजीकरण अर्थतन्त्रको करिब एक चौथाइ पुगिसकेको कारण पनि बजारलाई बढी लगानीकर्तामैत्री बनाउनु अवश्यक छ । आइतबार सेयर बजार पुँजीकरण ६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।
तर, नेप्सेको प्राविधिक कमजोरीका कारण बजार पटकपटक अस्तव्यस्त भइरहेको परिप्रेक्ष्यमा पहिला नेप्सेले आफ्नो प्राविधिक पक्ष सुदृढ गर्न आवश्यक पनि छ ।

तर, नेप्सेको प्राविधिक कमजोरीका कारण बजार पटकपटक अस्तव्यस्त भइरहेको परिप्रेक्ष्यमा पहिला नेप्सेले आफ्नो प्राविधिक पक्ष सुदृढ गर्न आवश्यक पनि छ ।

नेपाल लाइफको एफपिओको मूल्य हेरफेर हुन सक्ने
काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्य हेरफेर हुन सक्ने भन्दै लगानीकर्तालाई सचेत हुन आग्रह गरेको छ । कम्पनीले फर्दर पब्लिक इस्यु–एफपिओ (थप साधारण सेयर निष्कासन) का लागि धितोपत्र बोर्डमा पेस गरेको मूल्यमा हेरफेर हुनसक्ने भन्दै बोर्डले लगानीकर्तालाई सचेत गराएको हो । बोर्डको निर्णयअघि नै एफपिओको मूल्य तोकेको भन्दै बोर्डले नेपाल लाइफको सेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले प्रतिकित्ता २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्न लागेको थियो । तर मूल्य धेरै भएको र बोर्डबाट अनुमति नै नलिई मूल्य घोषणा गरेको भन्दै यो कम्पनीको सेयर कारोबार रोक्का गरिएको थियो । बोर्डको निर्देशन अनुसार नै गत बिहीबारदेखि नेपाल लाइफको सेयर कारोबार खुला भएको छ । तर, नेपाल लाइफको सेयर मूल्य निकै बढेपछि बोर्डले लगानीकर्तालाई मूल्य परिवर्तन हुने भन्दै सचेत गराएको हो । आइतबार नेपाल लाइफको सेयर प्रतिकित्ता ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । प्रिमियम मूल्य निर्धारणमा एकरुपमा ल्याउन स्पष्ट नीतिगत आधार तयार गर्न केही समय लाग्ने भएकोले सेयर कारोबार खुला गरिएको पनि बोर्डले जनाएको छ । बोर्डबाट निर्धारण भएको प्रिमियम मूल्यमा मात्रै कम्पनीले एफपिओ जारी गर्न पाउँछ । बोर्डले तोक्ने प्रिमियम मूल्य कम्पनीले तोकेभन्दा फरक हुनेतर्फ सचेत हुन सर्वसाधारण लगानीकर्तालाई बोर्डले सचेत गराएको हो।

 

प्रकाशित: २० असार २०७३ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App