७ वैशाख २०८१ शुक्रबार
राजनीति

विप्लव समूहका जिल्ला इन्चार्ज अदालतबाट छुटेलगत्तै पुनः पक्राउ

अदालतबाट छुटेलगत्तै पक्राउ परेका पौड्याल। तस्विरः महेश्वर

उदयपुर - नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका सुनसरी जिल्ला इन्चार्ज तथा मेची–कोसी व्यूरो सदस्य लक्ष्मण पौड्याल सोमबार अदालतबाट छुटेलगत्तै पुनः पक्राउ परेका छन्। गत असोज ६ गते सुनसरीको इटहरीबाट पक्राउ परेर अड्डासार हुँदै उदयपुर ल्याइएका पौड्याल सर्वोच्चको आदेश बमोजिम जिल्ला अदालतबाट छाडिएकोमा तत्काल पक्राउ परेका हुन्।

बिभिन्न ठाउँमा विष्पोटन गराएको आरोपमा असोजमा उनी इटहरीबाट पक्राउ परेकोमा मंसिर २८ गते सुनसरी अदालतले २५ हजार धरौटीमा छाडेको थियो। तर, अदालतबाट छुटेलगत्तै पक्राउ गरी उनलाई झापा लगिएको थियो। झापामा बम विष्फोटन र सवारी आवागमन अवरोध गरेको छुट्टाछुट्टै दुई मुद्धामा पौड्याललाई जिल्ला अदालत झापाले धरौटीमा छाड्यो।

विष्फोटन मुद्धामा १ लाख र सवारी आवागमन अवरोध मुद्धामा २५ हजार धरौटीमा पौडेललाई झापा अदालतले छाडेपछि पुनः सुनसरीकै धरान प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। सुनसरी अदालतले पुस २८ गते साधारण तारेखमा खाड्ने आदेश दिएपछि छुटेका उनलाई उदयपुर ल्याइएको थियो। बिभिन्न ठाउँमा बम विष्फोटन र सुतली बम राखेको आरोपमा उदयपुर प्रहरी हिरासतमा राखेर अनुसन्धानरत पौडेललाई जिल्ला अदालतको माघ २७ गतेको फैसला बमोजिम पुर्पक्षका लागि थुना आदेशपछि कारागार चलान गरिएको थियो।

पुर्पक्षका लागि थुना आदेशसँगै पौड्याल परिवारले सर्वोच्च अदालत गुहार्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको थियो। सर्वोच्चले फागुन ७ गतेको फैसला अनुसार साधारण तारेखमा छाड्ने आदेश दिए अनुसार सोमबार दिउँसो ३ः०० बजे अदालतबाट छुटेका पौड्याललाई अदालत परिसर बाहिर तैनाथ रहेको प्रहरीले पक्राउ पुर्जी थमाएर पक्राउ गरेको उनकी पत्नी रीताले बताइन्। रीताले सर्वोच्चको आदेशपछि पनि छाड्ने सुरसार नगरेपछि दुईदिनदेखि लागी परेर पतिलाई छुटाए पनि अदालतबाट बाहिरिनेबित्तिकै पक्राउ गरेको बताईन्।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले प्रतिबनिधत पार्टीमा आबद्ध भएका कारण उनलाई बिभिन्न ठाउँमा मुद्धा दर्ता भएकाले पुनः पक्राउ गरिएको बताए। मगरका अनुसार पौड्यालमाथि सिराहामा बम विष्फोटलगायन मुद्धा विचाराधिन रहेकाले सिराहा प्रहरीकै आग्रहमा पक्राउ गरी उतै पठाइएको हो। सुनसरी सरुवा हुनुअघि पौड्याल सिराहा इन्चार्ज भएर बसेका थिए भने त्यसअघि उदयपुरमै कार्यरत थिए।

    पौड्यालविरुद्ध उदयपुरमा बिभिन्न ठाउँमा बम विष्फोट गराएको तथा ०७० सालमा कटारी बजारमा कृष्ण थापाको घरअगाडि सुतली बम राखेको आरोपका छुट्टै दुई मुद्धासमेत दर्ज रहेको प्रहरी भनाई छ। छुटेलगत्तै पक्राउ परेका पौड्याललाई न्याय दिलााउन पत्नी रीता पुनः बन्दी प्रत्यक्षीकरणको रिट दिन सर्वोच्च अदालत जाने बताएकी छिन्।

प्रकाशित: १२ फाल्गुन २०७६ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App