कैलाली - प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेशबाट १ लाख चिठी पत्र सङ्कलन गरेर बुझाइँने भएको छ। पश्चिमसेती निर्माणका लागि दबाब दिँदै आएको ‘बोलन्या थली’ धनगढीले १ लाख पत्र सङ्कलन गरेर प्रधानमन्त्रीलाई बुझाउने भएको हो।
यसअघि काठमाडौंमा रचनात्मक विरोध कार्यक्रम गरेको बोलन्या थलीले ७५० पैसासहित उक्त चिठी बुझाउने तयारी गरेको संयोजक यादव जोशीले बताए। धनगढीमा राष्ट्रपति सहभागी हुने विश्व साहित्य सम्मेलनमा उक्त चिठीपत्र बुझाइने उनले बताए।
यस लगत्तै ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्ने समेत उनले बताए। यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, कीर्तिपुरमा सांस्कृतिक कार्यक्रम र सुदूरपश्चिमबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदसँग काठमाडौंमा छलफल गरेको थियो।
प्रकाशित: १२ फाल्गुन २०७६ १२:०३ सोमबार