coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चिनियाँ जहाज 'दिनभरिको शिकार' जस्तै

काठमाडौं- नेपाल वायुसेवा निगमले चीनमा तयारी अवस्थामा रहेका बाँकी चारथान चिनियाँ जहाज ल्याएर नाफा कमाउने घोषणा गरे पनि यहीँ भएका दुइटा जहाज भने थन्किएका छन्।

राष्ट्रिय ध्वजावाहक निगमले एक साताअघि 'अब चिनियाँ जहाजका प्राविधिकलगायत समस्या समाधान गर्न चीन तयार रहेको' भन्दै बाँकी चारथान जहाज ल्याउने घोषणा गरेको थियो। तर, भएका दुई जहाज भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' भएका छन्।

'खोइ, यस्तै कच्याककुचुक प्राविधिक समस्या आएपछि दुइटै चिनियाँ जहाज त्रिभुवन विमानस्थलमा थन्किएका छन्,' निगमका एक उच्च अधिकारीले सोमबार नागरिकसँग तीतो पोखे, 'अब चीनबाट पार्टपुर्जा नल्याई जहाज उड्न सक्दैनन् तर जहाज उडाउन आवश्यक पुर्जा उताबाट कहिले आइपुग्छ, पत्तो छैन।'

कहिल्यै पनि माग नगरेका चिनियाँ जहाजको भारी निगमको टाउकोमा 'भिराएर' सरकारले संस्थालाई थप धराशयी बनाएको ती अधिकारीको दाबी छ। एक साताअघि पुस ११ मा निगमले 'चिनियाँ जहाज निर्माता कम्पनीका अधिकारीसँग भएका छलफल एवं बैठकका माइन्युटलाई दृष्टिगत गर्दा एमए–६० र वाई१२–ईको सञ्चालन सम्बन्धमा देखा परेका मर्मत–सम्भार, पुर्जा तथा तालिमको मूल्य, बिमालगायत समस्या समाधान गर्न चिनियाँ पक्षले सक्दो सहयोग गर्ने प्रत्याभूति दिएपछि बाँकी जहाज ल्याउन लागिएको' घोषणा गरेको थियो।

'गएको पाँच महिना (साउन–पुस) भित्र चिनियाँ वाई१२–ई जहाजले मुश्किलले १० उडान पनि गरेको छैन,' ती अधिकारीले भने, 'अर्को जहाज एमए–६० को सिट भराइ दर (अकुपेन्सी) २५ प्रतिशत नाघेको छैन। यस्तो भएपछि चिनियाँ जहाजले निगमलाई उतार्ने होइन, डुबाउने निश्चित छ।'

सम्बद्ध अधिकारीका अनुसार ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) सिरिजको एक थान र १८ सिटे एक थान 'वाई१२–ई' जहाजले काठमाडौंबाट दैनिक दुई–दुई उडान गर्ने तालिका छ। एमए–६० ले विराटनगर, धनगढी, भद्रपुर र नेपालगन्ज तथा वाई१२–ईले सिमरा, भैरहवा र पोखरा उडान गर्थे।

'तालिका मात्र बनाउने हो। एक दिन उडे भने चार दिन थन्किने गरेका थिए,' ती अधिकारीले भने, 'चिनियाँ जहाज त यस्ता भए कि उडाउँदा पनि घाटा र नउडाउँदा पनि घाटा। अब हाम्रै टाउकोमा बाँकी चारवटा पनि थोपरिने भएपछि निगमको हालत अनुमान गर्नै नपर्ने खालको हुनेछ।'

त्रिभुवन विमानस्थलमा थन्किएका दुइटै चिनियाँ जहाजलाई चीन तथा निगमका इन्जिनियरले मर्मत गर्ने प्रयास गरे पनि सफल भएन। जहाज निर्माता कम्पनीबाटै पुर्जा ल्याएर जडान नगरेसम्म उडान नहुने अवस्था आएपछि पुर्जा मगाइएको सम्बद्ध अधिकारीले जानकारी दिए।

'यस्तो गम्भीर अवस्था हुँदाहुँदै सरकारले बाँकी जहाज ल्याउने निर्णय गर्नु आश्चर्यजनक विषय हो,' निगमकै अर्का एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, 'चिनियाँ जहाज 'नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाउको अनुहार' भनेजस्तै भएको छ। अब ल्याउन बाँकी चार अनि यहाँ रहेका दुई गरी ६ थान जहाज भएपछि सबैलाई घाममा सेकाएर राख्नेबाहेक विकल्प छैन।'

अहिले निगमसँग रहेका दुइटै चिनियाँ जहाज चीनबाट अनुदानमा प्राप्त भएका हुन्। ल्याउन बाँकी चारथान भने सहुलियत ऋणमा खरिद गरिएका हुन्। निगमको तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले मन्त्रिपरिषदको निर्णयपछि गत कात्तिकमा बाँकी जहाज ल्याउन निगमलाई निर्देशन दिएको थियो। निगमले पहिलो चरणमा एकथान एमए–६० र एकथान वाई१२–ई मात्र ल्याउने तयारी गरेको छ। 'अरू उपाय नै छैन, बाध्य भएर बाँकी जहाज ल्याउनैपर्ने अवस्था आयो,' उनले भने।

नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ थान जहाजका लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। त्यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ।

चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध हुने छ। यी जहाज अर्थ मन्त्रालयले डेढ प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिएको छ। अर्थले पहिलो सात वर्षसम्म साँवा र ब्याज केही पनि तिर्नुनपर्ने 'ग्रेस पिरियड' दिएको छ भने आठौं वर्षबाट पन्ध्रौं वर्षसम्म सबै रकम चुक्ता गरिसक्नुपर्ने सर्त छ। सहुलियत ऋणको ६० प्रतिशत चीनलाई भुक्तानी भइसकेको छ। यो भनेको २ अर्ब २३ करोड ६८ लाख रुपैयाँ हो।

जसअनुसार २०७१ वैशाख १४ मा एकथान एमए–६० र कात्तिक १७ मा एकथान वाई१२–ई ल्याएको थियो। एमए–६० ले असार ११ बाट र वाई१२–ईले पुस पहिलो साताबाट नियमित उडान सुरु गरेको थियो। १८ सिटे भने पनि वाई१२–ई मा १७ सिटमात्र छन्।

बाँकी चिनियाँ जहाज नलिन निगम व्यवस्थापनले धेरै 'पापड' बेले पनि अन्तिममा मन्त्रिपरिषदले नै जहाज ल्याउने निर्णय गरी निगमलाई कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो। सुरुमा निगम व्यवस्थापनले सञ्चालक समिति, समितिले पर्यटन मन्त्रालय र मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि बाँकी जहाजबारे टुंगो लागेको थियो।

निगमसँग रहेका दुईथान चिनियाँ जहाजले जति आम्दानी गर्छन् तिनलाई उडाउन भने आम्दानीको तीन गुणा बढी खर्च हुने गरेको छ। २०७१ पुसबाट २०७२ पुससम्म एक वर्ष उडान गर्दा एमए–६० ले १४ करोड १० लाख ३० हजार ८ सय ११ रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै वाई१२–ईले २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो। तर, उक्त एक वर्ष एमए–६० उडाउन ४० करोड ५० लाख ९७ हजार २ सय ९३ रुपैयाँ तथा वाई१२–ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो।

चिनियाँ जहाज आएपछि प्रशस्त आम्दानी गर्ने र बजार हिस्सा वृद्धि गर्ने व्यापारिक योजना बनाएको निगमले एक वर्षसम्म एमए–६० उडाएर नाफाको सट्टा उल्टै २६ करोड ४० लाख ६६ हजार ४ सय ८२ रुपैयाँ नोक्सानी बेहोरेको थियो। वाई१२–ईको नौ महिनासम्म उडाउँदा निगमले ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सान बेहोरेको थियो।   

प्रकाशित: १९ पुस २०७३ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App