६ वैशाख २०८१ बिहीबार
विचार

कांग्रेसलाई अर्को अवसर

इतिहासको ब्याज सधैँ एकनास पाइँदैन। आज नेपाली कांग्रेस यस्तो दोसाँधमा छ जसबाट प्रजा परिषद्जस्तै अस्ताउने वा फेरि एकपटक समयको उचित तथा साहसिलो नेतृत्व लिने ? त्यसैगरी मधेसकेन्द्रित नेतालाई पनि राष्ट्रियतालाई साझा मुद्दा बनाइएमा एकताबद्ध हुने अवसर छ। अन्यथा खुम्चने बाटोमात्र तेर्सिन्छ।

सत्तारुढ डबल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र जबज र जनयुद्धको पुँजी भन्दै पुष्पकमल दाहाल १७,००० नेपाली अनाहकमा मारिएको भार एमाले गुटलार्ई पनि बोक्न बाध्य बनाउन सफल हुँदैछन्। अर्को चुनावमा पुष्पकमल दाहालको कार्यकारी नेतृत्वबाट माओवादीसहितको ऊर्जासाथ डबल नेकपाले साम, दान, दण्ड, भेद सबै प्रयोग र सकेसम्म सरकारी साधनको अत्यधिक परिचालन गर्नेमा द्विविधा नहोला। संवेदनशील निकाय आफ्नाले भर्ने र अदालतमा आँखा गाड्नेले कर्मचारी संयन्त्रलाई के छाड्लान् ? त्यस्तो परिस्थितिले अप्रत्याशित परिवर्तन निम्त्याउँछ।

स्पष्ट धारणा
नेपालमा आज कुनै पनि स्वतन्त्र विचार प्रवाह गर्ने नागरिकले योग्यताकै भरमा राज्यबाट अवसर पाउने सम्भावना अति न्यून छ। निषेधको राजनीतिले लोकतन्त्र भ्रष्टीकरण भएको छ भन्छन् माले नेता सिपी मैनाली। प्रहरीको सूचीमा ‘फरार’ पूर्वमाओवादी अग्नि सापकोटा प्रहरीकै सुरक्षामा संसद्को सभामुख पद सम्हाल्न थालेका छन्। उनीविरुद्ध ज्यान मारेको आरोपमा किटानी मुद्दा दिने महिला भन्छिन्– मेरो श्रीमान्को ज्यान लिने कसरी सभामुखमा चुनिए ?

कांग्रेसका महासचिव शशाङ्क कोइरालाले आफू धर्मनिरपेक्ष राज्यविरुद्ध भएको स्पष्ट धारणा राख्न थालेका छन्। शेरबहादुर देउवाको नेतृत्वबाट पार्टी अघि नबढ्नेजस्तो तीतो मूल्याङ्कन सार्वजनिक गरेका छन्। ढिलै भए पनि शशाङ्कले यसपालि इतरपक्षको पङ्तिमा छाती फुलाएर देउवाबाट दल अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेकाले नै संस्थापनपक्ष रातारात गलेर आन्तरिक सहमतिमा पुग्योे। यसबारे शेखर कोइराला त अलि अघिदेखि नै स्पष्ट हुन थालेका थिए।

नेकपाभित्र जबज र जनयुद्धको पुँजी भन्दै पुष्पकमल दाहाल १७ हजार नेपाली अनाहकमा मारिएको भार एमाले गुटलार्ई पनि बोक्न बाध्य बनाउन सफल हुँदै छन्।

बिपीपुत्रसहित  विभिन्न विचार बोकेका कोइरालाजन एक गठ्ठा भएर नेतृत्व परिवर्तन गर्नेतर्फ लागेकाबाट ठोस सन्देश पाइन्छ।  अन्यथा देउवाले फेरि एक काल अवधिका लागि नेतृत्व लिने र शशाङ्क वा शेखर कोइरालाले त्यसपछि पार्टी हाँक्ने हो भने अहिलेका युवा मानिएका र आफ्नो दलले २०४६ पछि गरेको गल्तीको आत्मालोचना गर्नुपर्छ भन्ने गगन थापाजस्तलाई वरिष्ठ नेताका औपचारिक पङ्तिमा पुग्ने पालो आउन अनिश्चित हुन्छ।

माघ ११ गते, देउवा बालुवाटारमा सत्तारुढ दलका जुम्ल्याहा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीसँग सरकारी नियुक्तिमा भागवबन्डा खोज्दै थिए। कांग्रेसकै अर्का वरिष्ठ नेता शेखर कोइरालाले लमजुङमा एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दलले प्रभावकारी भूमिका निभाउन नसकेको स्वीकारे। पूर्वराजा ज्ञानेन्द्रकोे सन्देश आदान–प्रदान र सम्वाद कोइराला परिवारजनसँग र पटकपटक सांसद बनेका कांग्रेसका अन्य नेताका साथ हुँदै आएको तथ्यले डबल नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल तथा प्रधानमन्त्री केपी ओली झस्केका हुन् ।

साझा मुद्दाको खोजी
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको विश्लेषणअनुसार मुलुकमा ठूलो आन्दोलन जन्मँदैछ। आगामी तीन महिनाभित्र के मात्र हुने हो ? जे हुन्छ नेताले नै बेहोरुन्। गैरसरकारी वामपन्थी तथा पूर्वपञ्चका सबै तप्काबीच साझा मुद्दा उठाइएमा जनजाति समूह र मधेसवादी दलहरू पनि सामेल हुनसक्छन्। आन्तरिक खिचातानीका बाबजुद कांग्रेसको नेतृत्वमा त्यस्तो मुद्दा अगाडि सारेर सशक्त अभियान देशव्यापी बनाउन सक्नेमा एक ठूलै समूह विश्वस्त छ।

कुनैबेला पुष्पकमल दाहालसँग कुम जोडेर विद्रोहमा लागेका राष्ट्रियतामा चिन्ता राख्ने कम्युनिस्ट नेता सिपी गजुरेलले सरकारलाई सचेत गराएका छन्, जनता सधैँ हेरेरमात्र बस्दैनन्, उनीहरू फेरि सडकमा उत्रने वातावरण बन्दैछ। गजुरेलको भनाइमा दम छ। मालेका नेता सिपी मैनाली राष्ट्रघात र जनघात बढेकामा चिन्तित छन्। आफ्ना भूमिगत नेकपाका क्रान्तिकारी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सर्लाहीस्थित इन्चार्ज कुमार पौडेल नक्कली एन्काउन्टरमा मारिए जसबारे उचित छानबिन नहुनुले त्यहाँ चरम आक्रोश पैदा गरेको बुझिन्छ। राष्ट्रियता, प्रजातान्त्रिक अभ्यास तथा राजनीतिक निश्चितताका साझा मुद्दा उठाएर असली परिवर्तनका  लागि अन्य मुद्दा थाँती राखेर विप्लवले सशक्त नैतिक समर्थन दिनसक्ने स्थिति आउने सम्भावना देखिन्छ।

पूर्वपञ्चले भरिएका राप्रपा फ्याकहरूमा पछिल्लो प्रहरमा असन्तुष्टि चुलिएको छ। पुसमा नेपालगन्जका मेयर धवलशमशेर राणाले अध्यक्ष कमल थापा नेतृत्वको राप्रपाको एकमात्र निर्वाचित सांसद राजेन्द्र लिङ्देल वा बुद्धिमान तामाङ जस्तालाई अध्यक्ष नबनाउने हो भने अर्को चुनावमा चिन्नै नसक्ने गरी दल तितरबितर हुने कुरा उठाए। थापाले केन्द्रीय  समितिमा टाउका गनेर आफ्नो हक दाबी कायम गरे पनि ठूलै पहिरो जानसक्ने परिस्थिति हटेको भने छैन।

पूर्वराजा ज्ञानेन्द्रकोे सन्देश आदानप्रदान र संवाद, कोइराला परिवारजन र पटकपटक सांसद बनेका कांग्रेसका अन्य नेतासँग भइरहेको तथ्यले डबल नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल तथा प्रधानमन्त्रीसमेत रहेका केपी ओली झस्केका हुन् ।

विभिन्न दलका नेता पूर्वराजालाई ‘व्यापारी प्रवृत्ति’, ‘सम्पत्ति जाला भन्ने डरले एक्सनमा नगएका,’ ‘भिजन नभएकासँग निकट रहेका’जस्ता आक्षेप लाउँछन्। ‘हामीले राजा÷महाराजा भन्द्याले समाजमा केही सम्मान पाएका हुन्, नत्र कसले पुच्छ ?’ भन्ने पूर्वपञ्चका टिप्पणी निर्मल निवास नपुगेको होइन। त्यस्ता कोठे प्रहारबाट विचलित नभएका पूर्वराजा जसरी भए पनि सत्तामा फर्कनुमा भन्दा स्थायी समाधानमा जोड दिँदै आएका छन्। दुई वर्षअघि राप्रपा तप्काका दोस्रो तहका नेतालाई दमकमा भेटेर एकताका लागि दिइएको सल्लाहबाट सकारात्मक असर नपरेकाले लगभग निरपेक्ष भएर उनले ध्यान अन्यत्र लगेका हुन्।

जाडोमा दार्जिलिङ
पूर्वराजाको पछिल्लो भ्रमण सिलगुढी, दार्जिलिङ, कालिङपोङ र सिक्किममा भएको सन्दर्भले विशेष महत्व राख्छ भन्ने धेरै छन्। स्थानीय नेपालीभाषी तथा विभिन्न दलका नेतासँग भेटघाटका कार्यक्रम राखिनु नेपाल–भारतको राजनीतिक इतिहासमा नौलो घटना हो। अन्य कुनै पनि नेपाली नेताले त्यसखालको सरकारी सत्कार भारतले संवेदनशील ठानेको स्थानमा पाएका छैनन्।पूर्वराजाले दार्जिलिङमा समय बिताएको घटना जाडो छल्न पक्कै होइन। नेपाली मूलका भारतीयहरूको अत्यधिक बाहुल्यता रहेको सिक्किमसमेतका स्थान उनकोे भ्रमण तालिकाले समेट्नुको राजनीतिक तथा कूटनीतिक अर्थ गहिरो छ। भर्खर सुरु भएको करिब दुई हप्ते दिल्ली, अमृतसरसहित अन्य केही भारतीय सहरको भ्रमण त्यसैको प्रतिफल हो।

त्यसअघि काठमाडौँको पशुपति हाउसमा केदारनाथका मठाधीशले एक महत्वपूर्ण सन्देश पूर्वराजालाई बुझाए, जसका लागि पूर्वराजाले आफ्नो तराई भ्रमण तालिका केही दिनका लागि स्थगन गरेका थिए। ‘दुःखका दिन सकिनैलाग्यो,’ मठाधीशले बडो रौनकताका साथ भने। उनको नेपाल यात्रा सहज बनाउन र ‘महाराज’ ज्ञानेन्द्रसँग ती विशिष्ट पाहुनाका लागि समय स्वीकृत गराउन भारतीय दूतावासका उच्च अधिकारी बडो उत्सुक देखिएको पर्यटन उद्यमीहरूले पाए।

छलफलका एजेन्डाका विस्तृत रूपरेखामाथि निर्मल निवासले सहमति जनाएमा चैत–वैशाखको आसपासमा चीन भ्रमणको सम्भावना थियो। कारोना भाइरस प्रकरणका कारण अब सो योजना स्थगित छ। कुरा मिल्यो भने नेपालबाट सोझै हिमाल नाघेर जाने उडान प्रयोग हुनसक्छ। २०७२ देखि यता चीन सरकारको आतिथ्यमा तीनपटक बेइजिङ पुगेका पूर्वराजा ट्रान्सहिमालयन उडान प्रयोग गर्न चाहन्थे तर आयोजक सरकारले दक्षिणपूर्व एसियाबाट चीन प्रवेशका लागि अनुरोध गरेको थियो ।

यता, सरकार ‘कन्ट्रोल डिमोक््रयासी’मा गएकोप्रति शेखर कोइराला खेद प्रकट गर्छन्, ‘कांग्रेस त खाडलमा गयो नै, देश पनि खाडलमा पर्छ।’ सरकारको कमजोरीले व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको गुनासो अर्का कांग्रेस नेता गगन थापाको छ। मधेसकेन्द्रित बुद्धिजीवी विजयकान्त कर्णले त लोकतन्त्र संकटमा घेरिएको घोषणा गरेको महिनौँ भयो। पूर्वमाओवादी बृद्धिजीवी डा. केबी रोकाय भन्छन्, बिपीको टु पिलर (राजसंस्थासहितको प्रजातन्त्र)ले मात्र राष्ट्रको संरक्षण र नेपालीको समृद्धिको आशा गर्न सकिन्छ।

चुलिँदो असन्तुष्टि
मधेसकेन्द्रित दलका मागलाई इङ्गित गर्दै ओलीले भरोसायोग्य ठानेका मन्त्री गोकुल बाँसकोटाले पुस महिनामा नै घोषणा गरेका हुन्, कसैको लहड चल्दैमा संविधान संशोधन हुँदैन। सरकारको प्रवक्तासमेत रहेका उनको अभिव्यक्तिमाथि सत्तास्वादमा पल्केका मधेसकेन्द्रित नेताहरू नसुनेझैँ गर्छन्। सांसद रेशम चौधरीको रिहाइको माग राख्ने राष्ट्रिय जनता पार्टी आफैँ सत्तामा पुग्न लागेकामा लक्ष्मण थारूहरू चूप लागेर नबस्लान्।

अर्को प्रश्न छ, ओली सरकारले मात्र देखेको र भोगेको प्रगति कस्तो हो? आँखा बन्द गरेर समृद्धि नदेखिने ओलीवाणी छ भने उनका समकक्षी अध्यक्ष दाहालको पाठ छ– ‘रातारात प्रगति हुँदैन।’ के नेपाली यति बुर्बक छन् कि मुलुकमा तीव्र गतिमा बढेको समृद्धि नदेख्ने वा एकै दिनमा प्रगतिले ठूलो फड्को मार्छ भन्ने ? यती होल्डिङलाई व्यापारिक साम्राज्य बिस्तार गर्न र शङ्कास्पद फाइदा दिलाउन कसको प्रभावबाट भयो ? पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ठीकै भनेका हुन्, नेता–कार्यकर्ता दम्भ, अहंकार र हठ त्यागेर सच्चिन तयार नहुने हो भने खतराको घण्टी बज्नेमा द्विविधा छैन।

जुनसुकै सर्तमा हुने सत्ताको राजनीतिले कांग्रेस अप्रसांगिक हुने क्रमको भिरोलोमा पुगेको र आफैँ अनेक काण्डमा मुछिएकाले सो दलका केही शीर्ष नेताहरू नेकपा सरकारसँग आँखा जुधाउने नभएर आँखा मिलाउनतिर लागेका हुन्। उचित विषय उठाएर भिड्नुभन्दा सहमतिको नाममा भागबन्डामा लाग्ने प्रतिपक्षी दल उँभो लाग्ने सम्भावना न्यून हुन्छ। अहिलेको जस्तो ओरालो कांग्रेस पहिले कहिले लागेकोथियो त ? उसको कुन शीर्ष नेता हेरेर जनलहर आउला त ? देउवा वा रामचन्द्र पौडेल ? कि कृष्णप्रसाद सिटौला ? पौडेलले ४–५ महिनाको प्रयासपश्चात भारतीय सुरक्षामन्त्री राजनाथ सिंहसँग भेटेको फोटो सम्प्रेषण गर्दा निकै उत्साहित छन्। हिन्दु राष्ट्र नेपालको ‘भिजन’ लिएर फर्केका होलान्। आफू पनि के कम ठानेर होला, शशाङ्क कोइरालासहित मिनेन्द्र रिजाल तथा भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि लखनउमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र तथा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेको तस्बिर उत्सुकताका साथ प्रचार गरे। आदित्यनाथ नेपालमा राजसंस्था र हिन्दु राष्ट्रको पुनर्बहाली चाहन्छन् भन्नेमा कसैको पनि शङ्का नहोला।

त्यसैले न्यूनतम् साझा मुद्दामाथि सहमति, नीतिगत भ्रष्टाचारलाई काबुमा राख्ने, राष्ट्रियतालाई उच्च प्राथमिकता दिने र मुलुकको अन्तर्राष्ट्रिय छवि उकास्नेबारे कार्यगत एकता गर्नेमा विभिन्न कोणबाट प्रयास भइरहेको छ। यसमा गैरडबल नेकपाका अधिकांश समूहको सहभागिता लिने कुरा छ। पूर्वमाओवादी सिपी गजुरेल तथा मोहन वैद्यका साथै अन्य वरिष्ठ वामपन्थी नेता चित्रबहादुर केसी र सिपी मैनालीहरू सामेल हुनसक्छन्। फुटेर बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीका घटकहरू तथा जनजाति समूहहरूको सहभागिताको आशा गर्नेहरू पनि छन्।

निर्णायक घडी
कांग्रेसका लागि अहिलेको समय अनपेक्षित र राहतको अवसर हो। आन्दोलनको आवाज उठाउने दलहरू उसको संयोजकत्वमा सर्वसम्मत अवस्थामा पुग्नसक्छन्। अन्यथा संयोजकको भूमिकाका लागि मोर्चा बनाएर चक्रीय प्रणाली अपनाइने देखिन्छ। समय घर्किसकेपछि कांग्रेसले अवसर गुमाउँछ र मुलुकको सबैभन्दा पुरानो दल उठ्नै नसक्ने हुनसक्छ।

ठूला राजमार्गस्थित २७ वटा पूलमा ठूलो विस्फोटक व्यवधान खडा गर्ने योजना बनाएर दोस्रो संविधान सभाको निर्वाचन रोक्ने सोच राख्ने तत्वहरू समाजवादी दलका शीर्ष नेताहरूले चिनेको हुनुपर्छ। पीडाले प्रेरित गरेको परिवर्तनले पहिरो ल्याउँछ। सत्ता दुरूपयोग गर्ने नेता र भ्रष्टाचारमा डुबेकाहरू जाकिन्छन्, भासिन्छन्, अनिमात्र असली शासनको राजमार्ग निर्माण हुन सक्छ। इतिहास यसको सशक्त साक्षी छ।

सेनाप्रमुख पूर्णचन्द्र थापाप्रति आमबुद्धिजीवीको ध्यान ‘रानी साहेव’जस्ता भाषाको प्रयोगलाई दुरुत्साहित गरेकोबाट मात्र आकर्षित भएको अवश्य होइन। २०७४ सालको भाइटीकाको अवसर पारेर पूर्वराजाले देशको विद्यमान परिस्थितिका कारण आफूले ‘जिम्मेवारी लिने समय आएकोजस्तो लाग्छ’ भनेको २ वर्ष नाघ्योे। आन्तरिक तथा बाह्य स्रोतहरू भन्छन्, अन्तिम घडीमा स्थिति अझ परिपक्व होस् भन्ने सल्लाहका कारण उनले निर्णय पर सारेका हुन्।

प्रखर अधिवक्ता स्वागत नेपालले राष्ट्रियता जोखिममा परेको र भ्रष्टाचार व्याप्त भएको सन्दर्भमा सेना र विप्लव समूहलाई समेत देशबचाउ अभियानका लागि अनुरोध गर्दा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाबाट विद्यमान जनआवाजको सूक्ष्म झझल्को पाइन्छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App