coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको 'वर्थडे केक' : सामाजिक सञ्जालमा आलोचना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्मदिन मनाउन मन्त्री तथा नेताहरु लिएर लावालस्करसहित आइतबार जन्मथलो तेह्रथुमको अठराई गाउँपालिकास्थित तीनसल्ले पुगे भने। दुई हेलिकप्टर सहित आफ्नो जन्म गाउँ पुगेका ओलीको जन्म दिन मनाउन गाउँपालिकाले विदा समेत दिएको थियो।

उनको जन्म दिनको केक पनि काठमाडौंदेखि हेलिकप्टरमै तीनसल्ले पुर्‍याइयो। अल्टिच्युड हेलिकप्टर मार्फत केक त्यहाँ पुर्‍याइएको थियो। विवादित यती समूहले त्यसको नेतृत्व गर्‍यो। नेपाल ट्रष्टकी यान्जोम शेर्पा, यती समूहका लाक्पा सोनाम शेर्पा र अल्टिच्युड एयरका सिताराम सापकोटाको तामझाम पनि त्यहाँ कम थिएन। प्रधानमन्त्री ओलीको जन्मदिनमा केक काट्दै गर्दा शेर्पाले सहजिकरण गरिरहेको तस्बिर तथा भिडियो देख्न सकिन्छ। अल्टिच्युड हेलिकप्टर पनि यती समूहकै हो।

नेपालको नक्साको आकारमा बनाइएको केकबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका छन्। नेपालको नक्सालाई काटिएको भन्दै समाजिक सञ्जल प्रयोगकर्ताले विरोध गरिरहेका छन्।   

विश्लेषक कृष्ण पोखरेलले ट्वीटरमा टिप्पण गरेका छन्, ' चाटुकारहरूले फागुन ११ लाई राष्ट्रिय दिवस मनाउने सल्लाह दिए र क्याविनेटले त्यस्तै निर्णय गर्यो भने अब चाहिं आश्चर्य नमाने भो ! डाडु पन्यु आफ्नै हातमा भएको बेला यति पनि नगरी हुन्छ? '

मनिकर कार्की ट्वीटरमा लेख्छन्, ' जब गणतन्त्र नेपालका एकजना जननिर्वाचित प्रधानमन्त्रीले राजसी ठाँटका साथ राज्यकोष दोहन गरी यसरी जन्मोत्सव मनाउने रहर गर्छन्, अनि आसेपासे र दलीय नेताकार्यकर्ता त्यसैलाई ठिक ठहर्याउँछन्- बस् यस्तो दृष्यले आँखा पोल्छ, मन कुँडिन्छ अनि उच्चाहट पैदा हुनेरहेछ! '

पत्रकार नारायण अमृत ट्वीटरमा लेख्छन्, ' ‘बर्थडे केक’मा नेपालको नक्सा रहेछ। नक्सा काटेर लिम्पियाधुराको अनुमोदन हो कि अरु कुनै अलंकारको खोजी? कहिलेकाँही सौन्दर्य, सन्देश र संवेगको वेसुर बाँसुरीमा मात्र हैन अरु उपक्रमहरुमा बज्दोरहेछ। '

नेकपाले जारी गरेको आचारसंहिता विपरित पार्टी अध्यक्षले जन्मदिन मनाएको भन्दै नेकपा कै नेता कार्यकर्ताले समेत असन्तुष्टि जनाएका छन्।

मुलुकी संहिताको दफा १५१ मा पनि राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने प्रावधान राखिएको छ। यसमा जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न नहुने व्यवस्था छ। यो बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था त्यसमा छ।

 

प्रकाशित: १२ फाल्गुन २०७६ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App