७ वैशाख २०८१ शुक्रबार
खेल

नवजागृतिका विवेकको ह्याट्रिक

नवजागृत युवा क्लबविरुद्ध बल अधि बढाउँदै मदन भण्डारी स्पोर्ट क्लब(सेतो)का खेलाडी। तस्बिर: नागरिक

सञ्जय थापा/दिलबहादुर छत्याल

धनगढी – विवेक चौधरीको ह्याट्रिकप्रेरित सिमराको नवजागृति युवा क्लबले मदन भण्डारी स्पोटर्स क्लबमाथि सहज जित निकाल्दै चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ।

आइतबार धनगढी रंगशालामा भएको प्रतियोगिताको तेस्रो खेलमा नवजागृतिले मदन भण्डारीमाथि ४–० को जितका साथ अन्तिम ८ को यात्रा पक्का गरेको हो। पहिलो हाफ गोलरहित बराबरी खेलेको नवजागृतिले दोस्रो हाफअन्तर्गत खेलमा पूर्ण रूपमा दबाब बनाएको थियो।

५१औं मिनेटमा नवजागृतिले वैकल्पिक खेलाडी सागर चौधरीको गोलमा अग्रता लिएको थियो। सागरले काउन्टर अट्याकमा गोल गरेका थिए। त्यसको ६ मिनेटपछि नवजागृतिले अग्रता दोब्बर बनायो। नवजागृतिका विवेक चौधरीले मदन भण्डारीको रक्षापंक्ति र गोलकिपरबीचको तालमेल अभावको फाइदा उठाउँदै बललाई जाली चुमाएका थिए। अन्तिम १८ मिनेटमा २ गोल थप्दै नव जागृतिले सहज जित पक्का गरेको हो। ७२औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै नवजागृतिको अग्रता ३–० मा पु-याएका थिए। ८२औं मिनेटमा विवेकले पेनाल्टीको सदुपयोग गर्दै ह्याट्रिक पूरा गरे।

प्रतियोगिताको तेस्रो खेलमा नवजागृतिले मदन भण्डारीमाथि ४–० को जितका साथ अन्तिम ८ को यात्रा पक्का गरेको हो।

खेलको पहिलो हाफमा असीम गुरुङले पेनाल्टीको अवसर गुमाउँदा मदन भण्डारीले खेलमा अग्रता लिने मौका खेर फालेको  थियो। नवजागृतिका मनोज चौधरीले विकेक पुनमाथि फाउल गर्दा मदन भण्डारीले पेनाल्टीको अवसर पाएको थियो। असीमको प्रहार नवजागृतिका गोलकिपर दिलमन चौधरीले विफल पारेका थिए।

यसअघि ११औं मिनेटमा विवेकले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिँदा नवजागृतिले अग्रताको अवसर गुमाएको थियो। त्यस्तै ४९औं मिनेटमा विवेक पुनको हेड नवजागृतिका गोलकिपर दिलमनले सहजै जोगाउँदा मदन भण्डारी स्पोर्ट्स क्लबले खेलमा अघि बढ्ने अवसर गुमाएको थियो।

‘ए’ डिभिजन क्लब जावलाखेलले खेलतालिका सार्वजनिक भइसकेपछि प्राविधिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि आयोजकले मदन भण्डारी स्पोर्ट्स क्लबलाई प्रतियोगितामा समावेश गरेको थियो। प्रतियोगिताअन्तर्गत सोमबार गोर्खा ब्बाइज र तिलोत्तमा एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल र भारतका गरी कुल १२ क्लबको सहभागिता रहेको प्रतियोगिता २० गतेसम्म चल्नेछ। प्रतियोगितामा मंगलबारबाट क्वार्टरफाइनलका खेल सुरु हुनेछन्।

प्रकाशित: १२ फाल्गुन २०७६ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App