६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

इजरायलमा एक वर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी, मतदाता निराश

जेरूसेलम (एएफपी) – इजरायलमा मुख्य दलहरूबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक वर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी भइरहेको छ।

गत वर्ष अप्रिल र सेप्टेम्बरमा सम्पन्न दुईवटा चुनावमा दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दल र ब्लु एन्ड ह्वाइट पार्टीले सरकार गठनका लागि साना दलसँग समझदारी निर्माण गर्न नसकेपछि तेस्रो चुनाव गर्नुपर्ने स्थिति उत्पन्न भएको हो।
राजनीतिक सहमति नभए वर्षको अन्तमा चौथो चुनाव हुने अड्कलबाजी गर्न थालिएको छ।

पटक–पटकको चुनावबाट थकित भइसकेका इजरायलीहरूले आगामी मार्च २ मा हुन लागेको आमचुनावमा पनि त्यति उत्साह देखाएका छैनन्।

अघिल्लो चुनावभन्दा यसपटक भिन्न अवस्था देखा पर्न सक्ने आँकलन गरिएको छ। इजरायलका सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री रहेका नेतान्याहुमाथि पदमै रहँदा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएको छ।

गत नोभेम्बरमा उनीमाथिका प्रमाण सार्वजनिक गरिएको थियो भने गत महिना अदालतमा मुद्दा दायर गरिएको छ। उक्त मुद्दामा उनीमाथि घूसखोरी, धोखाधडी र विश्वास भंग गरेको आरोप लगाइएको छ।

प्रधानमन्त्री नेतान्याहुले आफूविरुद्ध लगाइएका आरोप झुठा रहेको भन्दै निरन्तर अस्वीकार गरिरहेका छन्। उनीमाथि लागेको सबैभन्दा गम्भीर आरोप टेलिकम क्षेत्रको रहेको छ। नेतान्याहुमाथिको मुद्दाको सुनुवाई आगामी मार्च १७ तारिखबाट सुरु हुँदैछ।

पछिल्लो चुनावदेखि नै नेतान्याहुलाई सहज हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौं लामो इजरायल–प्यालेस्टाइन द्वन्द्व अन्त्य गर्ने आफ्नो विवादास्पद योजना सार्वजनिक गरेका छन्। तर, प्यालेस्टानीहरूले इजरायली उद्देश्यको पक्षपोषण गरेको भन्दै ट्रम्पको योजनालाई अस्वीकार गरिसकेका छन्।

गत महिना यो पहलको घोषणा गर्नुअघि ह्वाइट हाउसमा ट्रम्पको छेउमै उभिएका नेतान्याहुले यसलाई यहुदी राज्यको लागि ‘ऐतिहासिक’ अवसर भन्दै स्वागत गरेका थिए।

उनले यस सम्झौतालाई ट्रम्पसँगको आफ्नो व्यक्तिगत घनिष्ट सम्बन्धको परिणामको रूपमा चित्रित गरेका छन्। आफू पुनः प्रधानमन्त्री चयन भएमा मात्र अमेरिकी योजनाको कार्यान्वयन गर्न सकिने नेतान्याहुको धारणा छ।

तर, नेतान्याहुमाथिको फौजदारी अभियोग वा इजरायल समर्थक ट्रम्पको पहलले चुनावलाई प्रभाव पार्न सकेको छैन। पछिल्ला चुनावी मतसर्वेक्षणले नेतान्याहूको लिकुड पार्टी र ब्लु एन्ड ह्वाइट पार्टी दुवैले संसदमा बहुमत जुटाउन नसक्ने देखाएका छन्। इजरायली संसद नेसेटमा बहुमत प्राप्त गर्न ६१ सिट आवश्यक पर्छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App