८ वैशाख २०८१ शनिबार
राजनीति

संगठन संरचना र दरबन्दी पुनरावलोकन हुने

काठमाडौं – सरकारले सबै निकायका संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्ने भएको छ। कर्मचारी समायोजनपूर्व निर्धारण गरिएको संगठन संरचना र दरबन्दी वस्तुनिष्ठ नभएको भन्दै सरकारले दरबन्दी पुनरावलोकन थालेको हो। सरकारका विभिन्न मन्त्रालय र माताहतका निकायको संगठन संरचना र दरबन्दी व्यवहारिक नभएको भन्दै सरकारले संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्नका लगि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने भएको छ। कर्मचारीतन्त्रलाई व्यवस्थित बनाउन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि तयार पारि मन्त्रिपरिषद्मा पठाएको छ।

यसअघि २०७४ सालमा कर्मचारी समायोजनपूर्व संगठन संरचना र दरवन्दी निर्धारण गर्दा हतार भएको, संघीय सरकारअन्र्तगत रहने संगठन तथा दरबन्दी अपेक्षित रूपमा वस्तुनिष्ठ र वैज्ञानिक बनाउन नसकिएकाले पुनरावलोकन थालिएको मन्त्रालयले जनाएको छ।

अब यो कार्यविधि पारित भएसँगै संघीय सरकार माताहतका निकायलाई जिम्मेवार बनाउने, श्रेणी तह र संगठनविच तालमेल ल्याउने, अनावश्यक कार्यालय र कर्मचारी दरबन्दी कटौती गर्ने, प्रशासनिक खर्च कटौती गर्नेलगायतका काम हुनेछन्। जसमा कर्मचारीले हप्तामा ४० घन्टा काम गर्नुपर्ने र ४० घन्टा कार्यवोझ देखिएमा मात्रै दरबन्दी थप हुनेसमेत कार्यविधिमा उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार अब केही दिनभित्रै कार्यविधि स्वीकृत भई सरकारका सबै निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण हुनेछन्। त्यसपछि अनावश्यक कार्यालय र कर्मचारी कटौती गर्ने, व्यावहारिक संगठन संरचना र दरबन्दी निर्धारण गरिने मन्त्रालयका एक सहसचिवले बताए। ‘अहिले कुनै ठाउँमा कार्यबोझ भयो, कर्मचारी भएनन्, कतै कर्मचारी छन्, त्यो निकाय आवश्यक नै नभएको महसुस भएको छ,’ उनले भने, ‘अब संगठन संरचना र दरबन्दी पुनरावलोकन गरी सार्वजनिक निकाय र कर्मचारीलाई व्यावहारिक बनाइनेछ।’

प्रकाशित: १२ फाल्गुन २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App