coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘सरकारले नै नीतिगत भ्रष्टाचार तीव्र बनायो’

फाइल तस्बिर

काठमाडौं –  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारले नीतिगत भ्रष्टाचारलाई तीव्र बनाएको भन्दै त्यसको खोजबिन गर्ने भएको छ। सरकारको गतिविधि नियाल्न पार्टीका तर्फबाट विभिन्न मन्त्रालय हेर्ने जिम्मेवारी पाएका सांसदको आइतबार संसदीय दलको कार्यालय सिंहदबारमा बैठक राखि आर्थिक र नीतिगत भ्रष्टाचारको खोजी गर्न निर्देशन दिइएको हो।

संसदीय दलको विधानको धारा ९ को उपधारा ५(क) अनुसार सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले जेठ ६ गते २१ संयोजकसहित ३७ सांसदलाई विभिन्न मन्त्रालयमाथि निगरानी राख्ने जिम्मेवारी तोकेका थिए। तर, सरकारले नीतिगत र आर्थिक भ्रष्टाचार तीव्र पारिरहँदासमेत पार्टीका तर्फबाट जिम्मेवारी दिइएका नेताहरूले कुनै काम नगरेको भन्दै संसदीय दलका नेता देउवाले असन्तुष्टि जनाएका छन्। सरकारका मन्त्रीका गतिविधि दिनदिनै विवादित बनिरहँदा जिम्मेवारी तोकेपछि पहिलोपटक बैठक नै राखेर देउवाले आफ्ना सांसदसँग जानकारी माग गरेका हुन्।

संयोजकको जिम्मेवारी पाएका सांसदसँग प्रगति विवरण माग्दै त्यहाँ भइरहेका गतिविधिको देउवाले जानकारी माग गरेका छन्। आ–आफ्नो कामलाई अझ सशक्त बनाउन बनाउन निर्देशन दिँदै देउवाले सरकारले गरेका सबै खाले भ्रष्टाचार बाहिर ल्याउन पनि अ¥हाएका छन्। सदन, सडकदेखि पार्टीभित्रबाट भ्रष्टाचार र अनियमिताको सशक्त ढंगबाट प्रतिवाद गर्ने निष्कर्ष निकाल्दै कांग्रेसले आएका विषयमा विज्ञसँगसमेत छलफल गरेर अघि बढ्ने भनिएको छ। ‘जसले जुन मन्त्रालय हेर्नुभएको छ। त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्ड रोक्न त्यसलाई बाहिर ल्याउनुपर्छ,’ देउवाको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउनू।’

पार्टी सभापति एवं संसदीय दलका नेता देउवाले मन्त्रालयको भ्रष्टाचार खोज्न निर्देशन दिएका छन्। ‘निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो भ्रष्टाचार कति भइरहेको छ भन्ने प्रमाण हो,’ देउवाले भनेका छन्, ‘यस्तो भ्रष्टाचार अरु मन्त्रालयमा पनि भइरहेको छ। त्यसको खोजी गर्नुस्।’ सञ्चारमा जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भइरहेको हुनसक्ने भन्दै केन्द्रीय सदस्यसमेत रहेकी सांसद डिला संग्रौलाले भनिन्,‘यसबारे सम्बन्धित छाया मन्त्रीले गहन अध्ययन गरेर रिपोर्टिङ गर्ने निर्णय भएको छ।’

प्रकाशित: १२ फाल्गुन २०७६ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App