coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एआइजी बन्न तानातान

काठमाडौं – नेपाल प्रहरीमा रिक्त तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सात प्रहरी नायब महानिरीक्षक (डिआइजी) बीच प्रतिस्पर्धा सुरु भएको छ। प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीका ब्याची तारणीप्रसाद लम्साल, त्यसपछिका शैलेश थापा, हरि पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेलबीच प्रतिस्पर्धा सुरु भएको हो। अहिले जुन डिआइजी एक नम्बर एआइजीमा बढुवा हुन्छ, त्यही पाँच महिनापछि आइजिपी हुने अवस्था छ।

आइजिपीका ब्याची लम्सालपछि बढुवा हुने ९१औं ब्याचका थापा, पाल, शाही र कार्कीमध्ये पहिलो नम्बरमा जसको बढुवा हुन्छ त्यही नै आइजिपीको प्रबल दाबेदार हो। ९१औं ब्याचीको वैकल्पिक समूहमा भर्ना भएका डिआइजी पोखरेल पनि प्रतिस्पर्धामा छन्। पोखरेल एआइजी बन्ने दौडमा सहभागी भएपछि प्रहरी संगठनभित्र हलचल मच्चिएको छ। आठ महिना सिनियरसँग बढुवाको दौडमा सहभागी भएका पोखरेल एआइजी भए भने संगठनमा चेन अफ कमान्ड बिग्रने बताउन थालिएको छ। हाल पोखरेलको वरीयता नम्बर भने उपाध्यायको भन्दा बढी रहेको छ। ९१औं ब्याची थापा, पाल, शाही र कार्कीभन्दा उपाध्याय वरीयतामा पछि छन्। तर उनी आइजिपी ज्ञवालीकै ब्याची हुन्। प्रहरी प्रधान कार्यालयले डिआइजी लम्साल, थापा र पाललाई एआइजीका लागि सिफारिस प्रस्ताव तयार गरेको छ। स्रोतका अनुसार त्यसमा शाही, कार्की, उपाध्याय र पोखरेललाई समेटिएको छैन। ‘गृह मन्त्रालयले सिफरिस मागेको बखत लैजान प्रस्ताव तयार भएको छ। मंगलबार मन्त्रीज्यू काठमाडौं आएपछि प्रस्ताव पठाउन सकिन्छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

आइजिपी ज्ञवाली र हालका डिआइजी लम्सालले आगामी असार २४ मा अवकाश पाउने भएपछि भावी आइजिपीका लागि अहिले बढुवा हुने टोली प्रतिस्पर्धी हुन्छन्। पोखरेल भने गत वैशाखमै डिआइजीमा बढुवा भएका थिए। उनका ब्याचीहरु अबमात्रै बढुवा हुनेछन्। डिआइजी सुशील भण्डारीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको स्थानमा पोखरेलको बढुवा भएको हो। ९१औं ब्याचका वैकल्पिक पोखरेल आफ्नो ब्याचमध्येबाट आइजिीपीका स्वाभाविक दाबेदार हुन। तर उनी अहिले नै एआइजीको दौडमा रहेपछि ९१औं ब्याचकाले त्यसलाई अस्वाभाविक भन्दै विरोध गरिरहेका छन्। ‘११ महिनापछिको भर्ना तथा डिआइजी बढुवा हुँदा पनि आठ महिना पछि रहेका पोखरेललाई एआइजीमा बढुवा गरेर आइजिपी बनाउने चलखेल भए ९१औं ब्याचका सबै अधिकृत बाहिरिने सम्भावना छ’, सोही ब्याचका एक अधिकारीले भने। सो ब्याचमा ९७ जना अधिकृत छन्। हाल डिआइजी थापाको टोली २०४९ वैशाख १९ गते भर्ना भएका थिए भने २०४९ चैत ११ गते पोखरेलको टोली भर्ना भएको थियो। पोखरेलले पनि आफूलाई ९१औं ब्याचकै भएको बताउँदै आएका छन्।

२०४९ सालमा तालिमपछिको मेरिटमा शैलेश थापा पहिलो नम्बरमा र ईश्वरबाबु कार्की दोस्रो नम्बरमा थिए। त्यति बेला हालका दोस्रो नम्बरमा रहेका हरि पाल ११औं र तेस्रो नम्बरमा रहेका शाही नवौं नम्बरमा थिए भने प्रद्युम्न कार्की पाँचौं नम्बरमा थिए। शासन र सरकार बदलिएपछि २०५८ सालमा डिएसपी बढुवा हुँदा राजेशलाल कर्णलाई एक नम्बर, थापालाई दोस्रो र सौरभ राणालाई तेस्रो, शाहीलाई चौथो र कार्कीलाई पाँचौं नम्बरमा बढुवा गरियो। त्यसैगरी २०६६ सालमा एसपी बढुवा गर्दा ईश्वरबाबु कार्कीलाई झन् पछि धकेलिदिए। त्यस बेला बानेश्वर वृत्तमा रहेका दिलीप चौधरीलाई आन्दोलनमा घाइते भएको भन्दै एक नम्बरमा बढुवा गरियो भने दोस्रो नम्बरमा कर्णलाई बढुवा गरिएको थियो। तेस्रोमा थापा, चौथोमा शाही, पाँचौंमा पाल र छैटौंमा प्रद्युम्न कार्कीलाई बढुवा गरिएको थियो। २०७४ मा एसएसपी बढुवा गर्दा थापा, शाही र कार्कीलाई तेस्रो नम्बरमा बढुवा गरियो भने चौथोमा पाल बढुवा भए। त्यही समूहमा पछिल्लो ब्याचमा पोखरेल नवौं नम्बरमा बढुवा भए। २०७४ सालको बढुवामा थापाका ब्याचीसँगै पोखरेल समूहका चारजना पनि एसएसपी भएका थिए। त्यति बेला नवौं नम्बरमा बढुवा भएका पोखरेल अहिले एआइजीको दाबेदार भएका हुन। ‘उनको ब्याचमा प्रतिस्पर्धा हुनुलाई स्वाभाविक मानिन्छ तर अघिल्लो ब्याचलाई पनि फ्डको मार्न खोज्नुबाट चेन अफ कमान्डमा ठूलै असर पर्छ। त्यसकारण अघिल्लो ब्याचका अधिकारीहरुले संगठन छोड्नुको विकल्प छैन’, ९१औं ब्याचका एक अधिकारीले भने।

हालका एसएसपी पुरुषोत्तम कँडेल, गणेश ऐर, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, देवबहादुर बोहोरा, वसन्तकुमार पन्त पोखरेलभन्दा ११ महिनाअघि प्रहरी संगठनमा प्रवेश गरेका भए पनि एसएसपीमा बढुवा हुँदा पोखरेल नै वरिष्ठ भएका थिए। त्यसपछि उनी आफ्नो भन्दा पनि अघिल्लो ब्याचबाटै सिनियर हुँदै आएका छन् जसका कारण उनी भावी आइजिपीका लागि स्वाभाविक दाबेदार हुन्। २०७४ साउन १९ गतेको बढुवामा पोखरेलपछि प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की र उनका ब्याची धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा र दिवेश लोहनी बढुवा भएका थिए। पोखरेल, सिंह, सुवेदी, लामा, लोहनी र सहकुल थापा २०४९ चैत ११ गते प्रहरी संगठनमा प्रवेश गरेका हुन्।

अहिलेकै अवस्था हेर्ने हो भने ठाकुर, ज्ञवाली र तारणी लम्सालको अवकाशसँगै शैलेश थापाको ब्याचबाट आइजिपी हुने अवस्था छ। प्रहरी नियमावलीअनुसार २०७७ असार २५ गते मात्रै उनीहरूले अवकाश पाउनेछन्। उनीहरूपछि २०७५ असोज २८ गते डिआइजीमा बढुवा भएको टोलीमध्येबाट संगठन प्रमुख हुने अवसर पाउनेछन्। सो टोलीका डिआइजीहरू थापा, पाल, शाही र प्रद्युम्न कार्कीमध्ये एकजना संगठन प्रमुख भए भने त्यसपछि मात्रै पोखरेलको पालो पनि स्वाभाविक रुपमा आउनेछ। हाल तीन एआइजीसहित १६ डिआइजीको पद खाली छ। त्यसपछि मात्रै पोखरेलका ब्याचीहरू डिआइजीमा बढुवा हुने सम्भावना छ। अहिले आफ्ना ब्याचीभन्दा अघि नै डिआइजी भएकाले पछि खाली हुने एआइजीमा पोखरेलको स्वतः दाबी रहनेछ। थापासहित पाल, शाही र कार्कीमध्ये एआइजी भए भने पोखरेल त्यसक्रममा भने सिनियर डिआइजीका रूपमा रहनेछन् र उनको प्रतिस्पर्धा त्यति बेला आफ्नै ब्याचीसँग हुनेछ।

चार भाइको गठबन्धन
डिआइजी शैलेश थापा, हरि पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्कीले अस्वस्थ प्रतिस्पर्धा नगर्ने जनाएका छन्। उनीहरुले आइतबार पनि प्रहरी प्रधान कार्यालयमा जम्मा भएर आफूहरुमध्ये जो संगठन प्रमुख भए पनि एकले अर्कोलाई सहयोग गर्ने सहमति गरेका छन्। तर पछिल्लो ब्याचबाट कोही आए त्यसमा आफूहरु असहमत हुने र संगठन नै छाड्नुपरे पनि एकै साथ छाड्ने निष्कर्ष उनीहरुले निकालेको स्रोतको दाबी छ। ‘हामी कोही कसैसँग झगडा गर्देनौं, आफ्नो ब्याचमा जो अघि बढे पनि स्वीकार्य हुन्छ। यस्तो भावना बरु अन्य ब्याचले पनि सिके हुन्छ’, तीमध्येका एक डिआइजीले नागरिकसँग भने।

प्रकाशित: १२ फाल्गुन २०७६ ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App