coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वडाध्यक्ष र विव्यास अध्यक्षका कारण विद्यालय भद्रगोल

विव्यास खारेजीको मागमा विरोध र्‍यालीसहित नगरपालिका पुगेका दोर्पाचिउरीडाँडाका अभिभावक । तस्बिर : दमन/नागरिक

खोटाङ– वडाध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित अन्नपूर्ण मावि द्धन्द्धमा फसेको छ। वडाध्यक्ष लिला चौहान र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश राईबीचको आन्तरिक विवादको असर विद्यालयमा परेको हो। द्धन्द्धका कारण विद्यालयको शैक्षिक वातावरण खलबलिएको छ। बढ्दो द्धन्द्धका कारण विद्यालयको बिग्रँदो शैक्षिक वातावरणप्रति अभिभावक चिन्तित छन्।

हाल वडाध्यक्ष चौहान आन्तरिकरुपमा व्यवस्थापन समितिसँग असन्तुष्ट अभिभावकलाई प्रयोग गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईलाई पदबाट हटाउने र आफू अनूकुलको व्यवस्थापन समिति बनाउने कसरतमा लागेका छन्। व्यवस्थापन समितिका अध्यक्ष राई पनि वडाध्यक्षसँग भिडेर आफ्नो कार्यकाल पूर्णरुपमा विताउन प्रयासरत देखिन्छन्। गत मंसिरमा वडा कार्यालयले व्यवस्थापन समिति खारेजको माग गर्दै नगरपालिकामा पत्र पठाएपछि उनीहरुको द्धन्द्धले उग्र रुप लिएको हो। वडाध्यक्षले व्यवस्थापन समिति खारेजीको माग गर्दै नगरपालिकामा पत्राचार गरेपछि पुस ७ गते नगर शिक्षा शाखाको टोली विद्यालयमा पुगेको थियो तर टोलीको प्रतिबेदन अहिलेसम्म सार्वजनिक भएको छैन।

वडाध्यक्ष चौहान र व्यवस्थापन समितिका अध्यक्ष राईकै द्धन्द्धका कारण गत पुस २० गते विद्यालयमा ताला लगाइए। पुस २३ गते विव्यासको बैठक बसेर तालाबन्दीको विषयमा आपत्ती जनाउँदै छानबीनका लागि नगरपालिकालाई आग्रह गर्ने निर्णय गर्‍यो  हिउँदे बिदा सुरु भएको दिन लगाइएको ताला वडा कार्यालय आफैले बोलाएको अभिभावक भेलापछि माघ १२ गते खुलाइएको थियो। माघ १२ गतेको बैठकमा विव्यासले ‘अभिभावक भेला बोलाउने, नबोलाए समिति पुर्नगठन गर्ने’ निर्णय गरिएको थियो। सोही निर्णयको आधारमा व्यवस्थापन समितिले माघ २३ गते बोलाएको बैठकमा समस्या समाधानका लागि ‘नगरपालिकाको निर्णय पर्खने वा तत्काल व्यवस्थापन समिति पुर्नगठन गर्ने’ प्रस्ताव गरिएकामा नगरपालिकाकै निर्णय अनुसार चल्ने शर्तमा बैठक टुंगिएको विव्यास अध्यक्ष राईले बताए।

विव्यास खारेजको मागमा विरोध र्‍याली  
३ वर्षे कार्यकाल भएको राई नेतृत्वको व्यवस्थापन समितिको कार्य अवधि अझै ढेड वर्ष बाँकी छ। राई २०७५ साल भदौमा तेश्रो कार्यकालका लागि अन्नपूर्ण माविको व्यवस्थापन समितिको अध्यक्षमा चुनिएका थिए। गत भदौमा अभिभावककातर्फबाट एसइईमा विद्यालय निल भएको, परिक्षामा गलत प्रश्नपत्र उपयोग गरिएको, अभिभावक भेला नबोलाइएको, हिनामिना भएको लगायतका पाँच बुँदे माग गर्दै विव्यास अध्यक्षविरुद्ध विद्यालयमा निवेदन परेको थियो। त्यसकै सिलसिलामा आइतबार दुई वटा बस चढेर दिक्तेल पुगेका अभिभावकले नाराजुलुससहित विव्यास खारेज गरी नयाँ समिति पुर्नगठनको माग गर्दै नगरपालिका समक्ष ज्ञापन–पत्र बुझाएका छन्। उनीहरुको ज्ञापत्र–पत्रमा अभिभावक भेला नबोलाएको, गलत प्रश्नपत्र प्रयोग गरेर परिक्षा गराइएको, शिक्षकको तलव बढाएर विद्यालयको आर्थिक अवस्था कमजोर बनाएको, अभिभावकको गुनासोलाई नसुनी अनिर्णयको बन्दी बनाएको, विद्यालयको आर्थिक, भौतिक र शैक्षिक गतिविधिमा ध्यान दिन नसकेको लगायतका बुँदा उल्लेख छ।

बाहिर विद्यालयको चिन्ता, भित्र शिक्षक नियुक्तीको
अन्नपूर्ण माविमा गत मंसिरदेखि प्रावि दरबन्दीमा दुई, पुसदेखि आधारभुत तहको गणित विषयको एक र मावि अनुदान कोटा रिक्त छ। बाहिर जे देखिए पनि भित्र भने नयाँ शिक्षक नियुक्तीका विषयमा वडाध्यक्ष चौहान र व्यवस्थापन समितिका अध्यक्ष राईबीचमा द्धन्द्ध चर्किएको स्थानीय गजेन्द्र राईले बताए। श्रोतका अनुसार सो रिक्त दरबन्दीमा वडाध्यक्ष चौहानले आफूले चाहेको मान्छे नियुक्ती गर्न चाहन्छ।

तर, व्यवस्थापन समितिका अध्यक्ष राई सो कुरा स्वीकार गर्ने पक्षमा छैनन्। त्यसैले वडाध्यक्ष चौहान आफू अनूकुलका व्यक्तीलाई व्यवस्थापन समितिमा ल्याएर शिक्षक नियुक्ती गर्ने खेलमा लागेको विद्योद्धय माबि दोर्पाचिउरीडाँडाका शिक्षक प्रेम थापाले बताए। गत पुस ६ गते नगरपालिकाले आधारभुत तहमा शिक्षक नियुक्तीका लागि सिफारिस दिए पनि शिक्षा शाखामा नपुग्दै सहायक प्रअ पेशलकुमार राईलाई वडाध्यक्ष चौहानले रोकेको बताइएको छ।

‘अहिले जे भइरहेको छ, त्यो विद्यालय सुधारौं, विद्यालय सपारौं भन्ने होईन,’ गजेन्द्रले भने, ‘स्कुलको चिन्ता, बालबालिकाको भविष्यको चिन्ता होईन, कसरी आफूले भनेको शिक्षक नियुक्ती गर्ने भन्नेमा उहाँहरुको चिन्ता बढि छ।’ वडाध्यक्षकै कारण मावि अनुदान कोटामा शिक्षक नियुक्तीका लागि चौथोपल्ट खुलाइएको विज्ञापनको परिक्षा रद्ध गरिएको जनाइएको छ। गत फागुन १ गते बसेको व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार रिक्त राहत दरबन्दीमा शिक्षक नियुक्तीका लागि तेश्रो पटक नगरपालिका पुग्नु परेको विव्यास अध्यक्ष राईले गुनासो गरे।

वडाध्यक्ष चौहान र विव्यास अध्यक्ष राईबीचको द्धन्द्ध राजनैतिक पनि हो। वडाध्यक्ष चौहान तत्कालिन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्। व्यवस्थापन समितिका अध्यक्ष राई पनि तत्कालिन एमालेकै स्थानीय नेता हुन्। स्थानीयका अनुसार उनीहरुबीचको द्धन्द्धको कारण राजनैतिक शक्ती ‘एक्सरसाईज’ पनि हो। वडाध्यक्ष चौहानले वडामा नेकपाको समानान्तर कमिटि बनाएपछि विरोध जनाउँदा आफूलाई विव्यासबाट हटाउने खेल सुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष राईले बताए। वडाध्यक्ष चौहानले भने आफूलाई जवरजस्ती विवादमा मुछ्ने काम गरिएको बताए।

 

प्रकाशित: ११ फाल्गुन २०७६ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App