७ वैशाख २०८१ शुक्रबार
खेल

जावलाखेललाई बाग्मती गोल्डकपको उपाधि

सिजनको पहिलो तेश्रो बाग्मती गोल्डकपको उपाधि उचाल्दै जावलाखेल युथ क्लब ललितपुरका खेलाडीहरु ।

मकवानपुर- ‘ए’ डिभिजन क्लब जावलाखेल युथ ललितपुरले सिजनको पहिलो तेश्रो बाग्मती गोल्डकपको उपाधि उचालेको छ। पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका-८, फापरबारीमा आइतबार भएको फाईनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौंलाई १–० गोलको अन्तरले पराजित गर्दै जावलाखेलले ६ लाख रुपैयाँ र ट्रफ्री उचालेको हो।

उपविजेता हिमालयनले नगद ३ लाख, शिल्ड र मेडलमा चित्त बुझायो। जावलाखेलका ड्यारी जुनियरले पहिलो हाफको ईन्जुरी समयमा ४९ औं मिनेटमा गरेको गोलले हिमालयनलाई उपविजेतामा रोक्न सफल भयो। पहिलो हाफमा हिमालयनका खेलाडीहरुले खेललाई बराबरीमा ल्याउन निक्कै प्रयास गरे पनि असफल भए।

पहिलो हाफमा हिमालयनसँगै जावलाखेलका खेलाडीहरुले बललाई जाली चुमाउने प्रयास गरेका थिए तर सफल हुन सकेनन्। दोस्रो हाफमा निक्कै आक्रामक खेल प्रदर्शन गर्दै हिमालयन शेर्पाले खेललाई बराबरीमा ल्याउन धेरै पहल गरेका थिए।

हिमालयनले गोल रक्षक छिरिङ्ग लामाको सट्टा किशोर गुरुङलाई मैदानमा उतारेको थियो। खेलको ६५ औं मिनेटमा हिमालयनका खेलाडीको पासमा अर्का खेलाडी सामिरले प्रहार गरेको बल पोष्टको कर्नरबाट बाहिरिएको थियो।

लगत्तै हिमालयनले डिबक्स पाएको फ्रिकिकलाई विजय श्रेष्ठले प्रहार गरेको बललाई जावलाखेलका गोल रक्षकले रोकेका थिए। खेलको अन्त्यतिर ईन्जुरी समयमा जावलाखेलका तर्फबाट भएको गोललाई फउल भएको भन्दै रेफ्रिले मान्यता दिएनन्। खेलमा हिमालयनका खेलाडीहरुको प्रहारलाई जावलाखेलका गोल रक्षक अरुण ब्लोनले बचाएका थिए।

जावलाखेल युथ क्लबका विदेशी खेलाडी अदाम डुम्बीया प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै नगद ५० हजार र ट्रफी पाए। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक जावलाखेल युथ क्लबका अरुण ब्लोन, उत्कृष्ट फरवार्ड जावलाखेल युथ क्लबका सुजित बुढाथोकी, उत्कृष्ट मिडफिल्डर जावलाखेल युथ क्लबका सुरज ठकुरी, उत्कृष्ट  प्रशिक्षक जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर केसी  र  हिमालयन शेर्पाका मानबहादुर तमाङ्ग उत्कृष्ट डिफेण्डर हुँदै जनही १० हजार प्राप्त गरे। फाईनल खेलमा जावलाखेल युथ क्लबका दिलेन मोक्तान म्यान अफ दी म्याच हुँदै ५ हजार रुपैंया प्राप्त गरे।

बाग्मती प्रदेशका सांसद प्रेमबहादुर पुलामी, बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा लगायतले खेलाडीहरुलाई ट्रफी, नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

उपाधि जितेमा जावलाखेलले ६ लाख रुपैयाँ पुरस्कारसँगै थप ४ लाख बोनस पनि पाउने भएको छ। ललितपुर महानगरपालिकाले फिफा मान्यताप्राप्त प्रतियोगिता जितेमा जिल्लाभित्रका फुटबल क्लबलाई ४ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।

प्रतियोगितामा ५ वटा ‘ए’ डिभिजन, प्रदेश र जिल्लास्तरीयसहित १० टिमको सहभागिता रहेको थियो। पहिलो बागमती गोल्डकपको उपाधि हरिहरपुरगढी खेलकुद विकास समिति सिन्धुलीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधि सरस्वती युवा क्लब काठमाडौंले हात पारेको थियो।

 

प्रकाशित: ११ फाल्गुन २०७६ १३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App