coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाबुको हत्या गर्ने छोरा पक्राउ

रौतहट- सामान्य घरायसी विवादका कारण आफ्नै बाबुको हत्या गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। दुर्गा भगवती गाउँपालिका-३ देवीपर्साका ७० वर्षीय फेकन पण्डित कुम्हारलाई आफ्नै छोराले हथौडा र गँडासीले प्रहार गरी निर्मम हत्या गरेको घटना सार्वजनिक भएको छ।

गत माघ २८ गते बिहान करिब पाँच बजे फेकनका छोरा राजकुमार पण्डितले बाबुको हत्या भएको खबर सबैतिर फैलाए। आफैँले प्रहरीलाई पनि खबर गरे। बाबुको अनुहारभरि गँडासीले काटेको र टाउकोमा हथौडाले हानेर विभत्स हत्या गरिएको थियो। पिप्रा बजारमा सामान्य किराना पसल सञ्चालन गर्ने पण्डितले नै हत्या गरेको हो भन्ने कुरो तत्काल कसैले अनुमानसम्म लगाउन सकेन।

जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी निरीक्षक नवीनकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरी घटनाको विस्तृत अध्ययन गर्न थालेपछि अनुसन्धानले अर्कै मोड लिएको थियो। सामान्य घरासयी विवादका कारण छोराले नै बाबुको हत्या गरेको खुल्न थालेको थियो। तालिम प्राप्त कुकुरले पनि घटनास्थलको जाँच गर्ने क्रममा पक्राउ परेको अभियुक्ततर्फ नै संकेत गरेको थियो। प्रहरीले विभिन्न किसिमले अनुसन्धान गरेपछि फागुन ७ मा छोरा पण्डितलाई पक्राउ गर्‍यो।

पुरानो रिसइबीका कारण बाबुसँग बदला लिन्छु भन्ने कसम खाएका पण्डितले माघ २७ गते राति खाना खाएर सुतेको र बिहान अन्दाजी २/३ बजे घरभन्दा अलि पर बाबु सुतेको ठाउँमा पुगेर हथौडाले तीन चार पटक टाउकोमा अन्धाधुन्ध प्रहार गरेको र गँडासीले अनुहारमा चार/पाँच पटक हानेर हत्या गरेको स्वीकार गरेका छन्। बाबुको हत्या गरी पण्डित घरमा आएर कपडा बदलेको र साढे पाँच बजेतिर आफैँ फेरि गोठमा पुगेर बाबुलाई कसैले हत्या गरेको भनी हल्ला गरेको स्वीकार गरेका छन्।

पण्डितविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी पनि परेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। रौतहट जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अगाडि बढाइएको रौतहट प्रहरी प्रमुख रविराज खड्काले जानकारी गराएका छन्।

प्रकाशित: ११ फाल्गुन २०७६ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App