६ वैशाख २०८१ बिहीबार
समाज

पढ्न विदेश जाने बढे, बाहिरिँदै वार्षिक २० अर्ब

काठमाडौं- धनगढीका पंकज अधिकारी आइतबार राति ११ बजे उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया उडे। तीन दिनअघिमात्र अधिकारीले सर्वोत्कृष्ट विद्यार्थी घोषित भई ललितचन्द र बडाकाजी मरिचमान सिं पदक प्राप्त गरेका थिए। उनले राजनीति शास्त्र केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट राजनीति शास्त्र विषयमा ८० प्रतिशत अंक ल्याएर विशिष्ट श्रेणीमा सर्वप्रथम स्थान हासिल गरी पदक प्राप्त गरेका हुन्।

अधिकारीमात्र होइन, अध्ययन र अन्य अवसरका लागि विदेश जानेको संख्या बढ्दै गएको छ। पछिल्ला दिनमा दैनिक डेढ सय जनाले शिक्षा मन्त्रालयबाट विदेश अध्ययनका लागि 'नो अब्जेक्सन लेटर' लिने गरेका छन्। विदेश जाने विद्यार्थीको संख्या बढ्दै जाँदा राज्यले दक्ष जनशक्ति गुमाउनुका साथै वार्षिक २० अर्बभन्दा बढी  रुपैयाँ बाहिरिने गरेको छ।

पछिल्ला दिनमा दैनिक डेढ सय जनाले शिक्षा मन्त्रालयबाट विदेश अध्ययनका लागि 'नो अब्जेक्सन लेटर' लिने गरेका छन्।

शिक्षा मन्त्रालयका उपसचिव डिलिश्वर प्रधानले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा साउनदेखि मंसिर मसान्तसम्म १६ हजार ८ सय २७ विद्यार्थीले विदेश अध्ययनका लागि नो अब्जेक्सन लेटर लिएका छन्।

आर्थिक वर्ष ०७०/७१ मा २८ हजार १ सय २६ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए भने आर्थिक वर्ष ०७१/०७२ मा ३० हजार ६ सय ९६ ले नो अब्जेक्सन लेटर लिएको प्रधानले बताए। ०७२/०७३ मा भने ३२ हजार ४ सय ८९ जनाले नो अब्जेक्सन लेटर लिए।

विदेश अध्ययनमा जाने विद्यार्थीको पहिलो रोजाइको देश अस्ट्रेलिया रहेको मन्त्रालयले जनाएको छ। उपसचिव प्रधानका अनुसार चालू आवको हालसम्म नो अब्जेक्सन लेटर लिने विद्यार्थी अस्ट्रेलियाका लागि बढी छन्। यो समय अवधिमा अस्ट्रेलियाका लागि मात्र १२ हजार २ सय ३८, जापनका लागि ४ हजार ८ सय ८८, अमेरिकाका लागि ४ हजार ५ सय ९, भारतका लागि १ हजार ३ सय४७, पोल्यान्डका लागि १ हजार २९, चीनका लागि ९ सय १०, क्यानाडाका लागि ४ सय ९, डेनमार्कका लागि ४ सय, जर्मनीका लागि ३ सय ८३ र बंगलादेशका लागि ३ सय ६३ जनाले नो अब्जेक्सन लिएका छन्।

गत वर्ष अस्ट्रेलिया अध्ययनका लागि नो अब्जेक्सन लेटर लिनेको संख्या सबैभन्दा बढी थियो। ५ हजार १ सय ६० जनाले लिएका थिए। 'गत वर्षदेखि अस्ट्रेलिया अध्ययनका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीका संख्या ह्वात्तै बढेको छ,' उपसचिव प्रधानले नागरिकसँग भने, 'विद्यार्थीले भाषा, बिजनेस, आइटी, नर्सिङ, एकाउन्टिङ र होटेल व्यवस्थापनजस्ता विषय रोज्ने गरेका छन्।' उनले थपे, 'चालू वर्षको अन्त्यसम्ममा नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या ४० हजार नाघ्न सक्छ।'

राष्ट्रबैंकको तथ्यांकअनुसार विदेशिने विद्यार्थी बढेसँगै नेपालबाट शिक्षाका लागि बाहिरिने रकम पनि बढेको छ। आर्थिक वर्ष ०७२/७३मा २०.१४ अर्ब रुपैयाँ शिक्षामा बाहिरिएको छ भने आर्थिक वर्ष ०७१/०७२ मा १७.०७ अर्ब र आर्थिक वर्ष ०७०/०७१ मा १५.१२ अर्ब रकम बाहिरएको थियो।

सरकारले स्वदेशमै अवसर तथा अनुसन्धानमूलक शिक्षामा लगानी बढाउन नसकेका कारण विद्यार्थी विदेशिनुपरेको शैक्षिक परामर्श संघ नेपाल (इक्यान) का उपाध्यक्ष विष्णुहरि पाण्डेले बताए। उनका अनुसार सुरक्षित वातावरणमा अध्ययन पूरा हुने र गुणस्तरीय जीवन जिउने आधारसमेत तयार हुने भएकाले विद्यार्थीको आकर्षण अस्ट्रेलिया बन्दै गएको हो।

अस्ट्रेलियामा अध्ययनपछि दुई वर्षसम्म पोस्ट स्टडी वर्क गर्नुपर्ने र पिआरसमेत सहज व्यवस्था हुने भएकाले विद्यार्थीको रोजाइमा परेको उनले बताए। 'अस्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीले अध्ययन खर्च आफैं उठाउँछन्,' उपाध्यक्ष पाण्डेले नागरिकसँग भने, 'तनावरहित सुरक्षित वातावरणमा विश्वका उत्कृष्ट विश्वविद्यालयबाट अध्ययन पूरा हुनासाथ विश्वबजारमा बिक्छन्।' उनले थपे, 'अस्ट्रेलियामा 'डिपेन्डेन्ट' समेत लान पाइने सुविधाले पनि विद्यार्थीको आकर्षण बढेको हो।'

प्रकाशित: १९ पुस २०७३ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App