७ वैशाख २०८१ शुक्रबार
समाज

ठडिए सरकारी कार्यालय

भूकम्पपछि पुनर्निर्मित साविक कृषि विकास कार्यालयको भवन । यो भवनमा अहिले चौतारा–साँगाचोकगढी नगरपालिकाको कार्यालय सञ्चालित छ । तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक- बिनासकारी भूकम्पले क्षतिग्रस्त बनाएका प्रशासनिक केन्द्र सदरमुकाम चौताराका सरकारी कार्यालय ठडिएका छन्। भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत सदरमुकाममा २१ सरकारी कार्यालय बनेका हुन्।

२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएकामध्ये १३ कार्यालय पुनर्निर्माण गरिएको हो। बाँकी  आठवटा भवन भने नयाँ बनेका हुन्। भूकम्पले भत्काएकामध्ये जिल्ला अस्पताल र जिल्ला हुलाक कार्यालय मात्र पुनर्निर्माण हुन बाँकी छ। हुलाक पुनर्निर्माण भइरहेको छ भने चीन सरकारले जिल्ला अस्पताल पुनर्निर्माण गर्ने प्रक्रिया थालेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रमुख इन्जिनियर सन्तोष निरौलाले भूकम्पले क्षतिग्रस्त सदरमुकामका सरकारी कार्यालय पुनर्निर्माण अन्तिम चरणमा पुगेको बताए। यो वर्ष मात्र व्यारेक, आवाससहित १६ कार्यालयको पुनर्निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको उनले जानकारी दिए। उनका अनुसार कार्यान्वयन इकाई (भवन) मार्फत पुनर्निर्माण थालिएका १७ मध्ये १६ संरचना सम्पन्न भइसकेका छन्।

‘झण्डै ५५ करोड रुपैयाँ लागतमा ती सरकारी संरचना बनेका हुन्,’ निरौलाले नागरिकसँग भने। तीन करोड रुपैयाँ लागतमा जिल्ला हुलाक भने निर्माणाधीन छ। क्षतिग्रस्त संरचना भत्काउनु परेकाले हुलाक भवन पुनर्निर्माणमा ढिलाइ भएको उनले जानकारी दिए। इकाई (भवन) का अनुसार वन डिभिजन कार्यालय, वन आवास, भू–जलाधार, पशु सेवा, कोष तथा लेखा नियन्त्रक, प्रमुख जिल्ला अधिकारी निवास, मालपोत, जिल्ला न्यायाधीश आवास भवन पुनर्निर्माण सम्पन्न भएका हुन्। भूकम्पमा यी कार्यालयका भवन क्षतिग्रस्त भएका थिए।

सहरी विकास, सिँचाइ, निर्वाचन, घरेलु तथा साना उद्योग, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, न्यायिक व्यारेक लगायत कार्यालयको नयाँ भवन बनेका हुन्। साविक पशु सेवा खारेज भएपछि नवर्निर्मित भवनमा भौतिक पूर्वाधार विकास कार्यालय बसेको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालयको दुईवटा व्यारेक पनि पुनर्निर्माण सम्पन्न भइसकेको छ।

यसअघि नै सहरी विकासमार्फत भूकम्पले क्षति पुर्‍याएका स्वास्थ्य र खानेपानी डिभिजन कार्यालय पुनर्निर्माण भइसकेका छन्। भूकम्पले नै क्षतिग्रस्त बनाएकोे तत्कालीन जिल्ला कृषि कार्यालय भने जाइकाको सहयोगमा पुनर्निर्माण भएको थियो। भूकम्पले क्षति पुर्‍याएका तत्कालीन जिविस र जिल्ला सरकारी वकिलको कार्यालयसमेत नयाँ बनेका छन्। तर यी कार्यालयको भने भूकम्पअघि नै पुनर्निर्माण सुरु गरिएको थियो।


    
    

प्रकाशित: ११ फाल्गुन २०७६ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App