८ वैशाख २०८१ शनिबार
अर्थ

लगानी अभावमा सात वर्षदेखि अलपत्र फलफुल प्रशोधन उद्योग

करिब सात बर्ष अगाडिबाट निर्माणाधिन रहेको सिन्धुलीगढी फलफुल प्रशोधन उद्योगको भवन। तस्विरः अनिल भण्डारी/नागरिक

सिन्धुली - सिन्धुलीमा निर्माणाधिन रहेको फलफुल प्रशोधन उद्योग अलपत्र परेको छ। करिब सात वर्ष अगाडिबाट निर्माण सुरु भएको फलफुल प्रशोधन उद्योग लगानीको अभावमा अलपत्र परेको हो। यहाँको कमलामाई नगरपालिका–४ मा निर्माणाधिन फलफुल प्रशोधन उद्योग दाताले हात झिकेपछि अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन्।

नेपाल सरकारको थ्रिपिपि मोडेल अन्तर्गत सरकार, उद्योगी र किसानको समेत लगानी गरेर कुल ६ करोड रुपैयाको लागतमा सिन्धुलीगढी जुनार तथा फलफुल प्रशोधन कम्पनीले सात वर्षअघि उक्त उद्योगको निर्माण सुरु गरेको थियो। उद्योग बाणिज्य महासंघमार्फत आउने सरकारी अनुदान रोकिदा उक्त उद्योग अधुरो रही अलपत्र अवस्थामा रहेको सञ्चालक समितिका सदस्य दिपक कोइरालाले बताए।

उनका अनुसार उक्त उद्योग निर्माणका क्रममा अहिलेसम्म सरकारको करिब दुई करोड अनुदान र किसानको लगानी समेत गरेर चार करोड रुपैयाभन्दा बढी खर्च भई सकेको छ। भौतिक संरचना निर्माण कार्य पुरा भई सकेको छ, उनले भने  हाल उद्योगमा भवन र ग्रेडिङ मेसिन मात्रै रहेको छ।

जुस उत्पादन गर्ने मेसिनहरु पुरा भएको छैन। उद्योग बाणिज्य महासंघको एक गाँउ, एक उत्पादन परियोजना अन्तर्गत उक्त फलफुल प्रशोधन उद्योग निर्माण सुरु गरिएको भएको थियो। उद्योग बाणिज्य महासंघको नेतृत्व परिवर्तनसँगै लगानीमा हात झिकेपछि सरकारले दिने बाँकी करिब दुई करोड रुपैया रोकिएकाले उद्योग अलपत्र भएको सञ्चालक बताउँछन्। उद्योगले निर्माण पुरा गरी परीक्षणका रुपमा जुनारको जुस पनि तीन बर्षअघि नै उत्पादन गरेको भएपनि हाल सञ्चालनमा आउन नसकेको उद्योग बाणिज्य संघ सिन्धुलीका अधिकृत रामुकमार राजभण्डारीले जानकारी दिए। उद्योग सञ्चालनमा आउन नसक्नुको कारण भने आफुलाई पनि थाहा नभएको उनले बताए।

पाच कठ्ठा क्षेत्रफलमा निर्माण भएको उद्योगको कुल लागत छ करोड रुपैया रहने पारम्भिक अनुमान थियो। नेपालमै जुनार उत्पादनमा प्रशिद्ध सिन्धुली जिल्लामा उक्त उद्योग स्थापना भएपछि आफुहरुले जुनार खेतीबाट राम्रो आम्दानी लिन सफल हुने जुनार किसानको अपेक्षा थियो। तर उद्योग अलपत्र परेसँगै किसानको अपेक्षा समेत बषौदेखि अलपत्र परेको छ। जिल्लामा एक हजार पाँचसय ३५ हेक्टर भन्दा बढि जमिनमा जुनार खेती भएको छ।

मुख्य गरी जुनार, भुईकटहर र आँपलाई प्रशोधन गरि गुणस्तरिय फलफुल बजारमा पु¥याउने उद्देश्यले उक्त उद्योग निर्माण सुरु भएको थियो। उक्त फलफुल प्रशोधन उद्योगमा उद्योग वाणिज्य महासङघका पूर्व अध्यक्ष सुरज बैद्य समेतको लगानी रहेको सञ्चालक समितिले जनाएको छ। समितिका शेयरधनी सदस्य  कृष्णप्रसाद गौतम भौतिक संरचना निर्माणको सबै काम सकिएर मेसिन ल्याउन नसकि उद्योग सञ्चालनमा नआउदा लगानी गर्ने किसान निरास बनेका बताउछन्। मेसीन ल्याउन एक करोड २५ लाख रुपैया चाहिन्छ, त्यो छैन,’ उनले भने फलफुललाई प्रशोधन गरेर प्याकिङ गरि अन्तर्राष्ट्रिय गुणस्तरको जुनार, भुँई कटहर र आँपलाई बजारमा पु-याउने मुख्य उद्देश्य रहेको हो, तर अब थप लगानी गर्न सक्ने अवस्था सञ्चालक समितिमा देखिएन।  जुनार किसानको समेत लगानी र शेयर रहेको उक्त फलफुल उद्योग सञ्चालनमा आउन नसकेपछि किसान चिन्तित बनेका छन्।

जिल्लामा पहिलो पटक खुल्न लागेको उद्योगनै अलपत्र बनेपछि थप उद्योग खोल्न कुनै लगानी कर्ता आउन नसकेको  किसान बताउछन्। निर्माणधिन उद्योग सञ्चालनमा आउन नसकेपछि फलफुल प्रशोधन उद्योगका नाममा अरु उद्योग कुनै दाताबाट खुल्ने संम्भावना नरहेको स्थानीय बताउछन्।

प्रकाशित: ११ फाल्गुन २०७६ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App