coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिलिगुढी पुगेर पाहुना बोलाउँदै पोखरा

भारतको सिलिगुढीमा हुने बंगाल ट्राभल मार्टमा सहभागी पोखराका पर्यटन व्यवसायी। तस्बिर : नागरिक

पोखरा - पोखराले बढी पर्यटक भित्रिने उत्तर पूर्वी भारतीय सहरबाट थप पाहुना भित्र्याउने उद्देश्य लिएर त्यस क्षेत्रमा प्रबर्द्धनात्मक गतिविधि सुरु गरेको छ। उत्तर पूर्वी भारतीय सहरमा प्रबर्द्धनात्मक गतिविधि सञ्चालन गर्दा आगामी दिनमा थप पर्यटक भित्रिने व्यवसायीको अपेक्षा छ। पोखरामा उत्तर पूर्वी भारतीय सहरका पर्यटक बोलाउँदै व्यवसायी अहिले भारतको सिलिगुढी पुगेका छन्।

पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)को अगुवाइमा पोखरेली व्यवसायीले प्रबर्द्धनात्मक गतिविधि सुरु गरेका हुन्। परिषद्ले भारतीय पर्यटक भित्र्याउनका लागि नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा भारतका उत्तर पूर्वी क्षेत्रमा पर्ने सिलिगुढी, सिक्किम, गान्तोक, दार्जिजिङका पर्यटकलाई पोखरा भित्र्याउन चाहेको परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। परिषद्ले त्यस क्षेत्रमा गरेको यो पाँचौ प्रवद्र्धनात्मक अभियान हो। उत्तरपूर्वी भारतीय सहरबाट नेपाल भित्रिने पर्यटकको यकिन तथ्यांक नभएपनि हरेक वर्ष आगमन बढिरहेको व्यवसायीको भनाइ छ।

चीनमा फैलिएको कोरोना भाइरसका कारण पर्यटक आगमन सुन्यजस्तै भएर पर्यटन व्यवसाय खस्केको बेला विकल्पमा नयाँ गन्तव्य पहिचान गर्दै पुरानो बजारलाई स्थापित गर्न चाहेको पोखरेलले बताए। ‘यो बेला चिनियाँ पर्यटक नआउँदा पर्यटन क्षेत्र अस्तव्यस्त छ। यस्तै अवस्था रहे खर्च धान्न समेत मुस्किल हुनेछ,’ उनले भने, ‘अब केही समय चिनियाँ पर्यटक आउने सम्भावना छैन। त्यसैले नयाँ गन्तव्य पहिचान गर्दै पुरानो बजारलाई स्थापित गर्न जरुरी छ। त्यही लक्ष्यका साथ हामी प्रबर्द्धनमा लागेका हौं।’

उत्तर पूर्वी भारतीय सहरमा प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्दा आगामी दिनमा थप पर्यटक भित्रिने व्यवसायीको अपेक्षा छ।

परिषद् र सिलिगुढीको इस्टर्न हिमालय ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएसनबीच पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा पाँच वर्षअघि द्विपक्षीय सम्झौता भएबमोजिम हरेक वर्ष भारतको सिलगुढी सहरमा हुने बंगाल ट्राभल मार्टमा पोखराले सहभागिता जनाउँदै प्रबर्द्धनात्मक गतिविधि चलाउँदै आएको छ। ‘यसअघिका चारपटकका अभियानभन्दा यो पटकको प्रबर्द्धन हाम्रा लागि अझै महत्वपूर्ण छ। किनकि यो बेला चिनियाँ पर्यटक आएनन्,’ पोखरेलले भने, ‘चिनियाँमात्र नभई अरु मुलुकका पर्यटक पनि नेपाल आएनन्। हामी पर्यटन व्यवसायीका लागि यो बेला सबैभन्दा सहज भारतीय सहरमा प्रबर्द्धन गर्न सजिलो छ। अहिलेको प्रवद्र्धनात्मक गतिविधिले अझ बढी भारतीय पर्यटक पोखरा भित्र्याउने अपेक्षा छ।’

सिलिगुढीको बंगाल टुरिजम मार्ट शनिबारदेखि सुरु भएर तीन दिनसम्म चल्नेछ। त्यही मार्टमा पोखरा नाइट कार्यक्रम पनि सञ्चालन गरेको परिषद्ले जनाएको छ। पोखरा नाइटमा पोखरा क्षेत्रका सांस्कृतिक र प्राकृतिक भिडियो प्रसारण गरिएको पोखरेलले बताए। त्यसबाहेक योपटक परिषद्ले भारतकै कोलकातामा पनि प्रवद्र्धनात्मक कार्यक्रम गर्ने पोखरेलले बताए। परिषद्ले पहिलोपटक कोलाकातामा प्रबर्द्धनात्मक कार्यक्रम गर्न थालेको उनले बताए। ‘अहिलेको अप्ठेरोमा हामीलाई नयाँ बजारको खाँचो छ। त्यही भएर हामी योपटक कोलकाता सहरसम्म पहिलोपटक प्रवद्र्धनात्मक कार्यक्रम गर्दैछौं,’ पोखरेलले भने, ‘यसअघि प्रवद्र्धनात्मक गतिविधि हुँदै आएका भन्दा नयाँ सहरमा कार्यक्रम लिएर जान बाध्य पनि छौं। किनकि नयाँ गन्तव्यबाट यो पटक बढी पाहुना भित्र्याउन प्रयास गर्नेछौं।’

प्रबर्द्धनात्मक कार्यक्रममार्फत पर्यटन व्यवसायीले अहिलेसम्म नेपालमा कोरोना भाइरसको त्रास नरहेको र घुमघामका लागि सुरक्षित रहेको सन्देश फैलाउन जरुरी रहेको पनि अध्यक्ष पोखरेलले बताए। ‘अन्यत्रभन्दा सुरक्षित गन्तव्यका रुपमा नेपाल रहेको भनेर भारतीय पर्यटनमा सन्देश दिन जरुरी छ,’ उनले भने, ‘त्यही रुपमा हामीले प्रबर्द्धनात्मक कार्यक्रम गर्दैछौं ।’ प्रबर्द्धन अभियानमा सहभागी टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भूजेलले यसअघिका प्रबर्द्धनबाट पोखराले प्रतिफल पाएकाले पनि यो पटक निरन्तरता दिन जरुरी रहेको बताए। ‘बंगाल ट्राभल मार्टमा सहभागी हुँदाको सकारात्मक प्रभाव पर्यटनमा देखिएको उनले बताए। ‘भारतको उत्तर पूर्वी सहरबाट पोखरा आउने पर्यटक हरेक वर्ष थपिएका छन्,’ भूजेलले भने, ‘यो पटक त झनै प्रवद्र्धन जरुरी छ। चिनियाँ पर्यटक नआएर सुनसान बनेको पर्यटन क्षेत्रमा चमक ल्याउन पनि यो क्षेत्रमा प्रवद्र्धन गर्न थालेका हौं ।’ पोखराले भारतको उत्तरपूर्वी सहरबाट धार्मिकसहितका धेरै पर्यटक पोखरा भित्र्याउने गरेको भुजेलले बताए।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)का निवर्तमान अध्यक्ष सन्तोष पोखरेलले सिलिगुढी, दार्जिलिङ, कोलकाताबाट आउने पर्यटकलाई पोखरा बोलाउनका लागि यो मार्ट निकै नै प्रभावकारी रहेको बताए। ‘उत्तर पूर्वी भेगका भारतीय पर्यटक अलि बढी खर्चिला हुन्छन्। नेपालीभाषी र नेपालसँग निकट रहेकाले पनि ती पर्यटक नेपाल घुम्न रुचाउँछन्,’ उनले भने, ‘नेपालीको आतिथ्यताले पनि ती क्षेत्रका भारतीय पर्यटक तानिने गरेकोले आगामी दिनमा थप पाहुना भित्र्याउन यस्ता गतिविधि जरुरी छन्।’ मार्टमा सहभागी पोखरेलका अनुसार नेपाल भित्रिने भारतीय पर्यटकमध्ये सबैभन्दा धेरै सुनौली नाकाबाट भित्रिन्छन्। त्यसपछि बढी पाहुना भित्रिने नाका काकडभिट्टा रहेको उनले बताए। ‘भद्रपुरबाट पोखरासम्म सिधा हवाई उडान हुने हो भने उत्तरपूर्वी भारतीय सहरका अझ बढी पर्यटक पोखरा भित्रिन्छन्,’ उनले भने। अहिले बिराटनगरबाट पोखरासम्म सिधा उडान भएपनि भद्रपुरलाई जोड्न सके यसले पोखरामा आगमन बढ्ने उनले बताए।

प्रकाशित: ११ फाल्गुन २०७६ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App