coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डिब्बा छुटेर इन्जिन कुदेजस्तो विकास : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला आयोजना तथा विकास निर्माणको काममा भएको सुष्तताप्रति असन्तुष्टि जनाउँदै सबै मन्त्री र सचिवलाई लक्ष्यअनुसारको प्रतिफल हासिल गर्न निर्देशन दिएका छन्।

राष्ट्रिय विकास समाधान समितिको सोमबार बसेको ३८औं बैठकमा प्रधानमन्त्री दाहालले विकास निर्माणका काममा निरीक्षण र अनुगमन नहुँदा समस्या आइरहेको भन्दै सबै मन्त्रालयका मन्त्री र सचिवले राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला आयोजनाको नियमित अनुगमन र निरीक्षण गर्न निर्देशन दिएका हुन्।

बैठकमा प्रधानमन्त्री दाहालले जनचाहनाअनुसार विकासको काम अगाडि बढाउने विषयमा आफूमात्र एक्लै दौडेजस्तो भएको भन्दै सबै मन्त्रालयबाट भएका कामको आलोचना गरेका छन्। उनले विकास निर्माणका लागि प्रधानमन्त्री एक्लै दौडिँदा रेलको इन्जिन मात्र कुदेजस्तो डिब्बा छुटेजस्तो भएको भन्दै सबैले आआफ्नो क्षेत्रबाट गम्भीर भएर काम गर्न निर्देशन दिएका छन्। …यस बीचमा प्रधानमन्त्री एक्लै दौडेजस्तो भएको छ। इन्जिनमात्र कुदेजस्तो, डिब्बा छुटेजस्तो। यो राम्रो भएन', बैठकमा प्रधानमन्त्री दाहालले भने, …त्यसैले म गम्भीरतापूर्वक निर्देशित गर्छु, सबैले आफ्ना मातहतका आयोजना अनुगमन गरौं, निरीक्षण गरौं र विकासका काममा लक्षित प्रतिफल हासिल गरौं।' बैठकमा प्रधानमन्त्री दाहालले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो गर्नेलाई दण्डित गर्ने काम पनि अगाडि बढाउन निर्देशन दिएका छन्।

आर्थिक वर्षको आधा समय बितिसक्दा पनि पुँजीगत खर्च नबढेकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पुँजीगत खर्चको सामर्थ्य बढाएर कम्तीमा ८० प्रतिशतसम्म बढाउन पनि निर्देशन दिएका छन्। …पुँजीगत खर्चको स्तर सन्तोषजनक छैन। त्यसैले पुँजीगत खर्चको सामर्थ्य बढाऔं', मन्त्री तथा सचिवलाई निर्देशन दिँदै उनले भने, …कम्तीमा ८० प्रतिशतसम्म बढाऔं। त्यसका लागि मेहनतपूर्वक काम गरौं। बरु, विकासशीलबाट विकसित देशमा फड्को मारेका देशको अध्ययन गरौं, सिकौं र हाम्रो प्रशासनिक तथा आर्थिक स्तर उकास्न कोसिस गरौं।'

बैठकमा मन्त्रीहरु दलजित श्रीपाइली, जयदेव जोशी, हितराज पाण्डे, जीवनबहादुर शाही, प्रकाशशरण महत, हृदयराम थामी, धनीराम पौडेल, गौरीशंकर चौधरी, सीतादेवी यादव, मुख्य सचिव डा. सोमलाल सुवेदी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलगायत सहभागी थिए।

प्रकाशित: १९ पुस २०७३ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App