१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दरबार स्कुल भवन हस्तान्तरणमा ढिलाइ

काठमाडौं – चीनमा फैलिएको कोरोनाभाइरसका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ। स्कुल पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली अनुगमन गर्न आउन ढिलाइ हुँदा हस्तान्तरणमा विलम्ब भएको हो। चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण अनुगमन टोली आउन समस्या भएको छ। माघ पहिलो साता नै भवन पुनःनिर्माण सम्पन्न भएको थियो। कोरोना भाइरस संक्रमण रोकिएपछि मात्र चिनियाँ सरकारी टोली आउने र त्यसपछि मात्र भवन हस्तान्तरण हुने बताइएको छ।

निर्माण कम्पनीका पदाधिकारीले एकपटक अनुगमन गर्नुपर्ने तर उनीहरू कहिले आउने भन्ने यकिन नभएकाले हस्तान्तरणको विषय अन्योलमा परेको हो। अनुगमन टोली माघ तेस्रो साता आउने कार्यतालिका रहे पनि कोरोनाभाइरस प्रकोपका कारण आउन सकेन। २०७२ सालको भूकम्पपछि सुुरु गरिएको पुनःनिर्माण काम सकेर आँगन सफा गर्ने र झ्यालढोका पुछ्ने काम गरी थप चिटिक्क बनाउने कार्य पनि सकिइसकेको छ।

चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवन हस्तान्तरणका लागि चिनियाँ टोली आउनुपर्छ तर कोरोना भाइरसले गर्दा टोली आउन सकेको छैन।

®भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी बनाइएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले पाएको थियो। सुरुको समयदेखि १९ महिनामा सक्ने गरी चीन र नेपालका गरी दैनिक सय कामदारले काम गरी सम्पन्न गरेका हुन्। ८५ करोड रुपैयाँ लागतमा नौ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षा कोठाको छ।

उक्त भवनको नमुना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ ले गरेको हो। निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण सुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताए। ‘कोरोना भाइरस प्रकोप निर्मूल भएपछि सरकारलाई हस्तान्तरण हुन्छ’, उनले भने।

२०७२ सालमा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको उक्त स्कुलको पुनःनिर्माण शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो। १९१० सालमा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले यो विद्यालय स्थापना गरेका थिए। १९६४ सालमा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था गरिएको थियो। २०३० सालमा राष्ट्रिय शिक्षा पद्धति ऐन लागु भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको थियो।

सुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकोमा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको छ। दरबार हाईस्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ। विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या भने कम छ। पुरानो विद्यालय भए पनि पछिल्लो समयमा विद्यार्थी घटेको विद्यालयले स्विकारेको छ। पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेको संस्कृत माविका प्राध्यापक बद्री दाहाल बताउँछन्।

®भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालित थिए। हाल ती दुवै विद्यालयमा गरी तीन सय मात्र विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन्। ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ। काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच नक्सा पासका विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम सुरु भएको थियोे।

®पछिल्लो समय सरकारले स्थानीय तहलाई जिम्मा दिने गरी दरबन्दी मिलान, विद्यार्थी र शिक्षक संख्याका आधारमा एकापसमा विद्यालय गाभ्ने विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको छ। शिक्षक संख्याका आधारमा विद्यार्थी अनुपात सो विद्यालयमा पनि कम छ। एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र सहरमा ५५ विद्यार्थी रहनुपर्ने कानुनी मान्यता छ।

चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक÷एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो। भूकम्पका कारण सात हजार पाँच विद्यालयमा क्षति पुगेको थियो।

प्रकाशित: ११ फाल्गुन २०७६ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App