१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपामा सरकार नजाने लाइन हाबी

काठमाडौ - राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सँग नजिकिएको राष्ट्रिय जनता पार्टी नेपालभित्र सरकारमा जान नहुने भन्ने लाइन हाबी हुँदै गएको छ। पार्टीभित्र समाजवादीसँगको एकीकरणलाई प्राथमिकता दिने कि केपी ओली नेतृत्वको सरकारमा जाने भन्ने विषयमा दुई धार छ। तर केही दिनयता समाजवादीसँगको एकीकरणलाई प्राथमिकता दिनुपर्छ भन्ने धार बलियो हुँदै गएको छ। यद्यपि सरकारमा जाने लाइन बोकेका नेताहरू अहिले पनि आफ्नो माग सम्बोधन भए सरकारमा जान सकिने अभिव्यक्ति दिएका छन्।

राजपाका अध्यक्षमण्डलका संयोजक महेन्द्र यादव र नेता महन्थ ठाकुर पहिलेदेखि नै सरकारमा जाने विषयलाई प्राथमिकता नदिई समाजवादीसँगको एकीकरणलाई महत्व दिनुपर्छ भन्ने अडानमा थिए। तर राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव भने सरकारमा जाने लाइनमा लचिलो थिए। यसैबीच राजपा अध्यक्षमण्डलका ६ मध्ये ४ अध्यक्ष महतो, महेन्द्र भण्डारी र राजकिशोर विभिन्न बाहनामा भारत भ्रमणमा गए। त्यहाँ केही भारतीय नेताहरूसँग भेटघाट पनि गरे। भारत भ्रमण गएका सबै नेताहरू स्वदेश फर्किसकेका छन्। ‘अहिले सरकारमा नजाने लाइन हाबी हुँदै गएको छ,’ राजपाका एक पदाधिकारीले भने।

यता, सरकारमा नजान पार्टी नेतृत्वमाथि विभिन्न तहबाट दबाब पनि बढ्दै गएको छ। पार्टीका दोस्रो तहका नेताहरूले विभिन्न माध्यमबाट सरकारमा नजान पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन्। केही दिनअघि वरिष्ठ उपाध्यक्ष बिर्खेशचन्द्र लाललगायतका ७ जना पदाधिकारीले अध्यक्षमण्डलका संयोजकलाई ध्यानाकर्षण चिठी लेखी यही स्थितिमा सरकारमा नजान दबाब दिएका थिए। त्यो मात्रै नभई राजपाका केही जिल्ला अध्यक्षहरूले संयुक्त विज्ञप्ति निकाली सरकारमा नजान पार्टी नेतृत्वलाई सुझाए। भारत भ्रमणपछि जिल्ला गएका नेताहरूलाई त्यहाँका कार्यकर्ताले पनि यथास्थितिमा सरकारमा नजान सुझाव दिए। ‘यही स्थितिमा हामी सरकारमा जान्नाै। हाम्रो माग सम्बोधन नभएसम्म हामी सरकारमा जाने विषया सोच्न पनि सक्दैनांै, राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘हामीले सरकारसँग प्रष्ट कुरा राखेका छौं। हाम्रो माग पूरा भएपछि मात्र यो विषयमा सोच्न सक्छौं।’

तर राजपाका दोस्रो तहका नेता पार्टीका वरिष्ठ उपाध्यक्ष बिर्खेशचन्द्र लालले यसअघि पार्टीभित्र केही व्यक्ति सरकारमा जान आतुर भएको बताउँदै त्यस्तो आतुर नेतामाथि कार्यकर्ता तहबाट ठूलो दबाब सिर्जना भएको बताए। ‘सरकारमा जाने पार्टीको संस्थागत निर्णय थिएन। केही व्यक्तिको त्यस्तो चाहना थियो होला,’ उनले भने।

राजपाभित्र सरकारमा नजाने लाइन हाबी हुँदै गएपछि राजपाका नेताहरू समाजवादीसँग नजिकिन थालेका छन्। राष्ट्रिय सभा निर्वाचनमा राजपा नेकपासँग नजिक र समाजवादीसँग टाढिएको थियो तर चुनावपछि फेरि नजिकिन थालेका छन्। स्रोतका अनुसार पछिल्लोसमय अध्यक्षमण्डलका संयोजक यादवले समाजवादीका कार्यकारी समितिका अध्यक्ष उपेन्द्र यादवसँग दुई÷तीन चरण अनौपचारिक कुराकानी गरेका छन्। आगामी चैत ६ सम्म राजपाको नेतृत्व उनले सम्हाल्ने छन्। पुस ८ देखि सरकारबाट बाहिरिएको समाजवादी राजपासँग एकीकरण गर्न आतुर भएको छ। समाजवादीका नेताहरू अहिले संगठन विस्तार अभियानमा सक्रिय भएका छन्।

राजपाका नेता महतोले समाजवादीसँग अनौपचारिक कुराकानी भएको बताए। केही दिनमै औचपारिक कुराकानी हुने उनको भनाइ छ। यता नेकपाले राजपासँग उपसभामुख पद लिए प्रदेश दुई सरकार फेर्नुपर्ने सर्त राखेको छ। ‘नेकपाको सर्तमा राजपाका नेताहरू पहिले केही लचिलो देखिए पनि हाल उक्त लाइनमा सहमत भएको देखिन्न,’ राजपाका अर्का एक पदाधिकारीले भने, ‘राजपा तत्काल प्रदेश २ सरकारको समीकरण फेर्ने पक्षमा छैन।’

उपसभामुखको विषयमा नेकपा र राजपाबीच सहमति हुन नसकेपछि उपसभामुखको निर्वाचनको मिति तय भएको छैन। भण्डारीले संविधानअनुसार नै उपसभामुख राजपाले पाउनुपर्छ भन्ने राजपाको माग रहेको बताए। उनले भने, ‘संविधानअनुसार नै उपसभामुख हामीले पाउनुपर्छ भन्ने हाम्रो माग हो। यसमा अरु विषय जोडिन्न।’ तर यस विषयमा पार्टीभित्र अहिलेसम्म औपचारिक छलफल भएको छैन। अब बस्ने बैठकमा यस विषयमा गम्भीर छलफल हुने पार्टीका नेताहरू बताउँछन्। तर अध्यक्षमण्डलको संयोजकमा महेन्द्र चुनिएदेखि अहिलेसम्म राजपाको अध्यक्ष मण्डलको बैठक एकपटक पनि बस्न सकेको छैन।

प्रकाशित: ११ फाल्गुन २०७६ ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App